नकर्मीलाई थुनामा राख्ने आदेश

पोखरा । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी संस्था लि.का पूर्व सचिव अनुज नकर्मीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । हिजो बुधबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

वीरगञ्ज १४, श्रीपुर स्थायी घर भइ हाल पोखरा १७, घारीपाटन बस्ने ४८ वर्षीय जनकर्मीलाई प्रहरी गत ३२ साउनमा काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरेको हो । सहकारीको रकम सहकारी ऐन, नियमावली तथा संस्थाको नियमविपरीत हिनामिना एवं अपचलन गरेर ठगीजन्य कसूरमा संलग्न उनी फरार थिए । उनलाई प्रहरीले गत २ भदौमा कास्की जिल्ला अदालतमा मुद्दाको अभियोगपत्र माग दाबी अनुसार सजायका लागि उपस्थित गराएको थियो ।

सहकारीको १ अर्ब ११ करोड रुपैयाँ हिनामिना एवं अपचलन गरेको अभियोगमा उक्त मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ । सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक सदस्य शिवबहादुर गुरुङ र भविश्वर अर्याल र सहकारीका सञ्चालक समिति सदस्य प्रमोद भट्टराई छन् । उनीहरु कास्की जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएका छन् ।

संस्थापक अध्यक्ष जीबी राई, पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर, सचिव धीरजकुमार दास, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठ अझै पनि फरार छन् । उक्त सहकारीका १ हजार ३५ जना बचतकर्ता छन् ।

यसैबीच, पोखराबाट प्रकाशित समाधान दैनिकले सहकारी ठगीमा संलग्नको पक्षमा समाचार लेखेको सहकारी पीडितले बुधबार अदालत अगाडि उक्त पत्रिका जलाएका छन् । सोको विरुद्धमा पत्रकार महासंघ कास्कीले विज्ञप्ति जारी गरी विरोध जनाएको छ । महासंघका जिल्ला सचिव माधव बरालद्वारा जारी विज्ञप्तिमा पत्रिका जलाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

‘सूर्य दर्शन सहकारी पीडितहरुले समाचारको विषयलाई लिएर जनतालाई सुसूचित गराउने माध्यमको रुपमा रहेको पत्रिका जलाएको घटनाको पत्रकार महासंघ कास्की निन्दा र भत्र्सना गर्दछ । समाचारमा चित्त नबुझे खण्डन छाप्ने र कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै पत्रिका जलाउनु र पत्रिकाका सम्पादक रामकृष्ण ज्ञवालीको नाम लिएर धम्कीपूर्ण भाषा बोल्नु प्रेस स्वतन्त्रता र पत्रकािरतामाथिकै आक्रमण भएको नेपाल पत्रकार महासंघ कास्कीको ठहर छ । सार्वजनिक स्थलमा पत्रिका जलाउने र पत्रकारलाई धम्कीपूर्ण भाषा बोल्नेलाई कानुनी कारबाहीको माग पत्रकार महासंघ कास्की गर्दछ,’ विज्ञप्तिमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

epaper

ताजा समाचार

हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र