संकटमा सार्वजनिक उत्तरदायित्व

नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता, बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता, नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता र नेपालको कुनै पनि भागमा पेसा, रोजगार गर्ने र उद्योग व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता प्रदान गरेको छ ।

संविधानले कुनै पनि नागरिकलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित नगरिने कुराको प्रत्याभूति गरेको छ । किन्तु, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कार्य र सार्वजनिक शान्ति र व्यवस्थामा खलल पर्ने कार्यमा मनासिव प्रतिबन्ध लगाउने गरी कानुन बनाउन राज्य सक्षम छ । सरकारलाई निरंकुुश हुन नदिन सार्वभौमसत्ता सम्पन्न जनता सधैं सजग र सतर्क रहनुपर्दछ । सरकारलाई लोकतन्त्रप्रति उत्तरदायी हुन सधैं निगरानीमा राख्ने जनता स्वयं पनि राष्ट्रप्रति निष्ठावान् रहनु आवश्यक छ । नागरिक स्वतन्त्रता सधैं पूर्ण हुन्छ तर निरपेक्ष हुँदैन ।

आफंैले बनाएको तन्त्र वा व्यवस्थामा रहनु स्वतन्त्रता हो भने अन्य कसैले बनाएको तन्त्रमा रहनु परतन्त्रता हो । स्वतन्त्रता स्वच्छन्दता होइन । यो अरू कसैको स्वतन्त्रतामा व्यवधान वा हानि नहुनेगरी आफ्नो चाहना वा इच्छा अनुरूपको निर्णय गर्ने अधिकार हो । स्वतन्त्रताको परिणाम नै सार्वजनिक उत्तरदायित्व हो । स्वतन्त्रता सधैं सापेक्ष हुन्छ, यसको सीमा हुन्छ । कुनै व्यक्ति स्वतन्त्र हुनु भनेको अर्को व्यक्ति र व्यक्तिहरूको स्वतन्त्रताको समेत सिर्जना हुनु हो । आफ्नो अधिकारको प्रयोग गर्दा अन्य व्यक्तिको अधिकारको रक्षा र सम्मान गर्नु प्रत्येक नागरिकको कर्तव्य हो । अब्राहम लिंकनको शब्दमा ‘जसले अरूको स्वतन्त्रतालाई अस्वीकार गर्दछ, ऊ स्वयं पनि स्वतन्त्र हुने अधिकार राख्दैन ।’

अहिले सारा संसार कोरोना भाइरसको संक्रमणको महामारीमा फसेको छ । आज वैयक्तिक स्वतन्त्रता र उदारवादलाई राजकीय प्रणालीको मूल मर्म मान्ने मुलुकहरूलाई आफूले अंगीकार गरेको लोकतान्त्रिक व्यवस्थालाई थामेर राखिरहन हम्मे पर्ने स्थिति देखापरेको छ । सरकारको आदेश अक्षरशः पालना गर्ने जनता भएका देशमा यो महामारीको सामना गर्न सहज भयो । किन्तु, व्यक्तिगत स्वतन्त्रतालाई असीमित महत्व दिने गरेका देशका सरकारलाई आफ्ना नागरिकलाई सार्वजनिक दायित्वप्रति सजग र जिम्मेवार बनाउन सकस परिरहेको छ । यो संकटको समय लोकतन्त्र र उदारवादका लागि गम्भीर चुनौतीका रूपमा खडा भएको छ ।

कोरोनाको कहरबाट त्राण पाउने मुख्य उपाय सबै मानिस सामाजिक अलगाव वा दूरीमा रहनु नै हो । यस कठिन घडीमा सबै नागरिकले संविधान प्रदत्त बिनाहातहतियार शान्तिपूर्ण रूपमा भेला हुने र निर्बाध आवतजावत गर्ने स्वतन्त्रतालाई केही समयका लागि स्थगित राखी जहाँको त्यहीँ रहन र सामाजिक दूरी कायम गर्न सरकारले सबै जनतासँग आह्वान गरेको छ । यस मुस्किल घडीमा सबैले आफ्नो अभिव्यक्तिलाई संयमित राख्नु जरुरी छ । अहिले जनतामा भ्रम र त्रास पैदा हुने खालका अनर्गल कुरालाई प्रकाशन या प्रसारण गर्नु अपराधसरह हुन्छ । तथ्यगत र वास्तविकतामा आधारित सूचना सम्प्रेषण गर्नु सबैको कर्तव्य हो ।

राष्ट्रिय कष्टको विकट समयमा सरकार पनि निकै जिम्मेवार र उत्तरदायित्वपूर्ण हुनु आवश्यक छ

महामारीको यस दुष्कर समयमा पनि सबैलाई स्वतन्त्रता चाहिन्छ नै । तर, व्यक्तिगत स्वतन्त्रताले सिर्जना गरेको सार्वजनिक उत्तरदायित्वप्रति केही व्यक्ति प्रतिबद्ध नभइदिँदा रोगको संक्रमण झनै फैलने सम्भावना बढेको छ । अहिले सरकारले सबै नागरिकलाई सामाजिक दूरीमा रहन र घरबाहिर ननिस्कन विनयपूर्वक शालीन अनुरोध गरेको छ । सरकारको यो विनम्र ‘अपिल’ सार्वजनिक हितमा आएको हो । प्रमुख प्रतिपक्षी दल पनि यस मामिलामा सरकारको साथ र समर्थनमा रहेको छ । तर, केही व्यक्ति स्थितिको गाम्भीर्यलाई बेवास्ता गर्नमा सरिक भएको पाइएको छ । यो अत्यन्तै दुर्भाग्यपूर्ण र दुःखदायी घटना हो । केही व्यक्तिको अनुशासनहीनताको मूल्य सम्पूर्ण जनताले चुकाउन सक्दैनन् । केही व्यक्तिको अमर्यादित कर्मको कारण सरकार कडा रूपमा प्रस्तुत हुन बाध्य भयो भने नेपाली जनता लोकतन्त्रप्रति समर्पित नरहेको प्रमाणित हुनेछ ।

सामाजिक र नैतिक आचरणको पालना गर्नु सबै नागरिकको पुनीत कर्तव्य हो । हामी लोकतन्त्रमा छौं । हामीसँग लोकतान्त्रिक संविधान छ । हामीले नै चुनेर पठाएका प्रतिनिधि सरकारमा छन् । लोकतन्त्रमा सरकारका हरेक पाइलाको निगरानी गर्ने अधिकार हाम्रै हो । तर, हामी जनता यस्तो दुरुह र त्रासद समयमा संयमित, सहनशील र धैर्यवान् हुन आवश्यक छ । सरकार हाम्रै हो । यसका प्रत्येक गतिविधिको हिसाब माग्ने अधिकार हामीमै छ । तर, अहिलेको आवश्यकता भनेको कोरोनारूपी दुःसाध्य महामारीबाट पार पाउनु हो । यस राष्ट्रिय कष्टको विकट समयमा सरकार पनि निकै जिम्मेवार र उत्तरदायित्वपूर्ण हुनु आवश्यक छ । यस्तो विपत्तिमा कसैले धमिलो पानीमा माछा मार्ने प्रयत्न गर्छ भने त्यो ‘राष्ट्रिय पापकर्म’ हो ।

आज नेपाल आमाका हजारौं छोराछोरी भोकभोकै पैदल यात्रा गरिरहेका छन् । जीवनको खोजीमा घर छाडेर टाढा पुगेका उनीहरू जीवन जोखिममा राखेर दुःखद यात्रा गर्दै छन् । मानवीय व्यवहारसहित उनीहरूको जीवनरक्षा गर्नु सरकारको कर्तव्य हो । धेरै नेपाली विदेशमा अड्केर बसेका छन् । उनीहरूको सुरक्षित स्वदेश आगमनको प्रबन्ध गर्नु सरकारको पुनीत दायित्व हो ।

अहिले केही समय दुःख र कष्ट सहेरै पनि समस्त जनता सामाजिक दूरीमा रहनु आवश्यक छ । हरेक खराब घटनाका केही न केही असल परिणाम पनि हुन्छन् । यस घडीमा गरिने एकान्तवासलाई सदुपयोग गर्न सकियो भने धेरै रचनात्मक परिणाम प्राप्त हुनेछन् । जीवनलाई चिन्ने, आफूले आफंैलाई खोज्ने, जीवन जिउने कला सिक्ने, सारा स्वार्थ र ‘तेरो मेरो’को मूल्यहीनतालाई पहिचान गर्ने अनि आफन्त गुमाएर एक्लो जीवन गुजार्न बाध्य मानिसको जिन्दगी कस्तो हुँदो रहेछ भन्ने ज्ञान र महसुस हुने यस्तै समयमा हो ।

यो स्वच्छन्द विचरण गर्दाको र आफूलाई स्वयंको अधीनमा राख्दाको तुलनात्मक अनुभव हासिल हुने समय हो । यो तमाम आफन्तलाई पराईलाई जस्तो टाढा राखेर बाँच्दाको अनुभव सँगाल्ने समय पनि हो । एकएक गरी प्रत्येक नागरिकले हरेक नागरिकलाई आरोग्य प्रदान गर्ने र जीवनदान दिने समय पनि यही हो । नकारात्मकताले जन्माएको यस कारुणिक समयमा सामाजिक दूरी कायम मात्र गर्दा पनि महान् लोककल्याणकारी परिणाम जन्माउन सकिने महान् अवसर पनि हो यो । यस्तो पवित्र कार्य गर्नबाट आफंैलाई वञ्चित गरेर आफ्नो र अरू सबैको दुर्भाग्य निम्त्याउने दुष्कर्म हामी कसैले नगरौं ।

प्राध्यापक स्टिफेन एम वाल्टको भनाइमा कोरोना महामारीले विश्वशक्ति पश्चिमबाट पूर्व सर्ने क्रम तीव्र हुनेछ

यो मानवजातिकै लागि ठूलो विपत्तिको समय हो । अहिले प्रत्येक व्यक्तिमा आफू र अर्को व्यक्तिको जीवन बचाउने जिम्मेवारी छ । यस बखतमा सबै व्यापारी, उद्योगपति, राजनीतिक कार्यकर्ता, कर्मचारी, बुद्धिजीवी र नागरिकले आआफ्नो ठाउँबाट समाज र राष्ट्रलाई योगदान गर्नु जरुरी छ । यही समयमा हो प्रदेश र स्थानीय सरकारले समेत आफ्नो र संघीय पद्धतिको औचित्य प्रमाणित गर्ने । तीनै तहका सरकारको महत्वपूर्ण राजनीतिक नेतृत्वका पदमा आसीन व्यक्तिले आफ्नो वास्तविक क्षेमता देखाउने बेला पनि यही हो ।

सरकारको उच्च पदमा कार्यरत व्यक्तिहरूले यो मुस्किल घडीमा बोलीमा संयम राख्नु आवश्यक छ । यो समय अहंकार, दम्भ र आत्मरतिको होइन । अत्यन्त कठिन परिस्थितिमा हरपल आफ्नो कर्तव्यमा सरिक स्वास्थ्यकर्मी, प्रहरी र प्राविधिक कर्मचारीको मनोबल उच्च राख्नु सरकारको कर्तव्य हो । सर्वसाधारण जनता जति अनुशासित र मर्यादित हुन्छन् त्यति नै यी राष्ट्रसेवकको कर्तव्यपालन सहज हुन्छ । अहिले सरकार तीव्र गतिमा अघि बढ्नु आवश्यक छ तर कुनै पनि पाइलालाई लड्खडाउने सुविधा छैन ।

कोरोनाको कहरले कति समय लिने हो, कसैलाई थाहा छैन । किन्तु, एकदिन यो बिदा हुनेछ । आगामी समय समस्त मानवजातिको लागि ठूलो परीक्षाको घडी हुनेछ । यसको परिणामस्वरूप धेरै दुःखदायी र केही सकारात्मक अवस्था सिर्जना हुनेछ । पश्चिमी दुनियाँका धेरै सरकारहरू जनताको कठघरामा उभिनुपर्नेछ । कतिपय देशको शासकीय पद्धतिमा परिवर्तन हुने सम्भावना छ । साह्रै स्वच्छन्दतावादमा रमाउने पश्चिमी संसारका मानिसहरू एकपटक पछाडि फर्केर आत्मनिरीक्षण र आत्ममूल्यांकन गर्न बाध्य हुनेछन् । शोकग्रस्त र रुष्ट बेरोजगार नागरिकको व्यवस्थापन गर्न कुनै देशलाई पनि सहज हुनेछैन ।

अन्तमा, हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक स्टिफेन एम वाल्टको भनाइमा कोरोना महामारीले विश्वशक्ति पश्चिमबाट पूर्व सर्नेक्रम तीव्र हुनेछ । यसले होसियारी अपनाउन विलम्ब गर्ने पश्चिमा सरकारको गरिमालाई मलिन पारेको छ । भविष्यमा अति विश्वव्यापीकरण पछि हट्न बाध्य हुने सम्भावना छ । धेरै सरकार आजको कठिन समयको संकटकालीन अधिकार त्याग गर्ने मनस्थितिमा हुनेछैनन् । राज्य बलियो हुने सम्भावना छ । भविष्यका जोखिमलाई न्यूनीकरण गर्नेतर्फ ध्यान जानेछ । समग्रमा संसार अहिलेभन्दा थोरै खुला, थोरै समृद्ध र थोरै स्वतन्त्र हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आयोगले तोकेको समय सकिएको तीन दिनपछि उमेदवारी दर्ता