धनगढी । धनगढी उपमहानगरपालिकाले दुई वटा शव चिस्यान यन्त्र थप गरेको छ । शव चिस्यान यन्त्र सेवाको माग बढेपछि उपमहानगरपालिकाले २ वटा शव चिस्यान थप गरेको हो ।
छिमेकी पालिकाबाट माग आउन थालेपछि थपियो २ वटा
उपमहानगरसँग हाल ३ वटा शव चिस्यान यन्त्र रहेका छन् । शव चिस्यान यन्त्र धनगढी उपमहानगरपालिकाभित्र मात्र उपलब्ध गराउने गरेको थियो । तर, अन्य पालिकाबाट पनि शव चिस्यान यन्त्र सेवाको माग आउन थालेपछि २ वटा शव चिस्यान यन्त्र थपेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले गत पुस ९ गतेदेखि शव चिस्यान यन्त्र सेवा सञ्चालनमा ल्याएको थियो । उपमहानगरले यो सेवा निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ । हालसम्म ९७ जनाले शव चिस्यान यन्त्रको सेवा लिएको धनगढी नगर प्रहरी बलले जनाएको छ ।
दुई वटा शव चिस्यान यन्त्र थप गरेसँगै अब धनगढी उपमहानगरपालिकाले छिमेकी स्थानीय तहमा समेत शव चिस्यान सेवा दिने जनाएएको छ । गत पुसबाट उपमहानगरपालिका क्षेत्रमा शव चिस्यान सेवा दिन थालिएकोमा अबदेखि धनगढीसँग सिमाना जोडिएका स्थानीय तहमा समेत शिव चिस्यान सेवा प्रदान गरिने धनगढी नगरप्रमुख गोपाल हमालले बताए ।
उपमहानगरपालिकाले धनगढीसँग सिमाना जोडिएका पालिका बाहेकका स्थानबाट समेत माग आउने गरेकोमा उनीहरुलाई पनि सहयोग पुगाउन सकियोस् भनेर शव चिस्यान यन्त्र थपेको नगरप्रमुख हमालको भनाई छ ।
छिमेकी स्थानीय तहमा समेत सेवा प्रदान गर्न उपमहानगरले बिहिवार थप दुईवटा शव चिस्यान यन्त्र खरिद गरेर ल्याएको छ । दुई यन्त्र थप भएसँगै शव चिस्यान यन्त्रको संख्या पाँच पुगेको छ ।
धनगढी उपमहानगरपालिकासँग सिमाना जोडिएका गोदावारी नगरपालिका, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकामा बसोबास गर्ने नागरिकले समेत शव चिस्यान सेवा पाउने नगरप्रमुख हमालले बताए । नगर प्रमुख हमालले कञ्चनपुरको कृष्णपुर र पुनर्वास नगरपालिकामा पनि शव चिस्यान सेवा दिने बताए ।
विदेशमा छोराछोरी र आफन्त भएको अवस्थामा उनीहरू घर नपुग्दासम्म मृत शरीरलाई सुरक्षित राख्न शव चिस्यान यन्त्रको प्रयोग हुने गरेको छ । अधिकांश परिवारका कुनै न कुनै सदस्य घरबाट टाढा र विदेश भएकाले मृतक आफन्तको अन्तिम संस्कारमा सहभागी हुन समस्या हुने गरेको थियो । नगरवासीको यही समस्या समाधान गर्न धनगढी उपमहानगरपालिकाले शव चिस्यान सेवा सुरु गरेको हो ।
उपमहानगरपालिकाले निःशुल्करुपमा नगर प्रहरी मार्फत शव चिस्यान सेवा दिँदै आएको छ । नगर प्रहरीले शव चिस्यानका लागि फोन आउनासाथ यन्त्र घरमै पुगाइ शवलाई राखेर आउने गरेको छ । त्यसपछि अन्तिम संस्कारका लागि लैजानु पूर्व नगर प्रहरीले शव झिकेर यन्त्र उपमहानगरपालिका ल्याउने व्यवस्था मिलाइएको छ ।






