सप्तरी, राजविराज । सरकारी राहतबाट बञ्चित भएका डोम तथा मजदुर विपन्न परिवारलाई सप्तरीका एक समाजसेवीले आफ्नै खर्चमा राहत बाँडेका छन् । सप्तरीको राजगढ गाउँपालिका निवासी गजेन्द्र कुमार मण्डल अनुरागले स्थानीय तहबाट वितरण गरिएको राहतबाट बञ्चित ४० डोम परिवारका साथै मजदुर र विपन्न परिवारका गरी १५१ परिवारलाई सोमबार निजी खर्चबाट खाद्यान्न तथा अन्य राहत सामग्री प्रदान गरेका हुन् ।
उनले राहत वितरण कार्य सामुदायिक विकास केन्द्रको सहकार्यमा गरेका छन् । उक्त संस्थाका उपाध्यक्ष समेत रहेका मण्डल राजपाका सह–महासचिव पनि हुन् । लकडाउनको अवधीमा काम नपाएपछि छाक टार्न समस्यामा परेका ४० डोम परिवार सहित १५१ मजदुर र विपन्न परिवारलाई प्रति परिवार ५ केजी चामल, २ केजी दाल, १ लि. खानेतेल, १ केजी स्वाविन, ५ थान मास्क र २ थान साबुनका दरले राहत वितरण गरिएको छ । सामाजिक दुरी कायम गर्दै व्यवस्थित ढंगले राहत वितरण गरिएको थियो ।
यसरी राहत पाउनेहरुमा राजगढ गाउँपालिका तथा राजविराज नगरपालिकामा विभिन्न वडामा रहेका डोम, मजदुर तथा विपन्न परिवार छन् । लकडाउनका कारण बेरोजगार भई समस्यामा परेका मजदुर तथा विपन्न परिवार खाद्यान्न सहित मास्क र साबुन पाएपछि खुशी भएका छन् ।






