एमालेमा प्रदेश अध्यक्षहरूको पदीय हैसियत घटुवा

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रदेश कमिटीका अध्यक्षहरूको पदीय हैसिय घटुवा गरिएको छ । यसअघि प्रदेश अध्यक्षहरू पार्टीको पोलिटब्युरो सदस्यसरहको हैसियतमा रहेको भए पनि अब उनीहरूको पदीय हैसियत घटुवा गर्दै केन्द्रीय सदस्यसरहको गरिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अन्तरपार्टी निर्देशिका (अपानी)–१० अनुसार प्रदेश अध्यक्षहरूको पदीय हैसियत घटुवा गर्दै केन्द्रीय सदस्यमा सीमित गरिएको हो ।

ओलीको निर्देशन :‘मिसन २०८४ केन्द्रित योजना निर्माण र कार्यान्वयनमा लाग्नू’

गत १७ साउनमा बसेको पार्टी सचिवालय बैठकअनुसार नेताहरूको जिम्मेवारी हेरफेर गरिएको थियो । सोही निर्णयानुसार प्रदेश, जिल्ला क्षेत्रको इन्चार्ज तोकिनुका साथै प्रदेश अध्यक्षहरूलाई केन्द्रीय सदस्यमा घटुवा गरिएको हो । अब पार्टीका प्रदेश अध्यक्षहरूलाई केन्द्रीय सदस्यसरहको मान्यता दिइएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले पार्टीको संरचनानुसार एक तहमाथि लैजान नमिल्ने भएकाले यसअघिको भएको निर्णय पुनर्विचार गर्दै प्रदेश अध्यक्षलाई पदेन केन्द्रीय सदस्यसरह जिम्मेवारी दिइएको बताए ।

एमालेका प्रदेश अध्यक्षसम्बन्धी पछिल्लो निर्णयसँगै कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, मधेस प्रदेशका चन्द्रेश्वर मण्डल, बाग्मती प्रदेशका कैलाश ढुंगेल, गण्डकी प्रदेशका नवराज शर्मा, लुम्बिनी प्रदेशका राधाकृष्ण कँडेल, कर्णाली प्रदेशका गुलाबजंग शाह र सुदूरपश्चिम प्रदेशका कृष्णप्रसाद जैसी पदेन केन्द्रीय सदस्य भएका छन् ।

प्रदेश अध्यक्षहरूको हैसियत घटुवा गरिएको भए पनि एमालेले केन्द्रीय सल्लाहकार परिषद्, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका अध्यक्षहरूको स्थायी कमिटी सदस्यसरहको पदीय हैसियत यथावत राखेको छ । सल्लाहकार परिषद्का अध्यक्षमा अमृतकुमार बोहरा, अनुशासन आयोगको अध्यक्षमा केशवप्रसाद बडाल, लेखा आयोगको अध्यक्षमा प्राडा पुष्पराज कँडेल र निर्वाचन आयोगको अध्यक्षमा डा. विजय सुब्बा रहेका छन् ।

अपानी–१० अनुसार एमालेले पुरनसिंह दयाल (बैतडी), मैना भण्डारी (गुल्मी) र तारा राई (मोरङ)लाई केन्द्रीय कमिटीबाट हटाएको छ । दयाल भूगोलको काममा नखटेको, भण्डारी बिरामी परेको र राई विदेश भएकाले जिम्मेवारीबाट हटाइएको एमाले अध्यक्ष ओलीले जारी गरेको अपानीमा उल्लेख गरिएको छ ।

गत १८ र २८ असार तथा १७ साउनमा बसेको सचिवालय बैठकको निर्णय, केन्द्रीय कमिटी र निकायमा पदाधिकारीसहित सदस्यको मनोनयन, केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरूको नयाँ कार्यविभाजनसम्बन्धी निर्णय जानकारी तथा कार्यान्वयन गर्न अध्यक्ष ओलीले अपानी–१० जारी गरेका हुन् ।

आगामी २०८४ सालमा हुने आमनिर्वाचन केन्द्रित संगठन निर्माण, योजना निर्माण र कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने निर्देशन दिँदै अध्यक्ष ओलीले सोहीअनुसार मातहतका कमिटीहरूले तयारीका साथ अगाडि बढ्नुपर्ने जनाएका छन् ।

‘अब मिसन २०८४ लाई मध्यनजर गर्दै तीनै तहका जनप्रतिनिधिको कामलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्छ, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले पार्टीलाई बलियो र निर्णायक शक्तिका रूपमा स्थापित गर्ने संकल्प गरेको छ,’ अध्यक्ष ओलीले अपानी–१० मा भनेका छन्, ‘पार्टीको समग्र कामलाई पनि सोही उद्देश्यअनुरूप अघि बढाउनुपर्छ ।’ स्थानीय कमिटीका अधिवेशनहरू सम्पन्न भएसँगै अब सिंगो पार्टीको ध्यान निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प पूरा गर्ने दिशामा केन्द्रित हुनुपर्ने अध्यक्ष ओलीले अपानी–१० मा उल्लेख गरेका छन् । ‘म सम्पूर्ण कमरेडहरूलाई आत्मविश्वासका साथ त्यस दिशामा क्रियाशील हुन अनुरोध गर्दछु,’ ओलीले अपानी–१० मा भनेका छन् ।

‘मिसन २०८४’लाई सफल बनाउनेगरी मातहतका कमिटीले केन्द्रीय कमिटीको निर्णय कार्यान्वयन गर्दै सोहीअनुसार आफ्नो कमिटीले समेत वार्षिक कार्ययोजना तयार गरी आ–आफ्नो कार्यक्षेत्रमा कार्यान्वयन गर्नुपर्ने एमाले अध्यक्ष ओलीले अपानीमार्फत निर्देशन गरेका छन् । यसैगरी, एमालेले मातहतका कमिटीलाई एमाले र नेपाली कांग्रेसका बीचमा भएको सातबुँदे सहमतिका ’boutमा समेत जानकारी गराएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 860 times, 1 visits today)

epaper

ताजा समाचार

नर्वेको पोस्टमा फ्रान्सको ४ गोल, डेम्बेको ह्याट्रिक