डडेल्धुरा । जिल्लाको करिब आधा जनसंख्या भित्रिमधेश क्षेत्र जोगबुडा परशुराम नगरपालिका र आलिताल गाउँमा रहेको छ । आलितालको वडा नं. १, २ महाभारत पर्वतसँग जोडिएको भए पनि अरु सबै भूभाग चुरे पर्वतमा पर्छ ।
चुरे पर्वतका दुन बेसी क्षेत्र परशुराम र आलितालका खोलामा पुल नहुदा स्थानीयले सास्ती खेप्दै अईरहेका छन । वर्षातका समयमा विद्यालय जाने बालबालिकादेखि बिरामी, बृद्धाबृद्धाहरुले ज्यानको जोखिम मालेरै खोला तर्नु पर्ने बाध्यता यहाँको स्थानीयहरुको छ ।
आलिताल भएर बग्ने रंगुन र परशुराम भएर बग्ने पन्तुरा खोला यस क्षेत्रका सबै भन्दा ठूला र लामा खोला हुन । दर्जनौ खहरे खोला यी खोलामा मिसिदा वर्षातका बेला लाखौ क्युसेक पानी बहने गरेको छ । रंगुन खोला परशुराम नगरपालिकाको वडा नं. १२, ४ को सिमानामा पन्तुरा खोलामा मिसिन्छ । यी दुई खोलामा आएको बाढीले २०६२ सालमा सिमलखेतका सयौ परिवार विस्थापित भएका थिए । केही वर्ष यता तटबन्ध निर्माणको काम थालिएपछि सिमलखेतका स्थानीय पुनः स्थापित हुदै आइरेका छन ।
परशुराम नगरपालिका ५ को परिगाउँमा पुगेर यी खोला महाकाली नदीमा मिसिदा सम्म जमिन, जंगल, खेतबारी, पशुचौपायालगायत मानव क्षती पुगाई रहेका हुन्छन । पन्तुरा खोलामा पुल नहुदा परशुराम नगरपालिका ६, ७ का हजारौ स्थानीयले ज्यानको बाजी लगाउदै खोला तर्नुपर्ने बाध्यता छ । परशुराम नगरपालिकाको मुकाम वडा नं. १२ को लालढुंगा बजार हो ।

अस्पताल, ईलाक प्रशासन, मालपोत, नापीलगायतका कार्यालयहरु लालढुंगा बजारमै छन । आतिआवश्यक काम परेमा, बालबालिका एवं कोही पनि विरामी भए अस्पताल ल्याउन लैजान पन्तुरा खोलामा ज्यानको बाजी राखेर ओहोर दोहोर गर्नुपर्ने बाध्यता रहेको वडा नं. ६ कुणागाउँका स्थानीय रमेश पनेरुले बताए । उनका अनुसार यो वर्ष कुनै अप्रिय घटना नभए पनि पन्तुरा खोलामा पुल नहुदा वर्षेनी स्थानीयले ज्यान गुमाउनुपर्ने बाध्यता छ ।
पन्तुराखोलमा पुल निर्माणका लागि बारम्बार पहल गरिए पनि सुनुवाई हुन नसकेको गुनासो वडा नं. ६ का अध्यक्ष खगेन्द्र सिंहको छ । पन्तुरा खोलामा पुल निर्माणको माग राख्दै उनले नेता बहिस्कारको पोष्ट सामाजिक संजालमा राख्दै आईरहेका छन ।
आलिताल गाउँपालिका मुकाम गोदाम बजार नजिकै घुम्तिको रंगुन खोलामा पुल नहुदा दैनिक सयौ विद्यार्थी खोला तर्न बाध्य छन । वडा नं. ३ का रक्सोन, डेडल्न्या, झोता, चौर, बण्डाली, मामुर, चनाल, पोड्यामलगायतका दर्जनौ गाउँका बालबालिका वडा नं. ८ को डोला गाउँमा रहेको दुर्गा मावि पढ्न आउछन । तर रंगुन खोलामा पुल नहुदा जोखिम मोलेर खोला तर्नु पर्ने बाध्यता विद्यार्थीहरुको रहेको वडा अध्यक्ष धनबहादुर देउवाले बताए । रंगुन खोलामा पुल नहुदा विद्यार्थी मात्रै नभई उक्त क्षेत्रमा बसोबास गर्ने तीन हजार स्थानीय प्रभावित हुने गरेको उनले बताए ।
खोला पारी वडा नं. ३ मा पर्यटकिय स्थलका रुपमा विकास भईरहेको आलिताल छ । यो चुरे र महाभारतको सिमनामा पर्ने सबै भन्दा ठूलो तालसेमत हो । रंगुनखोलामा माटेरेबल पुल निर्माणका लागि सर्वे भईसकेपनि बजेट नपरेको उनले बताए ।
यस्तै आलिताल गाउँपालिका–७ स्थित भालुखोलामा पुल नहुँदा विद्यार्थीहरूले ज्यानै जोखिममा राखेर विद्यालय आउजाउ गर्न बाध्य छन । परशुराम नगरपालिका–११ र आलिताल–७ का विद्यार्थीहरू खिन्नेभाडीस्थित महादेव माविमा अध्ययन गर्न आउँछन ।
खोलामा पुल छैन । पुल नहुदा विद्यार्थी खोला तर्न बाध्य छन । खोलामा बाढी आउँदा विद्यार्थी विद्यालय आउनबाट वञ्चित हुने गरेको शिक्षक रमेश बोहराले बताए । उनका अनुसार खोला तरेर भट्टेनी, उत्तरखेड, जबने गाडा, सिमलबन्ड, कराले, नाराङ्गा, कटौजा र सुवाखानका विद्यार्थी विद्यालय आउँने गेका छन ।
पुल निर्माणका लागि पटकपटक पालिका सरकार र नेताहरूलाई ध्यानाकर्षण गर्दा पनि कुनै सुनुवाइ नभएको शिक्षक बोहराको गुनासो छ । पुल नहुँदा विद्यार्थी बर्खायामको समय धेरै दिनसम्म लगातार विद्यालय जान नपाएको स्थानीयको गुनासो छ ।






