काठमाडौं । दशैं हिन्दुहरुको मुख्य पर्व हो । दशैंमा नेपाली चलचित्रले राम्रो व्यापार गर्नेहुँदा चलचित्रकर्मीले पनि व्यबसायिक रुपमा दशैंलाई राम्रो आम्दानीको समय मान्ने गर्छन । सोही कारण हरेक दशैंमा दुई वा सो भन्दा बढी नेपाली चलचित्र रिलिज हुने गर्छन ।
यस्तै यो वर्षको दशैंको तिथि नजिकिँदै गर्दै यो पर्वलाई लक्षित गरेर तीन वटा चलचित्र रिलिजको घोषणा गरिएको छ । दीपकराज गिरी र दीपाश्री निरौलाले बिगत झैं यसपटकको दशैंलाई लक्षित गरेर आगामी २४ असोजबाट आफ्नो चलचित्र ‘छक्का पञ्जा ५’ रिलिजको घोषणा गरेका थिए । यो मितिमा चलचित्र रिलिजको लागि दीपकराज गिरीले बेहुली, वर्षा सिवाकोटीले बेहुली भएको उनीहरुलाई केदार घिमिरे (माग्नेबुढा)ले छाता ओढाएको पोष्टर हालै सार्वजनिक गरिएको थियो ।
अब २४ असोज फुलपातीमा नेपाली चलचित्रबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । दीपक र दिपाको छक्का पञ्जा ३ सँग जितु नेपाल र नीति शाहको चलचित्र ज्वाईं साहेब तथा बिराज भट्टको चलचित्र बाह्र गाउँ पनि रिलिज हुने भएको छ ।
छक्का पञ्जा ३ सम्म दिपक–दीपाको क्याम्पमा रहेर शिर्ष भूमिका निभाएका जितु नेपाल छक्का पञ्जा ४बाट बाहिरिए । यतिबेला उनी छक्का पञ्जा ५का दीपकराज सँग आफ्नो चलचित्र ज्वाईं साहेबमार्फत जुध्दै छन् । चलचित्र ज्वाईं साहेबलाई पनि २४ असोज फुलपातिमा रिलिज गरिने घोषणा मँगलबारमात्र गरिएको छ । जितु बेहुला बनेर डोलीमा बसेको सो डोलीलाई हिमेर र बुद्धी तमाङले बोकेको तथा सँगै बेहुली बनेर नीति शाह हिँडेको ज्वाईं साहेबको पोष्टर मँगरबार रिलिज गरिएको छ । यो चलचित्रको पोष्टर पनि छक्का पञ्जा ५ को जस्तै विवाहको अवधारणामा छ ।
यतिबेला कार्साङको छायाँकनमा सिन्धुपालचोक रहेका जितु नेपाललाई आफ्नो चलचित्र छक्का पञ्जा ५सँग जुध्नु निर्माता निर्देशकको निर्णय भएको बताएका छन् । यसमा आफ्नो कुनै दवाव नरहेको पनि उनको कथन छ । यो चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् ।
छक्का पञ्जा ५सँग ज्वाईं साहेब र बाह्र गाउँ जुध्नुलाई निर्देशक दीपाश्री निरौलाले सामान्य प्रकृया भनेकी छिन्,‘जितुजीको चलचित्र र बिराजजीको चलचित्रलाई पनि दशैंमा स्वागत छ । खुला बजारमा अरु चलचित्र प्रतिस्पर्धी भएर आउनुलाई हामीले स्वभाविक मानेका छौं ।’ जुन राम्रो छ, दर्शकले त्यसैलाई हेर्ने दीपाश्रीले बताईन् ।
निर्देशक बिराज भट्टले पनि आफ्नो चलचित्र बाह्र गाउँ फुलपातीमै रिलिज गर्ने राजधानीलाई बताए । आफ्नो चलचित्रको हाल चेन्नईमा सम्पादन, भिएफएक्स, एनिमेशनको काम भईरहेको र यसै साता टिजर सार्वजनिक गरिने उनले जनाए । यो चलचित्रमा बिराजसँगै उनका छोरा समिर भट्ट, न्यान्सी खड्का, शनिसा शाह, मुरलीधर लगायतको मुख्य भूमिका छ ।
यो चलचित्र नेपाली, हिन्दीसहित दक्षित भारतका विभिन्न भाषामा पनि निर्माण भईरहेको छ । दशैं नेपालीहरुको महान पर्व भएकाले फुलपातीमा आफुले यो चलचित्र रिलिज गर्न लागेको पनि उनले बताए । छक्का पञ्जा ५ भन्दा आफ्नो फरक जनराको चलचित्र भएकाले यसलाई दर्शकले हेर्ने उनले जिकिर गरे ।