काठमाडौं । बचतकर्ताको करोडौं रुपैयाँ अपचलन गरेको अभियोगमा सोह्रखुट्टेका रुरल डेभलपमेन्ट ऋण तथा बचत सहकारीका अध्यक्ष आङबाबु राई पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको निर्देशनमा सोह्रखुट्टे प्रहरी वृतले राईलाई गत साता पक्राउ गरेर अनुसन्धान थालेको छ ।
काठमाडौं महानगरपालिकाले पठाएको प्रतिवेदन र बचतकर्ताको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । अध्यक्ष आङबाबु राईसहित सचिव विनोदमणि राई र कोषाध्यक्ष अप्सरा श्रेष्ठको नाममा अदालतबाट पक्राउ पुर्जी जारी भए पनि दुई जना फरार रहेको सोह्रखुट्टे प्रहरीले जानकारी दिएको छ ।
तीन जना पदाधिकारीले बचत गरेको रकम ठगी गरेको र फिर्ता नगरी भागेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका थिए । पक्राउ परेका अध्यक्ष राईलाई पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ भने बाँकी दुई जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । कार्यसमितिको निर्णयबिना तीन जनाले आफूखुसी सहकारीको रकम दुरुपयोग गरेको र बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै यसअघि काठमाडौं महानगरपालिकाको सहकारी विभागमा उजुरी परेको थियो ।
महानगरले सो समस्या मिलाउन नसकेपछि सो विषय प्रहरीमा पुगेको हो । काठमाडांै महानगरपालिकाको छानबिन गरी प्रतिवेदनमा १३ वटा कैफियत औंल्याउँदै थप अनुसन्धान गर्न भनेको छ । महानगरपालिकाले दिएको प्रतिवेदनलाई आधार मानेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सहकारीको कर्जा रकम ऋणीसँग असुलउपर गरी लिलामबाट आएको जग्गा सहकारीको नाममा नराखी भीमढुंगा–३ स्थित कित्ता नम्बर ६१ को क्षेत्रफल १–११–२–० रोपनी जग्गा अध्यक्ष र सचिवको योजनामा कोषाध्यक्ष अप्सरा श्रेष्ठको नाममा पास गरेकोमा कैफियत देखाइएको छ । सो विषयमा अनुसन्धान हुनुपर्ने महानगरपालिकाले भनेको छ ।
अध्यक्षको अर्को कैफियतमा आफैं प्रबन्धक बनेर २४ लाख ६७ हजार ४ सय १६ रुपैयाँ र अध्यक्षको भत्ताबापत १० लाख ३ हजार ४ सय ३५ रुपैयाँ भुक्तानी लिएको प्रतिवेदन प्रहरीमा पेस भएको छ । सो सम्बन्धमा सत्यतथ्य के हो भनी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले रुरल सहकारीसँग सम्बन्धित अन्य व्यक्ति भने सम्पर्कमा नआएको जनाएको छ । हालसम्म दुई जनाले प्रहरीमा उजुरी दिएको जनाएको छ ।