राष्ट्र, राज्य र राष्ट्रवाद

राष्ट्र सर्वोपरि निष्ठा हो । जनताको सामूहिक अनुभूति हो । यस अनुभूतिको मूलाधार मातृभूमि र आपसी प्रेम, सद्भाव, सहिष्णुता र परस्पर सहयोगको भावना एवं धर्म तथा संस्कृति हो । यस सहज अनुभूतिको अभिव्यक्ति नै राष्ट्रवाद हो । राष्ट्रियता एक संवेदनशील निजी र सामूहिक भावना हो । जसले निश्चित भूभागमा रहेका विभिन्न समुदायको मुलुकप्रति एकीकृत सद्भावना र गौरव व्यक्त गर्छ । राष्ट्रवाद र राष्ट्रियता भएकाले हाम्रो जस्तो विविधताले भरिएको मुलुकमा राष्ट्रवादको परिभाषा पनि सोहीअनुरूपको हुनु आवश्यक छ । अतीत र वर्तमानको वास्तविकता तथा भविष्यको आकांक्षाका लागि सर्वनिष्ठ सरकार, सदस्यहरूमा परस्पर सम्पर्क, साझा स्वार्थ राष्ट्रको छविका ’boutमा सदस्यहरूको मनमा समवेत भाव नै राष्ट्रवाद हो । घृणा, द्वेष, पूर्वाग्रह एवं प्रतिशोधमा आधारित नकारात्मक भाव कमजोर राष्ट्रवादको परिचायक हो ।

राष्ट्रियता बलियो हुन राष्ट्र बलियो हुनु आवश्यक छ । राष्ट्र बलियो हुन राज्य पनि बलियो हुनुपर्छ भन्ने तर्क अब अप्रासंगिक भएको छ । २१औं शताब्दीमा मात्रै होइन, त्यसभन्दा निकै अघिदेखि नै राष्ट्रको परिभाषामा परिवर्तन आइसकेको छ ।

स्व. बीपी कोइरालाले भनेका थिए, ‘राष्ट्र भनेको कुनै भूगोलको ढुंगा, माटो, खोलानाला र साँध–सिमाना मात्रै होइन, त्यहाँ बस्ने जनताको सभ्यता, संस्कृति र मनोभाव पनि हो । नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको परिभाषा राजनीतिक विज्ञानसम्मत नहुन्जेलसम्म यसको मनोगत विश्लेषण तथा राजनीतिक दलहरूले आप्mनो पार्टी कार्यालयबाट राष्ट्रवादी र राष्ट्रघातीको प्रमाणपत्र बाँड्ने काम भइ नै रहनेछ । राष्ट्रवाद र राष्ट्रभक्तिमा भिन्नता छ । भक्ति आस्तिक भावना हो । राष्ट्रभक्ति आस्तिक भावना हो । जबकि ‘वाद’ वैचारिक निष्ठा हो । राष्ट्र सर्वोपरीको निष्ठा नै राष्ट्रभक्ति हो । डा. राममनोहर लोहियाले सगुण–निर्गुणको विश्लेषण गरेका थिए । आप्mनो मुलुकलाई आमाका रूपमा हेर्नु सगुण हो, जबकि आप्mनो मुलुकलाई निराकार अनुभूति गर्नु निर्गुण हो । दुवैको केन्द्र निष्ठा हो ।

सकारात्मक राष्ट्रियता सहयोग र समझदारीमा आधारित हुने भएकाले यसमा अतिरञ्जना कम हुने गर्छ । यसमा आपसी विश्वासको सम्भावना बढी रहन्छ । सकारात्मक राष्ट्रियताको प्रवद्र्धनका लागि राष्ट्र बलियो हुने आधार खोजिनु आवश्यक छ । त्यो भनेको मुलुकको चौतर्फी विकास हो, जुन समावेशी हुन्छ । यसमा आर्थिक पूर्वाधारका सबै पक्ष मानवीय विकास जसअन्तर्गत गुणात्मक शिक्षामा सबै वर्ग र जातिको समान पहुँच, आधारभूत आवश्यकता, गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा समाहित हुन्छ । यस्ता आवश्यकताको न्यायपूर्ण वितरण र उपभोगका लागि राज्यका विभिन्न संरचनामा त्यहीनुसारको समानुपातिक प्रतिनिधित्व गराइनुपर्छ । यदि, जनता नै राष्ट्र हो भने लोकतन्त्रको सन्दर्भ पनि जनतासँगै जोडिनुपर्छ । नकारात्मक राष्ट्रियताले अरूप्रति घृणा र द्वेषको भावना जगाउँदा सधैं लघुताभाषले ग्रसित भएको पाइन्छ । हामीले हाम्रा छिमेकीप्रति व्यक्त विचार, पूर्वाग्रह र अतिरञ्जना यसका लक्षण हुन् । नकारात्मक राष्ट्रियताले अरूको सबै कुरामा अनिष्ट मात्रै हेर्ने मानसिकता विकसित गर्छ र अन्ततः आप्mनै हानि हुने गर्छ ।

राज्यका लागि सार्वभौमसत्ता आवश्यक छ, तर राष्ट्र मनोभावना हो । यस्तो भावना धर्म, भाषा, भौगोलिक एवं सांस्कृतिक एकताद्वारा विकसित हुन्छ । राज्य बन्नका लागि सरकार आवश्यक छ, तर राष्ट्र भनेको सरकार र राज्यभन्दा माथिको विषय हो । राष्ट्रियताको अवधारणामा निर्जीव वस्तुहरूको महत्व ठान्नेहरू तानाशाह प्रवृत्तिका हुन्छन् । मानिसको विकाससँगै सजीव तथा मानवीय पक्षहरूलाई राष्ट्रियताको बलियो आधार मान्ने अवधारणा निकै अघि नै विकसित भइसकेको हो । विविधतालाई राष्ट्रिय एकतामा रूपान्तरण गर्न सकिएमा मात्रै राष्ट्रनिर्माण कार्यले मूर्त रूप लिन सक्छ ।

राष्ट्रवादको नारा दिने नेता अथवा शासकले सधैं आफ्नो शत्रु राष्ट्र अथवा मित्रराष्ट्रको कित्ताबन्दी गरिरहेका हुन्छन्

नेपालको संविधान, २०७२ मा जसरी राष्ट्रको परिभाषा गरिएको छ, त्यहीनुसार नै यदि राज्यको निर्माण हुन्छ भने नेपाली राष्ट्रियता पनि बलियो र विश्वकै लागि उदाहरणीय बन्ने निश्चित छ । अहिलेसम्म हामीले राष्ट्रवादलाई व्यक्तिगत, समूहगत वा दलगत लाभका आधारमा प्रयोग गरेका छौं, तर यसलाई बलियो बनाउने काम गरेनौं । माओवादीहरूको एक दशकको सशस्त्र संघर्षले राष्ट्रवादको परिभाषामा केही परिवर्तन ल्याएको छ । र, साबित गर्ने प्रयास गरेको छ कि नेपालमा जातीय राष्ट्रवाद अर्थात् सामुदायिक राष्ट्रवादका लागि नेपाली जनता संघर्ष गर्न तयार छन् । जातीय राष्ट्रवाद आप्mनो पहिचान भाषा, संस्कृति, भौगोलिक एवं ऐतिहासिक विशिष्टतामा तथा समान मनोविज्ञानका कारण राष्ट्र तथा परम्परा एवं परिस्थितिजन्य भावनात्मक रूपबाट बाँधिएको हुन्छ ।

माक्र्स र एन्जेलले ‘कामदारहरूको कुनै देश हँुदैन, हामी तिनीहरूबाट त्यो कुरा लिन सक्दैनौं, जुन कुरा उनीहरूले प्राप्त नै गरेका छैनन्’ भनी बताएका छन् । उनीहरूले सर्वहारा वर्गलाई राष्ट्रका रूपमा उभ्याउन अपिल गरेका थिए । लेनिनले पनि यसैसित मिल्दोजुल्दो रूपमा राष्ट्रको परिभाषा गरेका छन् । नेपालमा पञ्चायती शासनदेखि लिएर आजसम्म व्यक्तिगत, समूहगत वा दलगत लाभका आधारमा राष्ट्रवादको नारालाई परिभाषित गर्ने काम हँुदै आएको छ ।

सनातन धर्ममा विश्वास राख्नेहरूको ‘राष्ट्रवाद’ व्यापक, सहिष्णु र उदार भएको पाइन्छ । हाम्रा धर्मशास्त्रहरूमा वर्णित गाथा यसका उदाहरण हुन् । सनातन धर्ममा विश्वास राख्नेहरूको राष्ट्रवाद र युरोपेली राष्ट्रवादमा फरक रहेको पाइन्छ ।

युरोपका मुलुकहरू आधुनिक कालमा ‘नेशन’ कहलिन थाले । भारत वर्षमा मध्यमकालभन्दा पनि निकै अघि इशापूर्व २९८ देखि ३२१ चन्द्रगुप्त मौर्यको समयमा एउटा विशाल केन्द्रीय सत्तामा राष्ट्रको चर्चा छ । सम्राट अशोकको शासनकालमा राष्ट्र अझ विस्तृत हुन गयो । युरोपेली राष्ट्रवादको उदय नवौं–दशौं शताब्दीमा भएको थियो । इंग्ल्यान्ड एकीकरणको प्रक्रिया किङ एडवर्ड (८०२–८३९) देखि किङ अल्पे्रmड (८७१–९१६)सम्म जारी रह्यो । फ्रान्स र जर्मनीमा पनि यही अवस्था थियो । युरोपेली राष्ट्रवादको विकास सत्ताधारी दलहरूले गरेका थिए । मध्यकालमा इटालीका जनताले तत्कालीन समयलाई ‘ला रिना स्विता’ (पुनर्जागरण) भने । १८औं शताब्दीमा फ्रान्सका विद्वान्हरूले यसलाई ‘रिनेसो’ भनेका थिए । भारतका माक्र्सवादी विचारका डा. रामविलास शर्माले यसलाई वास्तवमा यो इटाली, फ्रान्स र इंग्ल्यान्डका लागि ‘जाति निर्माण’ र ‘जातीय निर्माण’को युगको संज्ञा दिएका थिए । युरोपेली मुलुकमा सत्ताधारी दलहरूले विस्तारवादको नीति अवलम्बन गरे । जर्मनीका शासक हिटलरले राष्ट्रवादकै नाममा व्यापक हिंसा गरे । युरोपका प्रायः सबैजसो शासकहरूले हिंसाकै सहारा लिए । फ्रान्स रोमन साम्राज्यवादबाट पीडित थियो । भाषा र सभ्यताका आधारमा एउटा सम्झौता भयो । त्यतिबेलादेखि नै फ्रान्स राष्ट्र भयो । युरोपमा राष्ट्रवादका लागि युद्ध भयो, तर यस्तो हिंसा भारत वर्षमा भएको पाइँदैन ।

महात्मा गान्धीले आप्mनो पुस्तक ‘हिन्द स्वराज’मा टिप्पणी गरेका छन् कि ‘जतिबेला अंग्रेज भारतमा आएका थिएनन्, त्यतिबेला पनि भारत एउटा राष्ट्र नै थियो ।’ उनीहरू हाम्रा विचार एक थिए । त्यही भएर अंग्रेजहरूले राज्य कायम गरे । माक्र्सवादी विद्वान् डीडी कौशाम्बीले मोहम्मद बिन कासिम भारतमा आउनुभन्दा पूर्व नै भारत एउटा राष्ट्र थियो, होइन भने भारतको इतिहासमा पनि विजेताहरूकै गाथा र शासन सत्ताको वर्णन गरिएको हुने थियो । प्राचीन भारतको संस्कृति र सभ्यतामा विविधता पनि थियो, तर राष्ट्रप्रेम पनि गज्जबको थियो । भारतीय राष्ट्रवादको इतिहासमा बल प्रयोग नभएको उनले उल्लेख गरेका छन् । कौशाम्बीले यस तथ्यका ’boutमा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै लेखेका छन्– ‘चीनको उन्नति त्यतिबेला मात्रै भयो, जब पूरा देशमा हान जातिको प्रभुत्व स्थापित भयो ।’ हान जातिबाट एक समृद्ध साम्राज्यको बिजारोपण भयो । स्पेनिस विजयपश्चात् मात्रै इन्कार अर्जन्टेकोहरूको लोप भयो । मेक्सिको, पेरू र ल्याटिन अमेरिकीहरूको संस्कृति सर्वसाधारण युरोपेली हो । तिनीहरूको विशुद्ध आप्mनो होइन । भूमध्य सागर क्षेत्रमा विजय हासिल गरेपछि मात्रै रोमनहरूले विश्व संस्कृतिमाथि आप्mनो छाप छोडेका हुन् । युरोपेली राष्ट्रवादको इतिहास अवश्य नै आक्रामकताले भरिएको छ । सम्भवतः यसैबाट रिसाएर प्रख्यात विद्वान् सैमुअल जोनसनले राष्ट्रवाद तथा राष्ट्रभक्तिलाई अपराधी तथा मूर्खहरूको अन्तिम शरणस्थलीको संज्ञा दिएका थिए ।

सकारात्मक राष्ट्रियता सहयोग र समझदारीमा आधारित हुने भएकाले अतिरञ्जना कम हुने गर्छ

विश्वकै प्राचीनतम् ग्रन्थ वेदमा इन्द्रले वरुणलाई भनेका छन्– ‘यो विशाल इन्द्रलोकरूपी राष्ट्रले सबैलाई प्रसन्नता दिने गर्छ ।’ –बृहत् राष्ट्र द्यौ इन्वति । वरुण राष्ट्रका राजा हुन् । इन्द्रले वरुणलाई भनेका छन्– ‘तिमीले मेरो राष्ट्रको अधिपत्य स्वीकार गर्नुपर्छ ।’ एउटा स्तुति नै छ– ‘राष्ट्रं ध्रुवं धारयतां ।’ इन्द्र र अग्नि देवताले राष्ट्र स्थिरता धारण गरून् । यहाँ इन्द्र, वरुण आदि देव नाम हुन् । तर ‘राष्ट्र’ प्राचीनताको धारणा सत्य हो । लोककल्याणको भावना लिएर ऋषिमुनिहरूले तपस्या गरे । त्यसबाट राष्ट्रको जन्म भयो । यस राष्ट्रवादले सम्पूर्ण विश्वलाई नै एउटा परिवार ठान्छ । सनातन धर्मको मान्यतानुसार पृथ्वीदेखि लिएर अन्तरिक्षसम्म शान्तिको चाहना र कामना नै राष्ट्रवाद हो । सनातन धर्मका अनुयायीहरूले कहिल्यै आप्mनो राज्य क्षेत्रको अथवा धर्म संस्कृतिको विस्तारका लागि हत्या, हिंसा तथा आक्रामकताको सहारा लिएनन् । हिन्दू, धर्म–संस्कृतिमा संकीर्णता छैन । यसमा उदारता र व्यापकता छ । सायद त्यही भएर होला भारतमा सयौं वर्षसम्म मुगल र अंग्रेजहरूको शासनका वाबजुद हिन्दू धर्म–संस्कृति आज पनि विश्वव्यापी चर्चा र आकर्षणको केन्द्र बनेको छ ।

राष्ट्रवादको नारा दिने नेता अथवा शासकहरूले सधैं यसका लागि आप्mनो शत्रु राष्ट्र अथवा विरोधीको पहिचान पनि गरेका हुन्छन् । ’cause, कुनै विरोधी नै नभई यो नारा फलीभूत हुनैसक्दैन । नेपालले विगतमा तिब्बतसँग पनि युद्ध लड्नुपरेको थियो भने भारतका मुसलमान र अंग्रेज शासकहरूसँग युद्ध लड्नुपरेको थियो । अहिले तिब्बत चीनको भूभागको अधीनमा आएको पनि झन्डै सात दशक भइसकेको छ भने भारतबाट अंग्रेज शासनको अन्त्य भएको पनि सात दशक नाघिसकेको छ । हाम्रा दुवै छिमेकी राष्ट्रहरू भारत र चीनसँग सुमधुर सम्बन्ध छ तथा दैनिक रूपमा अर्बौंको आयात–निर्यात व्यापार भइरहेको छ । व्यापारिक मात्रै होइन आर्थिक, राजनीतिक एवं सामाजिक–सांस्कृतिक सम्बन्ध पनि घनिष्ठ नै छ ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मोरङको सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी