काठमाडौं । चलचित्र र नाटकमा व्यस्त भएको जानकारी गराउँदै अभिनेता विजय बरालले यसै साता हास्य टेली कार्यक्रम कमेडी दरबारबाट विदा लिएका थिए । यो सँगै उनी यति बेला आफ्नो नयाँ चलचित्र लाज शरणम्को प्रचार प्रसारसँगै मण्डला थिएटरमा मञ्चन हुने नयाँ नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’मा व्यस्त छन् । आफ्नो पछिल्लो चलचित्र पूर्णबहादुरको सारंगी यो वर्षको ब्लक बस्टर हिट भएपछि यी अभिनेतालाई अहिले भ्याई नभ्याई छ । गत मंसिरमा मण्डला थिएटरको नाटक नाटक हरि हजुरबामा मुख्य भूमिका निर्वाह गरेका उनी अहिले फेरी नयाँ नाटकको निर्माणमा जोडिएका हुन् ।
यो नाटकको केही दिन यताबाट मण्डला थिएटरमा नियमित अभ्यास भईरहेको छ । नाटकको अभ्यास सम्पन्न गरेर अब यसलाई व्यबसायिक प्रदर्शनमा ल्याउने तयारीमा मण्डलाकर्मी जुटेका छन् । विजय बरालले निर्माण गर्ने यो नाटकलाई मिल्सन राईले लेखेका हुन् । यो नाटकलाई पशुपति राईले निर्देशन गर्दै छिन् । नाटकको परिकल्पनाकार पनि पशुपति नै हुन् । मण्डला थिएटरले घोषणा गरेको सात निर्देशकको सात नाटक मध्ये पाँचौँ नाटकको मञ्चन यही ९ फागुन शुक्रवारबाट आफ्नो निर्माणमा सुरु हुन लागेको निर्माता एवम् अभिनेता विजय बरालले राजधानीलाई बताए ।
निर्माता विजयका अनुसार यो नाटक लोक कथा र मिथकबाट प्रभावित रहेको छ । मिल्सन राईले लेखेको यस नाटकले माझ किरातको मुन्दुम र श्रुति परम्पराबाट आएको कथालाई प्रस्तुत गर्ने पनि विजयले जानकारी गराएका छन् । जसले पितृसत्तात्मकता समाजमा पितृसत्तात्मक व्यवहार कसरी सुस्तरी प्रवेश ग¥यो र यसले व्यवहारगत रूपमा कसरी आफ्नो विचार हाबी गरायो भन्ने कथा समेटिएको छ ।
पछिल्लो पटक नाटकका निर्माता विजय बराल नाजिर हुसेनको लेखन निर्देशनको नाटक ‘हरि हजुरबा’मा प्रमुख पात्रका रूपमा थिए । सो नाटकमा आफूले दर्शकको प्रशस्त माया पाएको बताउँदै विजयले भने,‘अभिनयसँगै मञ्चमा त आइरहेको नै छु, साथै रंगमञ्चका सुन्दर सिर्जनाहरूमा निर्माताका रूपमा सिर्जनात्मक र प्राविधिक जिम्मेवारी पनि लिइरहेको नै हुँ, यस पटक देखिने गरी नै लेम्लेम्मा छु’, यसलाई साथ दिन पनि उनले दर्शकलाई आग्रह गरेका छन् ।
नाटक उम्लिँदो खरानी र लेम्लेम्मालाई निर्देशक पशुपति राई स्वयंले पारम्परिक र सांस्कृतिक परिवेश र भेषभुषमा परिकल्पना गरेको बताएकी छिन् । राईले लोककथालाई आफ्नो संश्लेषणसहित नाटक पुनः सिर्जना गरिएको बताएकी छिन् ।उनका अनुसार यो नाटकलाई रंगमञ्चमा लोक र आधुनिक शैलीको मिश्रणका साथ प्रस्तुत गरिँदै छ ।
यो नाटकमा ठिल्ने ल्हमो, प्रयास वान्तवा राई, रिन्छेन कुन्छोक मोक्तान, रोशनी स्याङ्बो, प्रायदीप राई, दिग्गज खत्री, युवाहाङ राई, बलबहादुर राई र रमिला मोक्तानको मुख्य भूमिका रहने छ । यो नाटकलाई रोशनी स्याङ्बोले सह–निर्देशन गरेकी छिन् ।
यही शुक्रवारबाट सुरु हुने यो लोक नाटक आउँदो ३ चैतसम्म सोमबारबाहेक हरेक दिन साँझ ५ः३० बजे र शनिवार दिउँसो १ बजे तथा साँझ ५ः३० बजे गरी दुई पटक मण्डला नाटकघर थापागाउँमा नियमित मञ्चन हुने पनि निर्माता विजय बरालले जानकारी गराएका छन् ।






