गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

काठमाडौं । आर्थिक वर्ष २०८०–०८१ मा ५ सय ४८ वटा साना तथा ठूला उद्योग व्यवसायका लागि ७० अर्बभन्दा बढी रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको छ ।

एक वर्षमा लगियो १० अर्ब लाभांश

उद्योग विभागका अनुसार असार महिनामा मात्रै यस्ता ९७ कम्पनीले लगानी प्रतिबद्धता गरेका छन् । उद्योग विभागले अटोमेटिक रुटबाट ८ अर्ब ११ करोड ६२ लाख ३० हजार रुपैयाँ र विभागले स्वीकृत गरेको ६१ अर्ब ९० करोड ४५ लाख ४६ हजार रुपैयाँसहित लगानी प्रतिबद्धता ७० अर्ब नाघेको जनाएको छ ।

उद्योग विभागका अनुसार गत आव २०८०–०८१ मा अघिल्लो आव २०७९–०८० को तुलनामा प्रत्यक्ष वैदेशिक लगानी दोब्बरले वृद्धि भएको छ । अघिल्लो आव २०७९–०८० मा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ३८ अर्ब ४० करोड रुपैयाँबराबर भित्रिएको थियो । यस वर्ष गत आवको तुलनामा २३ अर्ब ५० करोड रुपैयाँ बढी वैदेशिक लगानी भित्रिएको हो ।

गत आवमा प्रतिबद्धता आएकामध्ये ६५ वटा उद्योग व्यवसायले मात्र सम्झौतापछि स्वीकृति पाएको पनि विभागले जनाएको छ । सो स्वीकृतिपश्चात ११ अर्ब ६५ करोड ६८ लाख ३९ हजार रुपैयाँ भित्रिएको छ ।

यसैगरी, गत आवमा ५६ वटा प्रविधि हस्तान्तरण भएको विभागले जनाएको छ । विभागले वैदेशिक लगानी प्रतिबद्धताबाट गत आवमा २२ हजार ९४ जनाले रोजगारी पाउने पनि उल्लेख गरेको छ ।

विभागले वैदेशिक लगानी भिœयाएदेखि हालसम्ममा ५ खर्ब ११ अर्ब ८९ करोड ३४ लाख प्रतिबद्धता आइसकेको पनि जनाएको छ । सुरुदेखि हालसम्मको तथ्यांकलाई आधार मान्ने हो भने हालसम्ममा ६ हजार २ सय ६७ वटा परियोजना सञ्चालन हुनुपर्ने विभागले स्पष्ट पारेको छ । तर, प्रतिबद्धता आउने र लगानी नआउने विगतको अनुभव विभागको रहेको छ ।

गत आवमा आएका कुल ४ सय ७ वटा परियोजना प्रतिबद्धतामध्ये साना आकारका ३ सय ८६ वटा, मध्यम खालका १५ वटा र ठूला आकारका उद्योग व्यवसाय ६ वटा रहेका छन् ।

गत आवमा आएका लगानी प्रतिबद्धतामध्ये पर्यटन क्षेत्रमा ४८ प्रतिशत आएको छ । दोस्रोमा सेवा क्षेत्रमा ३३ प्रतिशत लगानीको प्रतिबद्धता छ । उत्पादन क्षेत्रमा ११, सूचना प्रविधि क्षेत्रमा ३ र कृषि क्षेत्रमा २ प्रतिशत प्रतिबद्धता छ । पूर्वाधार, खनिज र ऊर्जा क्षेत्रमा एक–एक प्रतिशत मात्रै विदेशी लगानीको प्रतिबद्धता आएको छ ।

विभागका अनुसार पर्यटनमा १ सय ९७, सेवामा १ सय ३३, उत्पादनमा ४६, सूचना प्रविधिमा ११, कृषिमा ८, पूर्वाधारमा ६, खनिजमा ३ र ऊर्जामा ३ वटा उद्योगका लागि प्रतिबद्धता आएको छ ।

विभागका अनुसार यस वर्षदेखि सुरु गरिएको अटोमेटिक रुटबाट ८ अर्ब ११ करोड ६२ लाख ३० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । जसमा ६९ वटा पर्यटन क्षेत्रका लागि ४ अर्ब ४२ करोड ३२ लाख रुपैयाँ प्रतिबद्धता आएको छ । यसैगरी, ३५ वटा सेवामूलक उद्योका लागि २ अर्ब ९६ करोड प्रतिबद्धता आएको छ । २८ वटा सूचना प्रविधिमूलक उद्योगका लागि ४१ करोड ३० लाख ३० हजार रुपैयाँको प्रतिबद्धता आएको छ । उत्पादनमूलक उद्योगका लागि भने २८ करोडको प्रतिबद्धता आएको छ ।

उद्योग विभागले नेपालबाट गत १ वर्षमा विदेशी कम्पनीले १० अर्ब ७ करोड रुपैयाँ लाभांश लगेको पनि जनाएको छ । यस वर्ष प्रत्यक्ष वैदेशिक लगानीकर्ताले नेपालबाट लैजाने रोयल्टी रकम भने घटेको छ । तथ्यांकनुसार यस वर्ष नेपालबाट २ अर्ब ७९ करोड रुपैयाँ रोयल्टी विदेश गएको छ । गत आवमा २ अर्ब ३३ करोड रुपैयाँ रोयल्टी बिदेसिएको थियो ।

गत आवको १ वर्ष अवधिमा कुल १३ अर्ब ८४ करोड रुपैयाँ विदेशी लगानीकर्ताले लगेका छन् । अमेरिकी डलरमा एक वर्षमा १ करोड ९ लाख लाभांश विदेश लगिएको छ । यस्तो लाभांश अघिल्लो वर्ष २ करोड १२ लाख डलर लगिएको थियो ।

१ वर्षमा भारतीय रुपैयाँमा ७६ करोड २७ लाख लाभांश विदेश गएको छ । गत आवमा ३५ करोड ६६ लाख मात्र लाभांश बिदेसिएको थियो । युरोमा १ वर्षमा २३ हजार ८ सय लाभांश गएको छ । अघिल्लो वर्ष युरोमा ४९ हजार लाभांश बिदेसिएको थियो ।

१ वर्ष अवधिमा बिजनेस भिसा सिफारिस संख्यामा समेत वृद्धि भएको छ । उद्योग विभागबाट १ वर्ष अवधिमा २ हजार २ सय २९ लगानीकर्तालाई बिजनेस भिसा सिफारिस गरिएको छ ।

आव २०७९–०८० मा बिजनेस भिसा सिफारिस संख्या १ हजार ८ सय ९ थियो । आव २०८०–०८१ मा ४ सय ९ जनालाई बिजनेस भिसा सिफारिस भएको छ । गत आवमा २ सय ८५ जनालाई बिजनेस भिसा सिफारिस भएको थियो । डिपेन्डेन्टतर्फ १ हजार ७ जनालाई बिजनेस भिसा सिफारिस गरिएको छ । गत वर्ष यो संख्या ७ सय ७० थियो ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम