नेपालमा कहालीलाग्दा दुर्घटना भइरहेका छन् । यो मामुली कुरा होइन । हरेक क्षेत्र असुरक्षित छन् । सरकार पनि असुरक्षित ! गठबन्धन असुरक्षित ! देश नै असुरक्षित ! सुरक्षाको प्रत्याभूति कसरी हुन्छ ?
कहिले कहालीलाग्दो हवाइजहाज दुर्घटना । कहिले सिंगो बस नै बेपत्ता । मानिसको त हिसाब छैन । गर्दा गर्दा विदेशबाट नेपालमा तीर्थव्रत तथा धाम घुम्न आउने छिमेकी पर्यटक पनि सकुशल घर फर्कन नपाउने भए ।
छिमेकी देश भारतबाट भैरहवा, पोखराहुँदै पशुपतिनाथसम्म यात्रामा निस्किएका भारतीय पर्यटक सवार बस आँबुखैरेनीमा दुर्घटना हुँदा यस्तै भयाबह अवस्था निम्तिएको छ । बसमा सवार यात्रीमध्ये २७ जनाको मृत्यु भएको छ । धेरैसिकस्त छन् । गम्भीर अवस्थामा अस्पतालमा छन् ।
भारतको गोरखपुर हुँदै नेपालको धार्मिकस्थल घुम्न निस्केका पर्यटकहरु सवार बस तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजिकैबाट मस्र्याङ्दीमा खस्यो । चार धाम (बद्री, केदार, गया, काशी) घुमेर फर्किएपछि नेपाल घुम्न निस्किएका ९६ जनाको टोली पोखरा आइपुगेको थियो ।
भारतको महाराष्ट्रदेखि इलाहबाद हुँदै सँगै तीर्थ यात्रा र नेपालको भ्रमण गरेर रोमाञ्चित भएर फर्किने योजनासहित दुई गाडीमा पोखराबाट काठमाडौं लागेका उनीहरु चढेको एउटा गाडी आँबुखैरेनी त्रिशुली नजिकै मस्र्याङ्दीमा खसेको थियो ।
पहिलो कुरा त नेपालका घुम्ती निकै ससाना र ग्रेडिङ नमिलेका छन् । त्यसमा पनि सरकारले समयसापेक्ष सुधार गर्न सकिरहेको छैन । राजमार्गहरू पनि त्यस्तै अवस्थामा छन् । सडक सञ्जालको समस्या भयाबह छ । नेपाली आकाशमा उड्ने जहाज युरोपमा प्रतिबन्धित छन् । यो कुरालाई सरकारले नजरअनदाज गरिरहेको छ । आकाश मार्ग आफैमा असुरक्षित मानिन्छ, नेपालको । अब त स्थल मार्ग पनि गम्भीर आशंकाको जालोभित्र जकडिन पुगिसकेको छ ।
फेरि नेपालभित्र प्रवेश गर्ने हरेक पर्यटकीय गाडीको यकिन रेकर्ड राख्न नेपाल असमर्थ छ । चासो नभएको हो कि नीति र कार्यक्रम नै नबनेको हो, थाह छैन । यसले अविश्वास र आशंकाको वातावरण निर्माण गर्छ । भारतीय पर्यटकको पहिचान हुन र जानकारी दिन पनि समय लागेपछि विश्वमा प्रश्न उठ्ने ठाउँ बनिसकेको छ ।
तुरुन्त पहिचान हुन सकेको भए र जानकारी दिन सकेको पनि अवस्था त्यति गम्भीर हुने थिएन । त्यस्तो व्यवस्था नहुँदा धेरै समय लाग्यो । न विवरण न जानकारी नै ! कम्तिमा पनि स्थानीय सरकारले थाह पाउन सकेको भए निकै सहज हुने थियो । यसबाट तीनै तहका सरकारले गम्भीर पाठ लिनै पर्छ । सबैलाई पसोस् मस्र्याङ्दीको झस्को !
दिलभूषण पटेल, रौतहट