मर्कटस्य सुरापानं…

मैले आजभन्दा ४ वर्षअघि २८ जुन २०२० का दिन सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेको रहेछु ।

‘भर्खरै प्रधानमन्त्रीज्यूको प्रवचन सुनें ! मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित समारोहमा सम्माननीयज्यूको ‘विद्वता’ राम्रै झल्किन्थ्यो र साच्चै भनौं भने पोखिएको थियो ! उहाँको ओहदा धरापमा परेको उहाँले सकार्नुभएको छ ! उहाँलाई प्रधानमन्त्री पदबाट हटाउन ‘धेरै’ सक्रिय रहेको बताउन बिर्सनुभएन । उहाँलाई हटाउनसक्ने त उहाँकै क्रान्तिकारी दलले मात्र हो ! उहाँले नेताहरूलाई ‘हतार नगर्न’ भन्नुभयो !! उहाँले आफूलाई महानतम् राष्ट्रवादीका रूपमा प्रस्तुत गर्दै नेकपाको राष्ट्रवाद कमजोर नभएको बताउँदै आफू नहट्ने हुंकार गर्नुभयो !!

एउटा कुरो भने अलि खट्कियो ! उहाँले स्पष्ट शब्दमा भारतले उहाँलाई हटाउन लागेको बताउनुभयो ! अब नेपाली जनतालाई उहाँले अत्यन्तै सफा र स्पष्ट रूपमा बताउनुपर्छ– उहाँको दलका कोको नेताहरू भारतका एजेन्ट हुन् !! त्यस्तालाई पार्टीमा राखिरहनु भनेको त उहाँजस्तो दृढ शक्तिशाली राष्ट्रवादी व्यक्तित्वलाई सुहाउँछ र ? कि उहाँ निरीह भइसक्नुभएको हो ? उहाँले ‘एम्बेसी सक्रिय भएको’ पनि बताउनुभयो !! निश्चित रूपमा त्यो भारतीय दूतावास नै त होला !! मित्रराष्ट्र चीन त त्यस्तो अर्घेलोमा लाग्नै सक्दैन !!

हेक्का रहोस्– मुलुकको सर्वोच्च कार्यकारी प्रधानमन्त्रीले ‘एम्बेसी सक्रिय’ भएको बताएपछि सामान्य नागरिकले पत्याउनै प¥यो ! यो त सोह्रै आना कूटनीतिक मर्यादाविपरीत क्रियाकलाप भयो ! यो सह्य हुन्न !! नेपाली स्वतन्त्रता र स्वाभिमानमाथिको यो हमला स्वीकार्य हुनै सक्दैन ! त्यस्तो एम्बेसी वा व्यक्तिलाई चिन्हित गरेर तत्काल देशनिकाला गरियोस् अर्थात् ‘पर्सना नन् ग्राटा’ घोषित गरियोस् !’

ओलीको कुरा गर्ने हो भने उनले दर्जनौं पटक अनौठा र हावादारी तर आकर्षक एवं मादक अभिव्यक्ति दिएका छन् । ती अभिव्यक्तिप्रति जवाफदेहिता भने पटक्कै देखिँदैन

बताइरहन नपर्ला यहाँ उल्लेख व्यक्ति को हुन् । तत्कालीन झन्डै दुई तिहाइ बहुमत ओगटेका शक्तिशाली प्रधानमन्त्री एवं नेपाली जनताको प्रचण्ड विश्वास बटुलेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष खड्गप्रसाद शर्मा ओली ती सम्माननीय महानुभाव थिए । मुलुकका सर्वाधिक लोकप्रिय मानिएका तत्कालीन बहालवाला प्रधानमन्त्रीले आफूलाई पदबाट हटाउन ‘एम्बेसी सक्रिय भएको’ भन्ने आरोप लगाउँदै नेपाली जनतालाई गुहारे । तर, कसरी को सक्रिय भएको बताएनन् । मुलुकको राज्य सत्ताविरुद्ध विदेशी शक्तिको यत्रो षड्यन्त्र हुँदा पनि ओलीले स्पष्ट पार्न र त्यस्ता षड्यन्त्रकारीलाई कारबाही गरेर देशनिकाला गर्ने काम भने गरेनन् ।

हामीजस्ता एक–दुई निरीह प्राणीहरूले प्रश्न उठाउँदा जवाफ दिनुपर्ने आवश्यकता त सायद महसुस नै भएन । माथि उठाए जस्तैगरी गम्भीर प्रश्न उठाउँदा त हामीजस्तालाई तथानाम ‘बिहारी’ र ‘भारुराम’जस्ता गालीको वर्षा भइरह्यो ।

ओलीको कुरा गर्ने हो भने उनले दर्जनौंपटक अनौठा र हावादारी तर आकर्षक एवं मादक अभिव्यक्ति दिएका छन् । ती अभिव्यक्तिप्रति जवाफदेहिता भने पटक्कै देखिँदैन ।

‘दुई–वर्षमा दैलेखको पेट्रोल निर्यात हुन थाल्छ’ देखि ‘घरघरमा ग्यासको पाइपलाइन’ सम्म र ‘आगामी १६ पुसमा कोलकाता जाने जहाजको टिकट काटे हुन्छ’ सम्मका अत्यन्तै चित्ताकर्षक आश्वासनका पुडिया बाँडेको वर्षौं बितिसक्दा पनि उनले त्यसको जवाफ दिनुपर्ने जरूरत परेन । कुनै मुलुक राष्ट्रिय प्रतीक चिह्नलाई होच्याउँदै ‘सिंहमेव जयते’ भनेर प्रधानमन्त्रीका रूपमा संसद्को रोस्ट्रममा उभिएर बोल्न मिल्छ कि मिल्दैन ? सायद ओलीजस्ता व्यक्तिका लागि सोचिरहनुपर्ने विषय होइन । रामलाई चितवनमा जन्मिएका भन्ने नितान्त हास्यास्पद अभिव्यक्तिको दूरगामी असर के पर्छ भनेर घोत्लिनुपर्ने त जरुरतै परेन ।

नेपालको इतिहासमा डा. केआई सिंहजस्ता विदुषक शैलीको अभिव्यक्ति दिएर ताली खाने नभएका होइनन् । स्वयं गणेशमान सिंहका अभिव्यक्तिहरू पनि बेलाबखतमा ठट्यौली र व्यंग्यले भरिएका हुने गथ्र्यो । तर, ती उद्गारहरू विगतको पीडा व्यक्त गर्ने वा आफ्नो भनाइ राख्ने सशक्त शैलीमा सीमित हुन्थे । ध्यान दिएर हेर्ने हो भने ओलीका अभिव्यक्तिचाहिँ निश्चित समूहलाई लक्षित गरी उनको कोमल भावनामा खेलेर आफूले लोकप्रियता वा मत आर्जन गर्ने तात्कालिक साधनका रूपमा प्रयोग भएको देखिन्छ । जवाफदेहिताचाहिँ शून्य ! त्यसमा पनि ‘राष्ट्रवाद’ त जनताको दिमाग पुरै भुट्ने अचूक अस्त्रका रूपमा प्रयोग भएको पाइन्छ ।

नाकाबन्दीको समय सम्झौं त ! हाम्रै मधेसका ठेकेदारहरूले बेदी तयार गरिदिएका हुन् । म मधेसी जनताको कुरा गर्दै छैन । ठेकेदारहरूको कुरा गर्दै छु । शताब्दियौंदेखि पिल्सिएका जनता त ठेकेदारहरूको बहकाउमा आएका मात्र हुन् । ठेकेदारहरूले तयार पारिदिएको बेदीमा अग्नि सल्काउने काम भारतले गरेको हो । भारतले निश्चित रूपमा अर्घेलो गरेको हो । हजारौं जनताले ज्यान गुमाउनुप¥यो । भारतीय शासकले यो पापको मूल्य चुकाउनै पर्छ । तर, त्यसबेलाको हाम्रो सरकारले के ग¥यो ? फगत जनताको कोमल भावनालाई भड्काउँदै आफ्नो व्यक्तिगत लोकप्रियता चुल्याउने काम ग¥यो ।

साँच्चै भन्ने हो भने आफ्ना कार्यकर्ताको कालो बजारको महल खडा ग¥यो । जनताको भावनामा खेल्दै कष्ट दिइरह्यो भने अर्कोतर्फ आर्थिक दोहन गरिरह्यो । स्वयं मलाई त्यसबेलाको ओलीको दलका एक प्रभावशाली युवा कार्यकर्ताले भनेका थिए– ‘५ सय रुपैयाँ लिटर पर्छ, म तपाईंलाई चार ट्यांकर चाहिए पनि पेट्रोल ल्याइदिन्छु ।’ जनतासामु चाहिँ भारतसँग नझुक्ने महान् राष्ट्रवादी छवि प्रचारित प्रसारित गरिरहियो । त्यो छवि राम्रै बिक्यो । ओली इतिहासकै सबैभन्दा ठूलो राष्ट्रवादी कहलिए ! पीडित जनताको कमलो मानसिकता, ओलीको राष्ट्रवादी छवि र सामाजिक सञ्जालको भरपुर उपयोग ! ओली त ऐतिहासिक पुरूष नै बन्न पुगे । तर, त्यो इतिहास पुरुषबाट राष्ट्र र राष्ट्रवासीले गफबाहेक केही पाएनन् । तर, पनि इतिहास पुरूष बने ! ओलीको त्यो सफल प्रयोगबाट धेरै जना हौसिए । जनताका पीडामा राष्ट्रवादको तड्का मिसाउन सकियो भने बालुवालाई हलुवा र कीरालाई हीराको रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने पाठ धेरैले सिके ।

अझ ओली वा ओलीका सेनाभन्दा सक्षम सामाजिक सञ्जाल सेनानीहरू सक्रिय हुन थाले । कथित पढेलेखेका आधुनिक युवा मस्तिष्कलाई लक्षित गरेर अभियान चलाइयो र एक -यापरलाई महान् नायक बनाइयो । म ती नायक महोदयको वर्तमान क्रियाकलापका ’boutमा टिप्पणी गर्दै छैन । तिनले गरेको राम्रो कामको प्रशंसा नै गर्छु । तर, ती मानिस स्थापित हुनुका पछाडिचाहिँ कमलो युवा मस्तिष्कमाथि सामाजिक सञ्जालरूपी अस्त्रको अतिक्रमण नै थियो भन्छु । अर्का एक जना भ्रष्ट एवं दुराचारीलाई त अभूतपूर्व सफललता नै मिल्यो । स्वनामधन्य पढेलेखेका महान् विद्वान्समेत उनको दौरा समाउन पुगे र उनलाई बीपीसरहको नेता भन्दै चाटुकारिताको हद प्रदर्शन गरे । संसद्मा चौथो ठूलो दलका रूपमा जनताले नै निर्वाचित गरे ।

यी त केही उदाहरण मात्रै हुन् । यो शृंखला अझ अगाडि बढ्न सक्छ । थरीथरीका प्रयोग हुनेछन् ! सायद अझै रमाइला पात्रहरू देखापर्नेछन् । अनि, हामी चिच्याइरहनेछौं – मुलुक ध्वस्त भयो ! जिम्मेवार को ? के ओलीजस्तो पात्र ? ओलीको त लामो राजनीतिक पृष्ठभूमि र संघर्षगाथा छ । अन्य झिल्के पात्रहरू ? वा स्थापित स्वाभाविक राजनीतिक पार्टी एवं नेताहरू ? वा अनायास कीरालाई हीरा बनाउने जनता ? जनता भनाउँदाले भन्न सक्छन् – मलाई त झुक्याइयो ! यार झुक्याउनेले तपाईंलाई खुच्चिङ भन्दै भन्नेछन् – मैले त झुक्याएँ लौ, तँ किन झुक्किइस् ? मूर्ख तँ होइन ?

अनायासै संस्कृतको एउटा प्रचलित उक्ति याद आयो । उल्लेख गर्दै छुः

मर्कटस्य सुरापानं ततो वृश्चिकदंशनम् ।
तन्मध्ये भूतसंचारो यद्वा तद्वा भविष्यति ।

त्यसै त, चञ्चले बाँदर, त्यसले रक्सी पिएछ र त्यसैबेला त्यसलाई बिच्छीले डसेछ । त्यसमाथि त्यसको टाउकामा भूत वा दानवी शक्ति सवार भयो भने परिणाम के हुन्छ ? त्यसले जे पनि गर्न सक्छ । म कसैलाई केही भन्दै छैन । ओलीजस्ता महान् आत्मालाई दुर्वाच्य बोल्ने त मेरो ल्याकत नै छैन । माथि इंगित गरिएका महापुरूषहरूका ’boutमा केही भन्ने झनै औकात छैन । बिचरा निरीह जनतालाई के भनौं र ! फगत यति भनौं– मर्कटस्य सुरापानं …!

तपाइको प्रतिक्रिया
(Visited 379 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कास्कीमा निर्वाचन सामग्री बुझेर कर्मचारी मतदानस्थलतर्फ