सन्जु न्यौपाने लोकदोहोरी क्षेत्रमा स्थापित गायिका हुन् । एकदशक भन्दा अघिदेखि गायन क्षेत्रमा सक्रिय सन्जुले हालसम्म दर्जनौं लोकगीतहरु बजारमा ल्याएर श्रोताको मन जितिसकेकी छिन् । स्याङ्जामा जन्मिएकी सन्जुले स्कुले जीवनबाटै गायन यात्रा सुरु गरेकी हुन् । स्कुलमा हुने विभिन्न सांस्कृति कार्यक्रममा गाउनुका साथै छमछमी नाचेर साथीसंगी र गुरुहरुको मन जित्ने गरेकी उनलाई सबैले ठुली भएपछि कलाकार भन्नु है भन्थे ।
सो भनाईलाई शिरोपण गर्दै उनी गायनको उडानमा अघि बढी र आज आफ्नो माधुर्य स्वरबाट सांगीतिक आकाश चुम्न सफल भएकी छिन् । सन्जुलाई गायिकाको रुपमा चिनाउने पहिलो गीत ‘उमेर पुगेछ…’ थियो । यो पन्चेबाजा गीतलाई २०७२ सालमा उनले बजारमा ल्याएकी थिईन् । यी गायिकाको त्यसपछि लाहुर, चाँदी कहाँ होला, लामो कपाल जस्ता थुप्रै चर्चित गीतहरु श्रोतामाझ लोकप्रिय छन् । गायनसँगै सन्जुले आफ्ना धेरै म्यूजिक भिडियोमा मोडलिङ पनि गरेकी छन् । मुल विधा गायनमा सक्रिय सन्जुले मोडलको रुपमा पनि परिचय बनाएकी छिन् ।
गायिका न्यौपानेले सर्वोत्कृष्ट गायिकाको रुपमा ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड, सातौं निम अवार्ड, तेस्रो ओएस नेपाल म्यूजिक अवार्ड, औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड लगायतमा विभिन्न अवार्ड चुमिसकेकी छिन् । उनी गायनमै विभिन्न सम्मान तथा पुरस्कारबाट पनि विभूषित छिन् । यिनै लोकप्रिय गायिका गायिका सन्जु न्यौपानेसँग राजधानीका डब्बु क्षत्रीले गरेको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छः

मोडलिङ र गायन दुबै क्षेत्रमा स्थापित तपाई गायिका हो की मोडल ?
गायन मेरो पेशा हो भने मोडलिङ मेरो सौख हो । म स्याङजाबाट उच्च शिक्षा हाँसिल गर्नुको साथै गायिका बन्ने सपना बोकेर काठमाडौं आएकी थिएँ । केही वर्षको सँघर्ष पश्चात मैले गायन यात्रा सुरु गरेँ र श्रोता दर्शकको मायाँले आज यो स्थानमा पुगेको छु । आफ्नो गीतमा मोडलिङ गर्ने क्रममा दर्शकहरुले मेरो अभिनयको पनि खुलेर प्रसँसा गर्नु भएपछि गायनसँगै मोडलिङलाई पनि अघि बढाएकी हुँ । तथापि म आफुलाई पहिलो त गायिका भन्नुमा नै गर्व गर्छु र गायिका भएर नै सबैका सामु चिनिएकी हुँ ।
अरु पनि धेरै पेशा छन् । तर तपाई गायनमै लाग्नुको कारण चैं के हो नी ?
म बाल्यकालमा घरमा रेडियो बज्दा रेडियोसँगै गीत गाउँथे । सोही क्रममा स्कुलमा हुने सांस्कृतिक कार्यक्रममा पनि गायनलाई मैले निरन्तता दिएँ । स्कुलको वार्षिक उत्सबहरुमा गायन गुरुहरुले मलाई अघि सार्नु हुन्थ्यो । साथीहरुले मेरो गायनको खुलेर प्रसँसा गर्नु हुन्थ्यो । मैले गीत गाएर स्कुलमा उत्कृष्ट हुँदै कापी कलम पाउँदा बुबा आमा पनि त्यत्तिकै खुसी हुनुहुन्थ्यो । उहाँहरुकै हैसला र प्रेरणाले म स्कुले जीवनपछि व्यबसायिक रुपमा गायनमा लागेकी हुँ र आजको यो सफलताको पहिलो प्रेरणा पनि उहाँहरुलाई नै जान्छ ।
आजभोलि के गर्दै हुनुहुन्छ ?
गत साता यो वर्षको तीजलाई लक्षित गरेर आएन परदेशी…दर्शकमाझ ल्याएँ । गीतकार सुमन पण्डितले शब्द तथा संगीत सृजना गर्नु भएको यो मौलिक गीतलाई यतिबेला श्रोता दर्शकले निकै रुचाउनु भएको छ । अब दशैं तिहार पनि आउँदैछ । दशैं तिहारलाई लक्षित गरेर पनि नयाँ गीतको तयारी गर्दैछु । यो महिनाको सुरु देखि नै विभिन्न तिज कार्यक्रममा गीत प्रस्तुतिमा व्यस्त छु । केही नयाँ गीतको भिडियोको पनि तयारी गर्दैछु । समग्रमा भन्नु पर्दा म आजभोली गीतसंगीतकै क्षेत्रमा ब्यस्त छु ।

पछिल्लो समय तीजको नाममा उच्छृङखल गीतहरु बजारमा आएका छन्, यसलाई कसरी हेर्नु भएको छ ?
तीज हाम्रो राष्ट्रिय मौलिक चाड हो । चेलीबेटी घर तथा माईतमा भेटहुँदा दरखाँदै मादल बजाएर खुसीले नाचगान गरिन्छ । तिनै चेलीले माईतिसँग भेट नहुँदा बिरहको गीत गाउँदै आफ्ना पीर ब्याथा पोख्ने गर्छिन । तीज पर्वको खाँटी सांगीतिक विशेषता नै यही हो । तर तीजको नाममा आईटम गीत बनाएर यसको मौलिकतामा दाग लगाउनु राम्रो हैन भन्ने मेरो मान्यता छ ।
तपाईं लोकदोहोरी गायनमै केन्द्रित देखिनु हुन्छ । अरु शैलीका गीत नगाउनुको कारण चाहिँ के हो नि ?
त्यस्तो हैन, लोक तथा लोक दोहोरी गायन नै मेरो मुलधार हो । यसो भन्दैमा म लोक दोहोरी गायिका मात्र चैं हैन । मैले केही आधुनिक तथा पपगीतहरु पनि गाएको छु । तथापि स्याङ्जाकी चेली भएका कारण हाम्रो तिर लोकदोहोरीकै बढी प्रचलन छ । सोही कारण पनि मैले लोक दोहोरी गायनलाई नै मुलधार बनाएकी हुँ । तथापि आधुनिक, पप, राष्ट्रिय भाव, भजन जस्ता अरु जनराका केही गीतहरु पनि मैले गायकी छु ।

तपाईंको रोजाईको गीतसंगीत चै कस्तो हो ?
म अलिक गम्भिर स्वभावकी छु । त्यसैले होला मलाई सम्बेदनशिल गीत गाउन बढी अनन्द लाग्छ । हुन त मैले रोमाञ्चकारी तथा नृत्य प्रधान गीतहरु पनि गाएको छु । तथापि मलाई गायनमा पीडा, बेदना सुनाउन पाउँदा अर्कै प्रकारको आनन्द लाग्छ । सोही कारण पनि सेन्टिमेन्टल गीत गाउन बढी मन परेको हुनुपर्छ । तथापि एउटा गायिका भएका कारण म सम्बेदनशिल, रोमाञ्चक, हास्य जस्ता सबै भावका गीतहरु गाउँछु ।
गायन क्षेत्रमा कमाई कस्तो छ नी ?
अहिलेसम्म त राम्रो छ । मेरो आम्दानीको मुख्य श्रोत भनेकै गायन हो । गीतसंगीतबाट डिजिटल प्लेटफर्ममार्फत अडियो र भिडियोको अहिले राम्रो आम्दानी त छ नै । अर्को तर्फ मेलो महोत्सबबाट झन राम्रो कमाई छ । अहिले तिज देखि दशैं तिहारसम्म चाड पर्वसम्बन्धि स्टेज कार्यक्रमबाट राम्रै कमाई हुन्छ । तिहरपछिबाट आगामी बैशाखसम्म देश बिदेशमा हुने विभिन्न मेला महोत्सब तथा सांगीतिक कार्यक्रमहरुमा भ्याई नभ्याई हुन्छ । जसबाट हामी गायन कलाकारहरु निकै राम्रो आम्दानी हुने गरेको छ ।






