गैरकानुनी कामदारमाथि धडपकड तीव्र पार्दै साउदी सरकार

काठमाडौं । साउदीमा गैरकानुनी कामदारमाथि धरपकड तीव्र पारेसँगै एक सातामै १९ हजारभन्दा बढी गैरकानुनी कामदारलाई पक्राउ गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विभिन्न सरकारी निकायसँगको अभियानमा रेसिडेन्सी ऐन उल्लंघन गर्ने ११ हजार २ सय ६८, सीमा सुरक्षा ऐनमा ४ हजार ७ सय ७३ र श्रम कानुन उल्लंघन गर्ने २ हजार ९ सय ८३ जना पक्राउ परेका छन् ।

१ सय ४२ गैरकानुनी नेपालीलाई एक्जिट भिसा

जसमध्ये १ हजार २ सय १२ व्यक्ति अवैध रूपमा राज्यमा प्रवेश गर्ने प्रयास गर्दा पक्राउ परेको मन्त्रालयले जनाएको छ । जसमा ७३ प्रतिशत इथियोपियाली, २५ प्रतिशत यमनी र २ प्रतिशत अन्य राष्ट्रियताका थिए । गैरकानुनी रूपमा देश छाड्न खोज्दा थप १ सय २२ जना पक्राउ परेका छन् ।

साउदी अधिकारीहरूका अनुसार यातायात, आश्रय वा उल्लंघन गर्नेहरूलाई काममा लगाउने आरोपमा २२ जनालाई पनि हिरासतमा लिइएको छ । हाल २१ हजार १ सय ७६ पुरुष र २ हजार ९ सय ३१ महिलासहित २४ हजार १ सय ७ आप्रवासी कानुनी प्रक्रियामा छन् ।

प्रक्रियाको एक भागका रूपमा १५ हजार ९ सय ७० उल्लंघनकारीलाई यात्रा कागजातहरूका लागि कूटनीतिक नियोगहरूमा पठाइएको जनाएको छ । २ हजार ६ सय ३३ जनालाई उनीहरूको यात्राको व्यवस्था गरिएको छ भने १० हजार ५ सय ३७ लाई पहिले नै देश निकाला गरिएको छ ।

यसैगरी, साउदीमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका १ सय ४२ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् । रियादस्थित दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमति–पत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

गैरकानुनी रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनुपरे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।

साउदीमा कार्यरत नेपालीहरूले आवासीय अनुमति–पत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेकाहरूले स्वदेश फर्किन बहिर्गमन भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक कागजातसहित दूतावासमा सम्पर्क गर्नुपर्छ ।

कुनै मुद्दा मामिला नभए र स्पोन्सरले हुरूब लगाएको भए डिपोर्टेसन सेन्टर–सफरजेलबाट एक्जिट भिषा जारी गरी सूचीकृत नभएका कामदार स्वदेश फर्कन सक्नेछन् । गैरकानुनी तरिकाले काम गर्दा त्यहाँको प्रहरीले पक्राउ गर्ने र केही समय जेल बसेर मात्र नेपाल फर्किन पाउने व्यवस्था रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

epaper

ताजा समाचार

आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्य दूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान