सिन्धुली । बागमती प्रदेश स्तरीय अस्पताल हो सिन्धुली अस्पताल । भर्खर निर्माण सम्पन्न भएको सिन्धुली अस्पतालको आपतकालिन कक्षमा अपांगता भएका व्यक्तिका लागि शौचालय छैन । न त ह्विल चियर शौचालयमा छिर्छ न त कसैले डो-याएर अस्पतालको शौचालयमा लान सक्ने फराकिलो बाटो नै छ ।
आपतकालिन कक्षमा जान त ह्विल चियर जान्छ तर शौचालय र अन्य ठाउँमा ह्विलचियर जानै समस्या छ । अस्पतालमा पुगेका अपांगता भएका व्यक्तिले स्वास्थ्य जाँचमा सास्ती नै पाईरहेका छन ।
‘अपांगता भएका व्यक्तिको अत्यधिक आगमन हुने अस्पताल भवन नै अपांगता मैत्री नभएपछि अरु भवनको के अपेक्षा गर्नु ?’ उपचारका लागि सिन्धुली अस्पताल पुगेकी सिन्धुली अपांग महिला संघका अध्यक्ष दिलकुमारी देवकोटाले भनिन् ।
प्रदेश सरकारको लगानीमा बनेको अस्पताल मात्र हैन जिल्लाका स्थानीय तहहरुले बनाउँदै गरेका भवन, वडा कार्यालय भवनहरु, नयाँ बनेका सरकारी भवनहरु कतै पनि अपांग मैत्री संरचना बनेका छैनन । ‘पटक पटक हामीले सम्झाएका छौं, ज्ञापनपत्र बुझाएका छौं तर हाम्रा समस्याको सुनुवाई नै हुदैन’, देवकोटाले भनिन ।
अस्पताल मात्र हैन जिल्लाका कुनै पनि सार्वजनिक सेवा प्रवाह गर्ने निकायका भवनहरु अपांगमैत्री छैनन । जिल्लाका नौ स्थानीय तहमध्ये अपांगतामैत्री मापदण्डका कुनै पनि भवन छैनन् । अपांगतामैत्री शौचालय, दोभाषे सहितको हेल्प डेक्स कतै पनि पाईदैनन् ।
करीब आधा दर्जन सरकारी कार्यालयहरु रहेको संयुक्त सरकारी भवन पनि बनेको धेरै लामो समय भएको छैन । केहि वर्ष अघि बनेको उक्त भवनमा शहरी विकास तथा भवन कार्यालय, जिल्ला हुलाक कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, पूर्वाधार विकास कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लगाएतका कार्यालयहरु छन । त्यहि भवनमा रहेको शहरी विकास तथा भवन कार्यालयले इन्जिनियरिङको काम पनि गर्छ । तर त्यहाँका कार्यालयहरुमा पनि सबै ठाउँमा ह्विल चियर जान सक्दैनन् । पहिलो तलामा पुगे पनि उनीहरुले सहजै माथिल्लो तलामा पुग्न सक्ने अवस्था छैन ।
यस्तै न्यायका लागि पुग्ने जिल्लाका अन्य कार्यालयहरु सिन्धुली जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय सहित प्रहरी कार्यालयहरु, स्थानीय तहका न्यायीक समिति पनि अपांगता भएका व्यक्तिहरु, अशक्त व्यक्तिको पहुँच बाहिर छन । जिल्लाका विभिन्न स्थानमा रहेका स्वास्थ्य संस्थाहरु अशक्त र अपांगता भएका व्यक्ति लक्षित संरचना विहिन छन ।
जिल्लाका आर्थिक कारोवारमा प्रत्यक्ष जोडिने बैंक तथा वित्तिय संस्थाहरुका कार्यालयहरु समेत अपांगता भएका व्यक्तिहरु, वृद्ध, अशक्त व्यक्तिहरुको पहुँचमा छैनन् । अपांगता भएका व्यक्तिहरुले खेलकुद स्टेडियम होस वा सरकारी, सार्वजनिक सेवा प्रवाहका कार्यालयहरुमा जाँदा शौच गर्नै नपाएर समस्या झेल्ने गरेको अपांग अधिकारकर्मी वविता थापाले बताईन ।
उनका अनुसार हेर्दा सानो लाग्ने तर ठूलो समस्या नै शौचालय र सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा पुग्न नसक्नु हुँदो रहेछ । थापाले अपांगता भएका व्यक्तिहरुले भाषाको समस्या, शारीरिक अवस्था र अझ भौतिक संरचनाका कारणले जनप्रतिनिधि, कर्मचारी तथा कार्यालयका प्रमुखहरुलाई भेट्न समेत नसक्ने गरेको बताईन । जिल्लामा अपांगतामैत्री भनिएका भवनहरु पनि पूर्ण अपांगमैत्री छैनन । अपांगतामैत्री संरचना निर्माणमा सबैले ध्यान दिन आवश्यक रहेको उनले बताईन ।
सिन्धुली अपांग महिला संघकी अध्यक्ष देवकोटाले कम्तिमा नयाँ भवन बन्दा भौतिक संरचना निर्माण निर्देशिका २०६९ ले व्यवस्था गरेको पूर्ण रुपले अपांगतामैत्री भवन बन्नुपर्ने भन्ने प्रावधानलाई नै कुल्चिएर अपांगतामैत्री भवन निर्माणमा वेवास्ता गर्नु दुःखद पक्ष रहेको बताइन ।






