सशस्त्रका डीआईजीसहित १२ जना सर्वोच्च पुगे

काठमाडौं । सशस्त्र प्रहरीमा भएको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)सहित १२ जना प्रहरी अधिकृत सर्वोच्च अदालत पुगेका छन् ।

३० वर्षे सेवा अवधि हटाउन माग गर्दै

यसअघि सर्वोच्च अदालतले नेपाल प्रहरीको सेवा अवधिका कारण प्रहरीलाई अवकाशमा नपठाउन अन्तरिम आदेश गरेसँगै सशस्त्र प्रहरी पनि सोही विषय लिएर सर्वोच्च पुगेका हुन् । अन्तरिम आदेशसँगै १६ भदौमा अवकाश हुनुपर्ने नेपाल प्रहरीका ८९ अधिकारीहरूको जागिर लम्बिएको छ ।

यही १६ भदौदेखि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश हुन लागेका डीआईजी अभिकुमार खत्रीसहित डीआईजी दुर्गाप्रसाद भट्टराई, एसएसपी विश्वकुमार भट्टराई, एसपीहरू पूर्णबहादुर साउद, त्रिभुवन बिष्ट, अम्मरबहादुर ऐर, धनबहादुर सिंह, उद्धवबहादुर रावल, अशोककुमार शाक्य, प्रेमबहादुर रावल, गोपालप्रसाद श्रेष्ठ र दीपेन्द्र गिरीले रिट दायर गरेका हुन् । उनीहरूले अनिता अधिकारीलाई वारेस राखेर रिट दायर गरेका हुन् । सो रिटको पेसी मंगलबारका लागि तोकिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सशस्त्र प्रहरी प्रधान कार्यालय र प्रहरी किताबखानालाई विपक्षी बनाइएको छ ।

सशस्त्र प्रहरी नियमावलीको नियम ६५ मा सशस्त्र प्रहरी कर्मचारीको ३० वर्षे सेवा अवधिका आधारमा अवकाशसम्बन्धी व्यवस्था गरिएको छ । जसको खण्ड (क)मा ३० वर्षे सेवा अवधिका आधारमा (ख) मा उमेरका आधारमा र (ग) मा पदावधिका आधारमा जुन पहिला हुन्छ, त्यसैका आधारमा सशस्त्र प्रहरी सेवाबाट अवकाश पाउने व्यवस्था गरिएको छ ।

२०४८ सालमा निजामती सेवा ऐनमा ३० वर्षे सेवा अवधि पूरा भएका कर्मचारीलाई अनवार्य अवकाश दिने व्यवस्था लागू भएपछि साबिक प्रहरी नियमावली, २०४९ मा पहिलो संशोधन गरी २५ फागुन २०४९ देखि र सशस्त्र प्रहरीमा २०६६ सालदेखि ३० वर्षे सेवा अवधिका आधारमा अवकाश हुने व्यवस्था सुरु गरिएकामा निजामती सेवा ऐनमा सो व्यवस्था हटाइसकेको भए पनि प्रहरी सेवा र सशस्त्र प्रहरी बलमा हालसम्म पनि सो व्यवस्था कायम राखिएको छ ।

२०७० चैतमा सर्वोच्चको विशेष इजलासले प्रहरी कर्मचारीको नियुक्ति, निवृत्तिभरण र अवकाशसम्बन्धी व्यवस्था ऐनमा राख्न निर्देशनात्मक आदेश दिएको थियो । हाल यी व्यवस्था प्रहरी नियमावलीका आधारमा सञ्चालित छन् । नियमावलीमा राख्दा राजनीतिक र प्रशासनिक स्वविवेकका अधारमा मौकापरस्त ढंगले परिमार्जन गर्दै चलाउने प्रचलन देखिएको भन्दै सर्वोच्चले यस्तो आदेश दिएको थियो ।

खास व्यक्ति विशेषको लाभ हानीका आधारमा सरकारले पदावधि निर्धारण गर्दा शान्ति सुरक्षासँग सम्बन्धी संवेदनशील अंगको सेवा प्रभावित हुने भन्दै ऐनमै व्यवस्था गर्न भनेको थियो । तर, अझै पनि प्रहरीमा नियमावलीका आधारमा रहेर प्रहरीलाई ३० वर्षे सेवा अवधिका आधारमा अवकाश दिँदै आएपछि सशस्त्र प्रहरीका डीआईजीसहित १२ जना सर्वोच्च पुगेका हुन् । मुलुकमा सरकारी सेवाहरू, नेपाली सेनालगायतमा ३० वर्षे सेवा अवधिका आधारमा अवकाश पाउने व्यवस्था हटाइसकिएको छ भने अन्तर्राष्ट्रिय अभ्यासमा समेत त्यस्तो व्यवस्था पाइँदैन ।

यसअघि सर्वोच्च अदालतले नेपाल प्रहरीमा तत्काल ३० वर्षे लागू नगर्न र अवकाश हुन लागेका प्रहरीहरूलाई जागिरमा निरन्तरता दिन अन्तरिम आदेश दिएको छ । अन्तरिम आदेशसँगै १६ भदौमा अवकाश हुनुपर्ने नेपाल प्रहरीका ८९ अधिकारीको जागिर लम्बिएको छ । सशस्त्र प्रहरीबाट अवकाश हुन लागेका १६ जना पनि नेपाल प्रहरीका ८९ जनाकै ब्याची हुन् । उनीहरू २०५१ सालमा नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षकमा भर्ना भएका थिए ।

तर, सशस्त्र प्रहरीको स्थापना भएपछि उनीहरू एक तह बढुवाको सुविधा लिँदै त्यता सरेका थिए । सशस्त्र प्रहरीमा स्थानान्तरण भए पनि उनीहरूको सेवा अवधि भने नेपाल प्रहरीमा हुँदाको पनि गणना भएपछि अवकाशको मिति आइपुगेको हो । तर, आफूहरू सशस्त्र प्रहरीमा जाँदा ३० वर्षे प्रावधान नरहेको, पछि ल्याइए पनि पुनः हटाउन विभिन्न आयोगहरूले सुझाव दिइसकेको र सर्वोच्च अदालतले पनि नेपाल प्रहरीमा ३० वर्षेविरुद्ध परेको रिटको सुनुवाइ गर्दै १० वर्षपहिले नै हटाउन आदेश दिइसकेकाले सशस्त्रमा पनि हट्नुपर्ने उनीहरूको माग छ ।

यी हुन् अवकाशमा जान लागेका सशस्त्रका १६ अधिकारी
१६ भदौमा अवकाश हुने सूचीमा सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) देखि डीएसपीसम्म गरी १६ जना छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रूपन्देहीका प्रमुख डीआईजी अभिकुमार खत्री र सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका प्रमुख डीआईजी दुर्गाप्रसाद भट्टराई हुन् । नेपाल प्रहरीबाट सशस्त्र प्रहरीमा जाँदा एक तह बढुवाको अवसर दिइएको थियो । तर, त्यसअघि नै दुई जनाले भने प्रहरी निरीक्षकमा नाम निकालेका थिए ।

उनीहरू डीएसपीमा बढुवा हुँदै सशस्त्र प्रहरीमा प्रवेश गरेका थिए । सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीका प्रमुख एसएसपी विश्वकुमार भट्टराई पनि १६ भदौको अवकाशको सूचीमा छन् । उनी सईबाटै सशस्त्र प्रहरीमा प्रवेश गरेका भए पनि पछि सशस्त्र प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका थिए ।

अवकासमा जान लागेका एसपीहरू
दीपेन्द्र गिरी, अम्मरबहादुर ऐर, अशोककुमार शाक्य, प्रेमबहादुर रावल, गोपालप्रसाद श्रेष्ठ, त्रिभुवन बिष्ट, उद्धवबहादुर रावल, पूर्णबहादुर साउद, धनबहादुर सिंह, भीमबहादुर चौधरी र महेन्द्रराज भारती रहेका छन् ।

दुई जना डीएसपी पनि सँगै अवकाश हुनेछन् । डीएसपी राजेश्वरप्रसाद साह र हरिबहादुर शाही पनि आगामी १६ भदौको अवकाश सूचीमा परेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इन्द्रजात्रा समारोहमा बालेनको तस्वीर अंकित टिसर्ट लगाएका युवायुवती, प्रहरीले बाहिर निकाल्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ओलाङचुङगोलामा अध्यक्ष छेतेनसहित सबै सदस्य निर्विरोध