सप्तरी । मुलुक कै प्रसिद्ध धार्मिकस्थलका रुपमा रहेको सप्तरीको छिन्नमस्तासम्म पुग्ने बाटो २ वर्षदेखि भत्केर लथालिङ्ग छ । मरम्मत तथा पुर्ननिर्माणप्रति देखिएको उदासिनताका कारण यात्रुहरुलाई सास्ती हुने गरेको छ भने उक्त सडकखण्डमा दिनहूँ जसो दुर्घटना हुदै आएका छन ।
भारतीय दर्शनार्थीहरु समेत ठूलो संख्यामा आउने छिन्नमस्ता भगवती मन्दिरमा सदरमुकाम राजविराजबाट जान पनि बाटोको कारणले सास्ती खेप्नु परेको राजविराज ६ निवासी उमाकान्त साह बताउँछन ।
१० किलो मिटर यात्राको भाडा ७० रुपैया
भारतीय सीमावर्ती क्षेत्र नेउरबाट २ किलोमिटर उत्तर तर्फ अवस्थित छिन्नमस्ता भगवती मन्दिर राजविराजबाट १० किलो मिटर दक्षिणमा पर्दछ । बाटो ठिक रहदा ३० रुपैया भाडा लाग्ने ठाउँमा अहिले ७० रुपैया तिरेर सास्ती खेप्नु परिरहेको राजविराज ७ का राजु देवले बताए । ठाउँ ठाउँमा खाल्डो हुनुका साथै पानी जमेर पोखरी बनेपछी थप समस्या भएको यात्रुहरुको गुनासो छ । अर्काे तर्फ सवारी साधनबाट यात्रु ओराल्दै चढाउदै लैजानु परेको टेम्पो व्यवसायी सत्यनारायण चौधरी बताउँछन ।
कुनै बेला पनि दुर्घटना हुन सक्ने भएका कारण जोखिम मोलेर सवारी साधन चलाउनु परेको उनको कथन छ । पहिला वस सेवा संचालन रहेको भएपनि बाटो विग्रेका कारण अहिले वस संचालन बन्द रहेको छ ।
अटोरिक्सा र सिटी रिक्साका भरमा यात्रा गर्दा पनि अत्यन्त सकस हुने गरेको दर्शनार्थीहरु बताउँछन । बाटो बिग्रेका कारण १० किलोमिटर यात्रा तय गर्न १ घण्टा भन्दा बढी लाग्ने गरेको उनीहरुको भनाई छ ।
“वर्षाै देखी आवत जावतमा सास्ती भोग्यौ, २ वर्ष अघि सडकको काम सूरु भएपछि सहज होला भनेर खुशी भयौ, छिन्नमस्ता गाउँपालिका ६ का विनोद यादवले भने– तर २ वर्ष वितिसक्दा सडक बन्न त परै जाओस खाल्डा खुल्डी समेत मरम्मत गरीएको छैन ।”
“सडक विभागले टेण्डर खोलेर ठेक्का दिएको पनि २ वर्ष बढी भई सकेको छ , तर ठेकेदारको लापरवाहीले पनि समस्या भएको जनप्रतिनीधीहरु बताउँछन ।
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी स हितको एक टोली सडक मरम्मतको माग गर्दै लाहन स्थित सडक डिभिजन कार्यालयमा गत असार ३० गते धर्ना समेत वसिसकेका छन । दशै नजिकीदै गएको बेला छिन्नमस्ता दर्शन आउने दर्शनार्थीहरुले सास्ती भोग्नु न परोस भनेर छिट्टै सडक मरम्मतका लागी केन्द्र समक्ष ध्यानाकर्षण गराउँदा समेत अहिले सम्म संतोषजनक काम अघि नबढेको उनले गुनासो गरेका छन ।
सम्बन्धित निकायको कमजोरीका कारण सडक यस्तो अवस्थामा पुगेको आरोप लगाउदै स्थानीयले अबिलम्ब उक्त सडक खण्डको स्तरोन्नती गर्न मागँ गरेका छन् ।