काठमाडौं । नेपाल, काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्न असफल भएको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा बुधबार साँझ सम्पन्न फाइनल खेलमा नेपाल जितनजिक पुगेर पनि उपाधि भारतलाई सुम्पन बाध्य भएको छ । ५ वर्षअघि सन् २०१९ मा दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग खेलकुदको फाइनलमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो । उही कभर्डहलको कोटमा यस्तै प्रकृतिको सेटमा नेपालले भारतसँग हारेर रजत पदकमा चित्त बुझाएको थियो ।
नेपाल ३–२ को सेटमा पराजित
यस्तै, खेलको झझल्को बुधबार काभा महिला भलिबलमा देखियो । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा भारतले नेपाललाई ३–२ को सेटमा हरायो । पहिलो सेट २५–२३ ले जितेको नेपालले दोस्रो सेट भने १४–२५ ले गुमायो ।
पहिलो सेटमा हार्नै लागेको नेपालले लगातार ४ अंक जोड्दै पहिलो सेट जितेको थियो । भारतले २३ अंक बनाउँदा नेपालको मात्र २१ अंक थियो । दोस्रो सेटमा सुरुदेखि दबाबमा राखेर भारतले सहजै जित निकालेको थियो । कमजोर नेपाली ‘ब्लक’को फाइदा उठाउँदै भारतले १३–७ स्कोरको स्थितिमा खेल अगाडि बढायो ।
यसपछि एकपछि अर्को अंक जोड्दै भारतले १३ बाट २५ पु¥याउँदा नेपालको स्कोरलाई १४ मै रोकिदियो । जसले सेट १–१ को बराबरीमा गयो । त्यसपछि नेपाल तेस्रो सेटमा फेरि लयमा फर्कियो । २५–२२ को अंकमा नेपालले भारतलाई तेस्रो सेटमा हराएर उपाधिका लागि केही आशा जगायो । यस सेटमा नेपालले भारतलाई सुरुदेखि नै कुनै पनि बेला अग्रता बनाउने मौका नै दिएन ।
अब खेल चौथो सेटमा पुग्यो । निकै नै प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा गएर नेपाल २१–२५ ले भारतसामु हार बेहोर्न बाध्य भयो । प्रतिस्पर्धात्मक बनेको चौथो सेट आफ्नो पक्षमा पार्न नेपाललाई असम्भव भने थिएन । चौथो सेटको समाप्तिसम्म आइपुग्दा दुवै टोलीले २–२ सेट जितेका थिए । जसका कारण खेल अब पाँचौं सेटमा धकेलियो । पाँचौं (अन्तिम सेट) निर्णायक थियो ।
तर, अन्तिम सेटमा भारतले सहजै नेपाललाई पाखा लगायो । नेपाल भारतसँग १५–५ को अंकमा निराश भयो । यस सेटमा सुरुदेखि नै नेपालमाथि भारत हावी भयो । प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी भारतकी सलिनी भइन् ।
यसअघि लिग चरणमा नेपालले भारतलाई ३–२ को सेटमा पराजित गरेर इतिहास रचेको थियो । समूह चरणमा इरानसँग हारे पनि सेमिफाइनलमा भने इरानलाई नै हराएर नेपाल फाइनलमा पुगेको हो ।
काभा महिला भलिबलमा इरान तेस्रो भएको छ । बुधबार नै सम्पन्न खेलमा श्रीलंकालाई २५–२२, २८–२६, २५–१७ ले पराजित गर्दै इरान तेस्रो भएको हो ।






