शाकाहारी खाना र खीरको परिकार

मानिसलाई स्वस्थ राख्ने प्रमुख आधार नै भोजन हो । यस लेखमा मुख्यतः शाकाहारी भोजन साथै खीरका ’boutमा प्रस्तुत गर्ने जमर्काे गरिन्छ । स्वास्थ्य बनाउनका लागि तागत वा शक्ति दिने खानेकुराको त्यत्तिकै महत्व हुन्छ । सोका लागि शाकाहारी खानाको भूमिका महत्वपूर्ण हुन्छ । जस्तैः खीर, उसिनेको, हकुवा, ताइचिन र मन्सुली चामललाई स्वस्थ खानाका रूपमा लिइन्छ । त्यस्तै गहुँ, मकै, कोदो, तितेफापर, जुनेलो, जौ, सकरखण्ड, तरुल, पिँडालु, गिट्ठा, आलु, चिउरा, फलफूललाई स्वस्थ्य भोजनका रूपमा लिन सकिन्छ । शरीरको तामक्रम र सन्तुलन बनाइराख्न, मांशपेशी बलियो बनाउन, शरीरका मुख्य अंगहरू (मिर्गौला, मुटु, फोक्सो, मष्तिस्क) लाई निरोगी राख्न एवं विभिन्न समस्याहरू निराकरण गर्न यी शाकाहारी खाना नै हुन् । स्वास्थ्य समस्याहरू निराकरण गर्न नाथ्रो भएको वा नफलेको अन्नले शरीरको विकासमा सन्तुलनका लागि चाहिने प्रोटिन, विशेष गरेर भिटामिन ‘बी’, रगत राम्रो बनाउने तत्वको विकास गर्नुका साथै शरीरबाट काम नलाग्ने वस्तु बाहिर हटाउने र शरीरलाई शक्ति प्रदान नर्गे काम गर्छ । तरकारीका रूपमा प्रयोग गरिने आलुबाट भिटामिन ‘सी’ प्राप्त हुन्छ । यसले घाउ निको पार्न र बलियो बनाउन सहयोग पु¥याउँछ ।

आलुले खानामा भएको तत्व पचाउन शरीरलाई शक्ति दिन्छ । आलुमा प्रशस्त प्रोटिन हुन्छ, जसले शरीरको वृद्धि गर्न र यसलाई सन्तुलित राख्न मद्दत गर्छ । कम चिल्लो प्रयोग गरी आलु बोक्रासहित पकाउनाले स्वास्थ्यलाई फाइदा पु¥याएको कुरा विभिन्न अध्ययनले देखाएको छ । यसैगरी कोदोमा शरीर विकासका लागि चाहिने उत्तम प्रोटिन पाइन्छ, यसबाट दाँत र हाड बलियो बनाउने क्याल्सियम पनि पाउन सकिन्छ । मानिसलाई ताप वा शक्ति दिने खानाको कमी भएमा दुब्लाउँछ, सो कारणबाट मांशपेशी कमजोर हुन गई जाँगरसमेत हराउँछ । थकाई छिटो लाग्छ, जाडो भएको महसुस भई जीउ काप्छ । शरीरको विकास र यसलाई सन्तुलित राख्न शाकाहारी खाना मुख्य हो । यो गेडागुडी र अन्य वस्तुबाट प्राप्त गर्न सकिन्छ । मास, भटमास, राजमा, सिमी, गहत, रहर, बकुल्ला, तिल, मुगी, मुसुरो, चना, बोडी, केराउ, मस्याङमा प्रशस्त प्रोटिन पाइन्छ । फर्सीको बियाँ, लट्टेको गेडा, ओखर, ज्वानो आदिबाट पनि प्रशस्त शरीर रक्षा गर्ने प्रोटिनको मात्रा पाइन्छ । अतः शरीरको विकास र दीर्घ जीवनका लागि माथि उल्लिखित प्रोटिनयुक्त शाकाहारी खाना खानुपर्छ ।

प्रोटिन कपाल, हाड, मांशपेशी र रगतलाई स्वस्थ राख्न आवश्यक तत्व हो । यसले शरीरको मुटु, मिर्गौला र कलेजो कोषहरूलाई करिब दुई सातासम्म जीवित राख्न सहयोग गर्छ । छाला, हाड र मांशपेशीका कोषहरू ६–७ महिनासम्म जीवित राख्छ । प्रोटिनले घाउ छिटो निको गर्न मद्दत पु¥याउँछ । केही प्रोटिनयुक्त खानेकुराले शरीरलाई आवश्यक पर्ने तत्व क्याल्सियम पनि प्रदान गर्छ । प्रोटिन र भिटामिन खाएनौं भने खानामा भएका तत्वहरू सबै शरीरले पचाउन सक्दैन र त्यस्ता तत्वहरू दिसामा बगेर खेर जान्छन् । अन्नबाट शरीरलाई चाहिने ७० देखि ९० प्रतिशत प्रोटिन पूर्ति हुन्छ । खानामा प्रोटिन र कार्बोहाइड्रेड समान अनुपातमा हुनु अति महत्वपूर्ण हुन्छ । प्रोटिनयुक्त खानेकुरा शक्ति दिने र भिटामिन दिने खानेकुराहरूसँग खायौं भने शरीरले पूरा मात्रामा खानामा भएको पौष्टिक तत्व पचाउन सक्छ । त्यसैले, विभिन्न किसिमका खानेकुराहरू मिलाएर खानु फाइदाजनक हुन्छ । जस्तैः दालभात, साग, गेडागुडी, दूध, मोही, घिउ फरकफरक खायौं भने खानामा भएका पौष्टिक तत्वहरूको सही उपयोग हुँदैन ।

शरीरलाई आवश्यक मात्रामा चाहिने प्रोटिनयुक्त खाना नखाँदा उमेरअनुसार उचाई बढ्दैन, केटाकेटीहरू ख्याउटे, दुब्लो र कमजोर हुन्छन् । उनीहरूको छाला पनि बूढो मान्छेको जस्तो चाउरी परेको हुन्छ । कपाल पातलो र खैरो हुन्छ । शरीर सुन्निने पनि हुन्छ । कपाल फुस्रो र जिंग्रिङ परेको हुन्छ । कहिलेकाहीँ छालामा दाग पनि देखिन्छ । घाउ भयो वा खटिरा आयो भने निको हुँदैन । घाउ छिट्टै राँक्किने र पाक्ने हुन्छ । अतः प्रोटिनयुक्त खानेकुरामा सबभन्दा असल स्रोतहरू भएको खानेकुरा शाकाहारी खानाबाटै पाइन्छ । जस्तैः भटमास, मह, सागसब्जी राम्रो स्रोतका रूपमा प्रयोग गर्नुपर्ने हुन्छ । दूध, दही शरीरलाई बढाउने प्रोटिनयुक्त उत्तम खानेकुरा हुन् । आमाको दूध बच्चाका लागि अमृतसरह हुन्छ । यदि, आमाले बच्चा गर्भमा छँदा र जन्मेपछि प्रोटिन पुग्दो मात्रामा खान्छिन् भने ती आमाको दूध खाने बच्चा पुष्ट र स्वस्थ्य हुन्छ । आमाले मिश्रित खाना सेवन गर्दा आमाको दूध प्रशस्त मात्रमा आउँछ । हाम्रो शरीरलाई आवश्यक पर्ने तत्वहरू गाढा हरियो रङका तरकारीमा भिटामिन र खनिज पदार्थ हुन्छन् । जसले रोगका किटाणु सरुवा हुनबाट बचाउँछ ।

खीरजस्ता खानाले स्वास्थ्यमा सुधार आई दीर्घजीवी हुनुका साथै संस्कृतिको संरक्षण र प्रवर्धन हुन्छ

फर्सी, गाजर, बकुल्ला र उमारेका गेडागुडीहरूमा शरीरलाई आवश्यक पर्ने प्रशस्त तत्वहरू हुन्छन्, साथै सामान्यतया भिटामिन ‘ए’ शरीरका लागि अति आवश्यक हुन्छ । शारीरिक विकास, राम्रो आँखा, आँखाको तेज, स्वस्थ्य छाला, बलियो दाँत र हाडहरू बलियो बनाइराख्नका लागि भिटामिन ‘ए’ आवश्यक हुन्छ । भिटामिन ‘बी’ले नसासम्बन्धी रोगबाट बचाउँछ । भिटामिन ‘सी’ले शरीरका कोषहरू बलियो बनाउँछ । विशेषगरी जोर्नीहरू, मुख र गिजालाई फाइदा पु¥याउँछ । यसबाहेक यसले घाउ चाँडो निको हुने र शरीरलाई फलामको मात्रा वृद्धि गर्न पनि मद्दत गर्छ । फलाम भएका खानाले रगत बनाउन सहयोग गर्छ । क्याल्सियमयुक्त खानाले हाड र दाँत बलियो हुन्छ । बोक्रा वा त्यान्द्रा भएका खानाले दिसा खुलाउन मद्दत गर्छ । हाम्रो समाजमा अज्ञानका कारण केही साना बालबालिका र वयस्क व्यक्ति पनि गाढा हरियो सागपात खाँदैनन्, अतः गाढा हरियो सागपात नखाएर भिटामिन ‘ए’को कमी हुन्छ ।

भिटामिन ‘ए’ आँखाका लागि अति आवश्यक हुन्छ । यसको कमीले रतन्धो रोग हुन्छ । यस किसिमको समस्या विशेषगरी केटाकेटीमा पाइन्छ । त्यस्तै, आँखा ज्यादै दुख्ने समस्या हुनसक्छ । सानो बालक छ भने आँखा मिचिरहन्छ, त्यसैगरी आँखामा सेतो थोप्ला देखिन थाल्छ । आँखाको नानी नरम र घाउ भएको हुन्छ । सेतो भागको आकार असाधारण हुन्छ । आँखाको सबै कालो भाग सेतोले ढाक्छ अनि आँखा देख्न सक्दैन र अन्धो हुन्छ । भिटामिन ‘ए’ कमी भएका व्यक्तिलाई केही सातासम्म भिटामिन ‘ए’ भएका फलफूल जस्तै– गाढा हरियो सागपात, पाकेको फर्सी, आँप, गाजर आदि खुवाउनुपर्छ । यदि, यस्तो व्यक्तिलाई प्रशस्त हरियो सागपात दिइन्छ भने केही सातामै आँखाको समस्या हटेर जान्छ । तर, उसले निको नभएसम्म सधैं हरियो सागपात खानुपर्छ र जीवनभरि हरियो सागपात प्रयोग गर्नु अति उत्तम हुन्छ । गाढा हरियो सागसब्जीमा लौहतत्व पाइन्छ । लौहतत्वको अभावले रगतको कमी हुने रोग लाग्छ । अतः यस्तो खानेकुराहरू खानु आवश्यक छ ।

यसै सिलसिलामा हाम्रो संस्कृतिमा १५ साउनलाई खीर खाने विशेष रमाइलो पर्वका रूपमा लिइन्छ । नेपाल कृषिप्रधान मुलुक भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसियालीस्वरूप खीर खाने परम्परा विकास भएको पाइन्छ । साउन महिनाभरि खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा छ । नेपालमा मात्र नभएर भारतमा पनि साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता पाइन्छ । यो समयमा वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन र ऊर्जामय राख्न हरेक वर्ष १५ साउनमा विशेषगरी खुसियालीसँग खीर खाने चलन छ । हाम्रा पूर्खाहरूले मौसमअनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजलाई चलनचल्तीमा ल्याएको संस्कृतविद् बताउँछन् ।

गर्मी महिना भएकाले शरीरमा विभिन्न खाले दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकाले प्रतिरोधात्मक शक्ति बढाउन दूध तथा दूधबाट बनेका पोसिला परिकार खाने गरिन्छ । यस समयमा पानी पर्ने भएकाले जताततै हरियो घाँस हुने र सो घाँस खाई गाईभैंसीले प्रशस्त दूध दिने हुँदा प्राकृतिक महिनामा खीर खाएर गति परिन्छ भन्ने विश्वास अझै रहेको भए पनि आजभोलि खीर खानका लागि साउन नै कुर्नु नपर्ने बाह्रै महिना ३ सय ६५ दिनै खान सकिन्छ । शाकाहारी खानामा खीर तथा दूधभात मिठो र पोसिलो खानेकुरामा लिइन्छ । खीर बनाउँदा सकेसम्म बासमती अथवा तराईतिर पाइने करियाकामत होस् वा टाइचिन अथवा अन्य मसिनो बासनादार चामल सो नभए आफूसँग भएको चामलमा दूधमा पकाई सोमा किसमिस, काजु, नरिवलजस्ता विशेष मसला हाली खीर बनाइन्छ ।

दालभात, साग, गेडागुडी, दूध, मोही, घिउ आदि खानामा शरीरका लागि आवश्यक पौष्टिक तत्व पाइन्छ

हाम्रो चलनचल्तीमा खीर विभिन्न उत्सव, चाडबाड, पूजाआजा, विवाह, व्रतबन्धमा महत्वका साथ बनाइने गरिन्छ । खीर नेपालीहरूबीच लोकप्रिय सांस्कृतिक पकवानका रूपमा परिचित छ । साल वा भोर्लाका ठूलाठूला पातको दुना टपरी बनाई सोमा बासनादार खीर र सेलरोटी खाँदा हामी सबैको मुखै रसाई एक किसिमको आनन्द आउँछ । मानव सभ्यतासँगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध छ । विषेशगरी शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादका लागि विश्व समुदाय नै यसमा सफल बनेको छ । खीरमा अनुपम समिश्रणका साथै यस परिकारमा भोजन, पोषणको आकर्षण छ । सेतो दूध र सेतो चामल मिसाई पकाएको भोजनको सम्बन्ध देवताले प्राचीन कालमा गरेको समुन्द्र मन्थनसँग सम्बन्धित भएको मानिन्छ । सो बेलादेखि दूधलाई शुद्धीकरण गर्ने तत्व र पोषण मिसिएको बहुगुणी अमृतका रूपमा खीरलाई लिइन्छ । आयुर्वेदमा खीरलाई प्राचीन भोजनका रूपमा व्याख्या गरिन्छ । खीरलाई पायस तथा कतैकतै तस्मै पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृहरूलाई पायस पकाएर चढाउने गरिन्छ । हिन्दूहरूको सोह्रश्राद्ध तथा अन्य श्राद्धमा पनि यसको महत्व धेरै छ ।

भगवान् श्रीकृष्णले कुनै समयमा विजय प्राप्त गरेको सम्झनामा पनि मन्दिरमा दीनदुःखी तथा अन्य मावनहरूलाई प्रसादका रूपमा खीर बाँड्ने चलन छ । साउनको मध्यबिन्दुमा खीर खाने धेरै प्रचलन छ । मुख्यतः १५ साउनमा र विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यमा खीर खाने धेरै प्रचलन छ । नेपाली समाजमा १५ असारमा दही चिउरा, १५ साउनमा खीर, १५ भदौमा पोलेको हरियो मकै, १५ पुसमा घिउ खट्टे, माघे संक्रान्तिमा घिउ चाकु, तरुल, १५ माघमा मालुवालगायतका चिजबिच बनाई सबै घरपरिवार मिली यस्ता शाकाहारी खाना खाने हाम्रो संस्कृति छ । साथै समयसमयमा यस्ता पदार्थ खाएमा हाम्रो स्वास्थ्य राम्रो भई दीर्घजीवी बनिनेछ र हाम्रो संस्कृतिको पनि संरक्षण र प्रवद्र्धन हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)

epaper

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो