खोटाङमा सार्वजनिक यातायातमा टिकट अनिवार्य र भाडादरमा कडाई

जिल्ला प्रशासन कार्यालय खोटाङद्वारा आयोजना गरिएको सर्वपक्षीय बैठक ।

खोटाङ । खोटाङ जिल्लामा सार्वजनिक यातायात व्यवस्थामा सुधार ल्याउने प्रयास थालिएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङले सोमबार आयोजना गरेको सर्वपक्षीय बैठकमा यात्रुहरूलाई अनिवार्य रूपमा टिकट दिनुपर्ने र निर्धारित भाडादर कायम राख्नुपर्ने निर्णय गरिएको छ ।

आउँदै गरेको दशैँ, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार, जिल्लामा सञ्चालित केही सार्वजनिक सवारी साधनहरू, विशेषगरी जीपहरूले, यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिने तर टिकट नदिने गरेको गुनासो आएपछि उक्त निर्णय गरिएको बताए । आउने दिनमा प्रहरीले जयराम र दिक्तेललगायतका प्रमुख स्थानहरूमा नियमित चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ ।

यात्रुहरूलाई पनि सचेत रहन आग्रह गरिएको छ । कुनै सवारी साधनले बढी भाडा लिएमा वा टिकट नदिएमा तत्काल प्रहरीलाई सूचित गर्न यात्रुहरूलाई अनुरोध गरिएको छ । यातयात व्यवासायीले तोकिएभन्दा बढी भाडा लिएको अथवा टिकट नदिएको खण्डमा प्रचलित कानून अनुसार कारबाही गरिने चेतावनी दिइएको छ । बैठकमा जिल्लाबाट छुट्ने जीप तथा बसको पुरानै भाडादर कायम राख्ने निर्णय गरिएको छ, जबकि यातायात व्यवसायी संघका प्रतिनिधिहरूले चाडपर्वको समयमा एकतर्फी यात्रुको चाप बढ्ने भएकाले भाडादर वृद्धिको प्रस्ताव राखेका थिए ।

यसैगरी, चाडपर्वलाई ध्यानमा राख्दै ग्रामीण सडकहरूको मर्मतका लागि सम्बन्धित स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको छ । मध्यपहाडी लोकमार्गको दिक्तेल–हलेसी र दिक्तेल–चखेवाभञ्ज्याङ खण्ड तथा दिक्तेल–गाईघाट सडक मर्मतका लागि सम्बन्धित आयोजना कार्यालयलाई अनुरोध गरिने भएको छ । बजार व्यवस्थापनको सन्दर्भमा, दशैँ, तिहार र छठ पर्वका लागि खाद्यान्न, लत्ताकपडा, दलहन, तेलहनलगायतका आवश्यक वस्तुहरू सुपथ मूल्यमा उपलब्ध गराउन उद्योग वाणिज्य संघलाई आग्रह गरिएको छ ।

साथै, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयबाट नियमित बजार अनुगमन गर्ने योजना बनाइएको छ । यस्तै चाडपर्वको समयमा हुनसक्ने चोरीलगायतका आपराधिक गतिविधिहरूलाई रोक्न सुरक्षा व्यवस्था कडा बनाइने जानकारी दिइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

epaper

ताजा समाचार

इंग्ल्यान्डविरुद्ध ‘भाग्यमानी निलो जर्सी’मै किन उत्रँदै छ अर्जेन्टिना ?