बर्खामा निकै बाक्लो खेती हुने तितेकरेलाको अचार प्रचलित छ, नेपाली समाजमा । तितेकरेलाको तरकारी पनि खाइन्छ । तितो स्वाद हुनाले केटाकेटीले कम मन पराए पनि यसको महत्व बुझेका जोकसैले यसलाई मीठो र स्वादिलो मानेर खाने गर्छन् । तितेकरेलाको वास्तविक स्वाद तितै हुन्छ ।
तितेकरेलालाई विभिन्न औषधिमा उपयोग गरिन्छ । यो आयुर्वेदिक चिकित्सामा निकै बहुउपयोगी तरकारी वा अचार हो । उच्च रक्तचाप, मधुमेह रोग, बाथको रोग निदानमा यो सहयोगीसिद्ध हुँदै आएको छ । यसको चिकित्सा इतिहास निकै लामो छ । युनानी चिकित्साको दृष्टिमा यसले पिसाबसम्बन्धी विविध रोग निको पार्छ ।
यसले मस्तिष्कलाई तन्दुरुस्त राख्छ । आउँ र कफलाई राम्रोसँग निको पार्छ । पत्थरीको रोग, पक्षघात तथा बाथ रोगमा यसको उपयोगिता अद्वितीय छ । हाम्रो शरीरमा रहेको रगतका लागि फलाम र शरीरका हड्डी, दाँत, मस्तिष्क र अन्य शारीरिक अवयवका लागि फस्फोरसको अति आवश्यक हुन्छ, त्यो सबै तितेकरेलामा पाइन्छ । सय ग्राम तितेकरेलामा भिटामिन ‘ए’ २ सय १० मिलिग्राम, भिटामिन ‘बी’ शून्य दशमलव शून्य ७ मिलिग्राम पाइन्छ ।
तितेकरेला नियमित खाने गरेमा अपच, कब्जियत, खानामा आउने अरुची हटाई पाचन र मल निष्कासनलाई नियमित गर्छ । शरीरको छालामा आउने दादका लागि यो औषधि पनि हुन्छ । दाद निस्किएका ठाउँमा करेलाको रस लगाएमा निको हुँदै जान्छ ।
रोगी मानिसले यसको हरियो पात मात्र खाँदा पनि जिउमा केही आराम हुन्छ । यसको सलाद खानसकेमा मधुमेह नियन्त्रण हुन्छ । यसले रक्तअल्पता हटाउने काम पनि गर्छ । रिंगटा लाग्ने वा कमजोर महसुस हुने मानिसका लागि तितेकरेला निकै उपयोगी हुन्छ ।
जुका परेमा, जन्डिस भएमा वा उच्च रक्तचापको समस्या भएमा पनि तितेकरेला निकै उपयोगी हुन्छ । साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाका बियाँ र तीनवटा मरिच पिसेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्ता रोकिन्छ ।
बर्खायाममा हैजा लाग्ने सम्भावना अत्यधिक हुन्छ । हैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा निकै फाइदा गर्छ । यसका लागि दुई चिया चम्चा रसमा त्यति नै मात्रामा सेतो प्याजको रस मिलाएर खानुपर्छ ।