गट्ठाघर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सनाखत

काठमाडौं । भक्तपुर गट्ठाघरमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्ति ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका ६५ वर्षीय उत्तम कोइराला भएको पुष्टि भएको छ ।

भक्तपुर प्रहरी परिसरका डीएसपी राजन कार्कीका अनुसार आज शुक्रबार बिहान मात्र मृतकको सनाखत भएको हो । ६५ वर्षीय कोइराला काठमाडौंको कपन बस्दै आएका थिए ।

उनी सवार बा४९प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार ना६ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । शरीरका अधिकांश अंग क्षतविक्षत भएकाले उनको सनाखतमा ढिलाइ भएको थियो ।

मृतकको साथमा उत्तम कोइराला, ओखलढुंगा रातमाटे–५ लेखिएको सवारीचालक अनुमतिपत्र फेला परेको थियो । तर, मृतक कोइराला नै हुन् भन्ने पुष्टि गर्न पनि प्रहरीलाई लामो समय लागेको थियो । कतिपयले अर्काको लाइसेन्स बोकेर सवारीसाधन चलाउने भएकाले पनि मृतक कोइराला नै हुन् वा होइनन् भनेर यकिन गर्न प्रहरीले केही समय लिएको थियो ।

शुक्रबार बिहान आफन्त आएर सनाखत गरेपछि मृतक कोइराला नै भएको पुष्टि भएको हो । यद्यपि, बिहीबार साँझ नै सवारीचालक अनुमतिपत्र सार्वजनिक भएकाले उनै कोइरालाको निधन भएको आफन्तमाझ चर्चा चलेको थियो ।

त्यसो त, दोलखाको मेलुङ गाउँपालिका–४ का करिब ३० वर्षीय शम्भु नेपालीले दुर्घटनाको केही समयपछि नाम नै किटेर मृतक आफ्नी बहिनी भएको बताएपछि दुर्घटनामा मृत्यु भएका व्यक्ति महिला भएको भनेर प्रचार भएको थियो । तर, मृतक भनिएकी महिला नै आफ्नो परिचयपत्रसहित प्रहरीसमक्ष पुगेपछि नेपालीले झुट बोलेको पुष्टि भएको थियो । ‘उनले मृतकलाई आफ्नी बहिनी भनेर विवरण टिपाएका थिए, तर त्यो होइन रहेछ,’ जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी कार्कीले भने ।

मृतक भनिएकी महिला नै प्रहरीसमक्ष पुगेपछि प्रहरीले शम्भु नेपालीलाई पक्राउ गरी ठिमी प्रहरीको हिरासतमा राखेको छ । उनले मृतकलाई किन आफ्नी बहिनी भने भन्ने पनि खुलेको छैन ।

उनले यसअघि पनि पटकपटक आफ्नी बहिनीको मृत्यु भएको भनेर गलत हल्ला फैलाउने गरेको पाइएको कार्कीले बताए । ‘उनले किन त्यसो भनिरहेका छन्, अहिले केही भन्नसक्ने अवस्था छैन, हामी थप अनुसन्धानकै क्रममा छौं,’ कार्कीले भने ।

त्यसो त ज्यान गुमाउने स्कुटर चालक महिला हो कि पुरुष भनेर छुट्याउन नै प्रहरीलाई झन्डै ५ घण्टा लागेको थियो । बिहीबार दिउँसो १ बजेर ४० मिनेट जाँदा भएको सो घटनामा मृतक महिला भएको विवरण प्रहरीले सार्वजनिक गरेको थियो । तर, साँझ ६ बजेपछि मात्रै दुर्घटनामा ज्यान गुमाउने व्यक्ति महिला नभएर पुरुष भएको निष्कर्षमा प्रहरी पुगेको थियो ।

यस विषयमा डीएसपी कार्कीले भने, ‘शव क्षतविक्षत अवस्थामा थियो, चिन्नसक्ने अवस्थामा थिएन, त्यहीबेला एक जना व्यक्ति आएर मृतक आफ्नी बहिनी भएको बताएपछि हामीले मृतक महिला भएको विवरण सार्वजनिक गरेका थियौं ।’ मृतकको एउटा खुट्टाबाहेक शरीरको कुनै पनि भाग सग्लो नहुँदा पनि सनाखतमा समस्या भएको उनको भनाइ थियो ।

आफूहरू झुक्किनुको कारण खुलाउँदै डीएसपी कार्कीले भने, ‘खुट्टा हेर्दा महिलाको जस्तो देखिन्थ्यो, चप्पल पनि महिला–पुरुष दुवैले लगाउन मिल्नेखालको थियो, सुरुवाल पनि महिलाले लगाउने टाइट खालको थियो, त्यही भएर पनि हामी झुक्किन पुग्यौं ।’

उनले दुर्घटना हुनेबित्तिकै त्यहाँ लफडा सुरु भएकाले राम्ररी शव हेर्न नपाएकाले पनि समस्या भएको उनको भनाइ थियो । ‘लफडा भएपछि हामीले शवतिर ध्यान दिन पनि पाएनौं, शव राम्ररी हेर्नसक्ने अवस्था पनि थिएन,’ डीएसपी कार्कीले भने, ‘अनुसन्धानको टोलीले शवलाई ओल्टाउने, पल्टाउने गरेपछि मात्रै मृतक महिला नभएर पुरुष भएको निष्कर्षमा हामी पुगेका हौं ।’

दुर्घटनास्थलको अवस्था शान्त भएपछि मात्रै प्रहरीको अनुसन्धान टोली घटनास्थल पुगेको थियो । ‘अनुसन्धान टोली नआई आफूहरूले शवलाई ओल्टाउने–पल्टाउने कुरा पनि हुँदैनथ्यो,’ डीएसपी कार्कीले भने ।

स्थिति साम्य हुँदै गएपछि घटनास्थलको सीसीटिभी फुटेज हेरेपछि मात्रै प्रहरी मृतक पुरुष भएको निष्कर्षमा पुगेको थियो । उनले ट्राफिक प्रहरीले चेकिङ गरिरहेको स्कुटरलाई ट्रकले ठक्कर दिएको भन्ने कुरा पनि गलत भएको बताए ।

‘घटनास्थलभन्दा झन्डै सय मिटरअगाडि मात्रै ट्राफिक प्रहरीको चेकिङ थियो, पाँच जना ट्राफिक ड्युटीमा थिए,’ डीएसपी कार्कीले भने, ‘ट्राफिकले स्कुटर र ट्रक दुवै सवारीलाई रोकेकै थिएन ।’

घटनास्थलभन्दा निकै अगाडि मात्रै ट्राफिक थिए । ट्रकलाई स्कुटरले ओभरटेक गर्दा स्कुटरबायाँ साइडबाट गएको ट्रकको पछाडिको चक्कामा स्कुटर परेपछि घटना भएको डीएसपी कार्कीले बताए । ट्राफिक चेकिङका क्रममा दुर्घटना भएको हल्ला फैलिएपछि ट्राफिक प्रहरीलाई ज्यान जोगाउनै मुस्किल परेको थियो । उनीहरूले भागेर ज्यान जोगाएका थिए ।

सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन भएपछि घटना नियन्त्रणमा आएको थियो । ट्रकका चालक सर्लाही मलंगवा नगरपालिका–२ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई भने प्रहरीले राति नै पक्राउ गरिसकेको छ । दुर्घटनापछि उनी फरार रहेका थिए । उता, गट्ठाघर दुर्घटना छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 434 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इन्द्रजात्रा समारोहमा बालेनको तस्वीर अंकित टिसर्ट लगाएका युवायुवती, प्रहरीले बाहिर निकाल्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मधेसवादी दल मधेसमै कमजोर