वडाको सहयोग पाएपछि आमाहरू जुटे सामूहिक आलु खेतीमा

लमजुङ । लमजुङ वडाकार्यालयको सहयोग पाएपछि आमाहरू सामूहिक आलु खेतीमा अग्रसर भएका छन् । लमजुङको बेसीशहर नगरपालिका– ११ को चाफाबोट बजरखुट्टाका आमाहरूले सामूहिक खेती गरेका हुन् ।

सो गाउँमा रहेको राधाकृष्ण आमा समूह मार्फत वडा कार्यालयले आलुखेती कार्यक्रम ल्याएर सहयोग गरेपछि त्यहाँँँका १६ जना महिलाहरू सामूहिक आलु खेतीमा लागेका हुन् । गाउँमा बाँझो रहेको २० रोपनी जग्गा भाडामा लिएर महिलाहरूले सामूहिक आलु खेती गरेका वडा नंं ११ का वडाध्यक्ष शिवप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार गाउँघरमा खेतबारी बाँझै छन् । उनले भने, ‘जग्गा बाँझो राखेर बेसाएर खानेहरू बढिरहेका बेला ले बाँझो जग्गाको सदुपयोग गरी स्थानीयको आय आर्जनमा टेवा पु¥याउन वडाले आफ्नो क्षेत्रमा सामूहिक आलुखेतीको कार्यक्रम सञ्चालन गरेको हो ।’

वडा कार्यालयले उक्त कार्यक्रमका लागि डेढलाख रुपैयाँ अनुदान दिएको वडाध्यक्ष जोशीले बताए । यसबाहेक उक्त कार्यक्रमका लागि आमा समूहले उक्त रकमको ३० प्रतिशत थप लगानी गरेको सो आमा समूहकी अध्यक्ष लक्ष्मी घर्तीले बताइन् । उनका अनुसार दिदीबहिनीहरू दिनभर गफ गरेर बस्न भन्दा केही गरौं भनेर यो काममा लागेका हौं । उनले भनिन्, ‘आफ्ना लागि चाहिने आलु लगाएर खान थालेको त १८– २० वर्ष भयो, ऐले बिक्रीका लागि पनि गरौं २, ४ पैसा आयो भने आमा समूहको कोषमा राखौला भनेर आलु खेती गरेका हौं ।’

हामीले आफूको नौ क्विन्टल बीउ लगाएर हिजोमात्र सकेका हौं राधाकृष्ण आमा समूहकी सचिव निरु खवासले जानकारी दिइन् । उनका अनुसार सो कार्यका लागि वडाले डेढ लाख रुपैयाँ सहयोग गरेको थियो । उनले भनिन् ‘त्यो रकमले बिउ खरिद र मल खरिद गर्ने काम गरियो, अन्य खर्च हामी आफैले बेहोर गरेका हौं ।’

गाउँमा बाँझो रहेको जग्गाको सदुपयोगसंगै स्थानीयको आय आर्जनमा टेवा पु¥याउन केहीहदसम्म बेरोजगारी समस्या समेत समाधान हुने भएकाले कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष जोशीले जानकारी दिए । आमाहरूले आलु लगाई रहदा वडाध्यक्ष जोशी आफै खेतमा पुगेका थिए । उनले भने, ‘आमाहरूलाई आलु रोप्न पनि सघाएझैं गरें ।’

वडा कार्यालयले आलु खेतीका लागि सहयोग गरेकामा स्थानीय महिलाहरू निकै खुशी भएकाबताए । आफूहरूलाई समूहलाई बेसीशहर नगरपालिकाको कृषि विकास शाखाका कृषि प्राविधिकहरूले प्राविधिक सेवा उपलब्ध गराएको आमा समूहका अध्यक्ष लक्ष्मी घर्तीले जानकारी दिइन् । उनका अनुसार कार्यक्रम सञ्चालन भएपछि आफूहरू निकै उत्साहित भएको र यसबाट समूहका महिलाहरूको आय आर्जनमा टेवा पुग्ने बताइन् ।

कृषि प्राविधिकहरु खेतबारीमै पुगेर किसानहरूलाई बिउ तथा मलको छनोट गर्न र उन्नत तरिकाले आलु लगाउन सिकाएपछि उत्पादन राम्रो हुनेमा आफूहरु ढुक्क रहेको आमा समूहद्वारा गठित कृषक समूहका अध्यक्ष सीता घर्तीले बताइन् ।

यसबर्ष एउटा समूहलाई सामूहिक आलु खेतीका लागि प्रेरित गरेको वडा कार्यालयले आगामी बर्ष ७ वटासम्म कृषक समूहलाई ब्यवसायीक आलु खेतीका लागि सहयोग गर्ने योजना बनाएको वडा अध्यक्ष जोशीले बताए । उनले भने– ‘यस बर्ष एउटा मात्र समूहलाई सहयोग गरियो, अर्को बर्षका लागि थप दुईवटा समूहले आलुखेती गर्ने प्रस्ताव गरिएको छ ।’ यो कार्यक्रम बाँझो जग्गाको सदुपयोग गरी स्थानीयको आय आर्जनमा टेवा पुग्ने भएकाले थप कार्यक्रम गर्न आवश्यक ठानिएको जोशीको भनाइ छ ।

यहाँ गरे के हुन्न र ? अब नगरे कहिले गर्ने ? किसानहरु खेती गर्न तयार भए हामी लगानी गरिदिन्छौं । काम तपाइँहरुले गर्नुस, सबै मिलेर बाझो जमिन को उपयोग गरौं, आत्मनिर्भर हुने काम गरौं भनेर आमा समूहलाई यो कामका लागि उत्प्रेरित गरेको जोशीले उल्लेख गरे ।

कुनै समय सिंगो चिती क्षेत्र सुन्तला उत्पादनका लागि देशैभर प्रसिद्ध थियो । चितीमा उत्पादन हुने सुन्तला नेपाल बाहेक भारत र बंगलादेशसम्म पुग्ने गरेकोमा यतिबेला भने चितिमा सुन्तला बगैंचा रोगले मासिसकेको छ । केही किसानहरूले नयाँ कलमी विरुवा ल्याएर सुन्तला खेती पुनः शुरु गरे पनि पहिलाको अवस्थामा पुग्न अझै समय लाग्ने देखिन्छ ।

त्यसको विकल्पमा वडाध्यक्ष जोशीले चितीलाई कृषिको उर्वर थलोको रुपमा विकास गर्ने प्रतिबद्धताका साथ नयाँ कार्यक्रमको खोजीमा रहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

epaper

ताजा समाचार

आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्य दूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान