बिम्स्टेकमा भाग लिन प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमणमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं बैठकमा भाग लिन थाइल्यान्ड पुगेका छन् ।

कूटनीतिक सम्बन्ध स्थापनाको ६५ वर्षपछि नेपालबाट उच्चस्तरीय भ्रमण

बिम्स्टेकको छैटौं शिखर सम्मेलन थाइल्यान्डमा २ अप्रिल अर्थात् २० चैत बुधबारदेखि ४ अप्रिल अर्थात् २२ चैतसम्म हुँदै छ । शिखर सम्मेलनमा सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको सहभागिता ४ अप्रिलमा मात्र हुनेछ । त्यसअघिका दुई दिन बिम्स्टेक सचिव तथा विदेशमन्त्रीस्तरीय बैठक हुनेछन् ।

नेपालको सरकार प्रमुखका तर्फबाट प्रधानमन्त्री ओलीको भ्रमण नेपाल र थाइल्यान्डबीच कूटनीतिक सम्बन्ध गाँसिएको ६५ वर्षपछि पहिलो औपचारिक भ्रमण हो । बिम्स्टेकको अवसर पारेर थाइल्यान्डले गरेको निमन्त्रणामा प्रधानमन्त्री ओलीले सरकार प्रमुखको हैसियतमा भ्रमण गरेका हुन् । ३० नोभेम्बर १९५९ मा नेपाल र थाइल्यान्डबीच कूटनीतिक सम्बन्ध गाँसिएको थियो । कूटनीतिक सम्बन्धको ६५ वर्षको इतिहासमा थाइल्यान्डका प्रधानमन्त्रीले एकपटक नेपाल भ्रमण गरेका थिए । यसबाहेक दुई देशबीच उच्चस्तरीय भ्रमण भएको पाइँदैन । थाइल्यान्डका तत्कालीन प्रधानमन्त्री प्रयुत चान–ओ–चाले सन् २०१८ मा नेपालको भ्रमण गरेका थिए । बिम्स्टेकको बैठकका कारण प्रधानमन्त्री ओलीले थाइल्यान्ड भ्रमणको अवसर पाएका हुन् ।

यसअघि गत १८ र १९ भदौमा छैटौं बिम्स्टेक शिखर सम्मेलनको मिति तय भएकामा थाइल्यान्डको राजनीतिक परिवर्तनका कारण अन्तिम समयमा स्थगित भएको थियो । ३० साउनमा थाइल्यान्डको संवैधानिक अदालतले त्यहाँका निवर्तमान प्रधानमन्त्री स्रेथा थाविसिनलाई नैतिक उल्लंघन गरेको ठहर गर्दै पदमुक्त गरेको थियो । थाइल्यान्डका प्रधानमन्त्री थाविसिन पदमुक्त भएसँगै बिम्स्टेक शिखर सम्मेलन हुने कि नहुने भन्ने प्रश्न उठेको थियो ।

अन्तिम समयमा राजनीतिक परिवर्तनसँगै थाइल्यान्डको विदेश मन्त्रालयले सम्बन्धित मुलुकलाई पत्राचार गर्दै सम्मेलन स्थगित भएको जानकारी दिएको थियो । थाइल्यान्ड नयाँ सरकार गठनको प्रक्रियामा रहेको र सरकार गठनमा ढिलाइ भएका कारण सम्मेलन स्थगित गर्नुपरेको थाइल्यान्डको विदेश मन्त्रालयले जनाएको थियो । शिखर सम्मेलन सामान्यतया प्रत्येक २ वर्षमा आयोजना गरिन्छ । बिम्स्टेकले स्थापनाको २६ वर्षमा सन् २०२२ मा बडापत्र (चार्टर) ल्याएको थियो ।

६ जुन १९९७ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)मा दक्षिण र दक्षिणपूर्व एसियाका बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्ड गरी सात देश सदस्य छन् । बिम्स्टेकको चौथो शिखर सम्मेलन १४ र १५ भदौ २०७५ मा काठमाडौंमा भएको थियो, जसको अध्यक्षता प्रधानमन्त्री ओलीले गरेका थिए । बिम्स्टेकको पाँचौं शिखर सम्मेलन श्रीलंकाको कोलम्बोमा ६ चैत २०७८ मा भएको थियो । तेस्रो शिखर सम्मेलन २० फागुन २०७० मा म्यानमारमा भएको थियो भने दोस्रो सम्मेलन २८ कात्तिक २०६५ मा नयाँदिल्लीमा र पहिलो शिखर सम्मेलन १६ साउन २०६१ मा थाइल्यान्डमा भएको थियो ।

बिम्स्टेकले दक्षिण एसिया र दक्षिण पूर्वी एसियालाई जोडेको छ । यस क्षेत्रको जनसंख्या १ अर्ब ७३ करोड छ । विश्वको करिब २२ प्रतिशत जनसंख्या रहेको यस क्षेत्रका मुलुकले पछिल्ला ५ वर्षमा ६ दशमलव ५ प्रतिशतको औसत आर्थिक वृद्धिदर हासिल गरेका छन् ।

गठबन्धनका रूपमा रहेको यस संगठनको उद्देश्य सदस्य राष्ट्रहरूबीच साझा सरोकारका विभिन्न विषयमा आपसी सहयोगमार्फत साझा समृद्धि हासिल गर्ने रहेको छ । बिम्स्टेकको खास विशेषता भनेको यसले निर्धारण गरेका विशेष कार्य क्षेत्र हुन् । सुरुमा व्यापार, प्रविधि, यातायात, पर्यटन र मत्स्य व्यवसाय यसका कार्यक्षेत्र थिए । तर, सन् २००८ मा कृषि, जनस्वास्थ्य, गरिबी निवारण, प्रतिआतंकवाद, वातावरण, संस्कृति, जनस्तरको सम्बन्ध र जलवायु परिवर्तनलाई यसका कार्यक्षेत्रका रूपमा थप गरिएको थियो ।

६ जुन १९९७ मा बिम्स्टेक स्थापना भएको थियो भने सदस्य मुलुकका कार्यकारी प्रमुखहरूले बिम्स्टेक बडापत्रमा ३० मार्च २०२२ मा हस्ताक्षर गरेका थिए । नेपालबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बडापत्रमा हस्ताक्षर गरेका थिए ।

सार्कको विकल्पका रूपमा भारतले बिम्स्टेकलाई अघि सारेको टिप्पणी हुँदै आइरहेको छ । पछिल्लोपटक सन् २०१४ मा सार्कको १८औं शिखर सम्मेलन नेपालमा भएपछि अर्को सम्मेलन भएको छैन । १९औं शिखर सम्मेलन गराउने जिम्मा पाकिस्तानले पाएको भए पनि अन्तिम समयमा भारतले सहभागी नहुने जनाएपछि स्थगित हुनपुग्यो ।

सन् २०१६ को १५ देखि १९ नोभेम्बरसम्म पाकिस्तानले १९औं शिखर सम्मेलनको तयारी गरे पनि भारत र पाकिस्तानबीच काश्मीरको विवादलाई लिएर द्वन्द्व चलेको थियो । सो द्वन्द्वका कारण भारतले सार्क सम्मेलनमा भाग नलिने भन्यो । त्यसपछि सार्क शिखर सम्मेलन अनिश्चित बनेको हो । सार्क शिखर सम्मेलन अनिश्चित बनेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाइमा पाकिस्तानबाहेकलाई समेटेर बिम्स्टेक गठन भयो । बिम्स्टेकले भने निरन्तरता पाइरहेको छ ।

प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमणमा के–के छ कार्यतालिका ?
प्रधानमन्त्री ओलीको भ्रमणका बेला थाइल्यान्डका समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक हुनेछ । द्विपक्षीय बैठक सकिएपछि दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र थाइल्यान्डबीच आठवटा समझदारी (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । हस्ताक्षरका लागि तयार गरिएका आठवटा एमओयू तथा सम्झौतापत्रमध्ये दुईवटा सरकारी निकायबीच र ६ वटा गैरसरकारी निकायहरूबीच हस्ताक्षर हुनेछ ।

दुई देशका सरकारी निकायबीच यसपटक पर्यटन र संस्कृति सम्बन्धमा दुईवटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । काठमाडौं विश्वविद्यालय र थाइल्यान्डको एक विश्वविद्यालयबीच पनि एक सम्झौता हुँदै छ । नेपाल नेत्र ज्योति संघ र थाइल्यान्डको संस्थाबीच पनि एक सम्झौतामा हस्ताक्षर हुनेछ । द्विपक्षीय बैठकपछि थाइल्यान्डका समकक्षीसँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछन् ।

प्रधानमन्त्री ओलीले थाइल्यान्डका नरेशसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । द्विपक्षीय औपचारिक भ्रमणका सबै कार्यक्रम बुधबार (आज) सकिनेछ । ३ अप्रिल बिहान थाइल्यान्डका प्रतिष्ठित व्यवासायीहरूसँग प्रधानमन्त्री ओलीको भेटघाट र छलफल गर्ने कार्यक्रम छ । त्यही दिन दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजना गर्ने एक कार्यक्रमलाई उनले सम्बोधन गर्नेछन् । त्यसपछि उनी साँझ बिम्स्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक डिनरमा सहभागी हुनेछन् ।

४ अप्रिल बिहान प्रधानमन्त्री ओली मेरिटाइम ट्रान्सपोर्ट कोअपरेसन एग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा सहभागी हुनेछन् । त्यही दिन दिउँसो प्रधानमन्त्री ओलीको बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुने र सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

बिम्स्टेक शिखर सम्मेलन सकिएपछि ४ अप्रिल साँझ प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग बैंककमा भेटवार्ता गर्ने कार्यक्रम छ । साँझ बैंककस्थित नेपाली दूतावासमा हुने कार्यक्रममा उनी सहभागी हुनेछन् ।

यसअघि प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी मोदीबीच यसै वर्ष अमेरिकाको न्युयोर्कमा राष्ट्रसंघको महासभाको साइडलाइनमा भेटवार्ता भएको थियो । थाइल्यान्ड भ्रमण सकेर प्रधानमन्त्री ओली ५ अप्रिल अर्थात् २३ चैतमा स्वदेश फर्कनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)

epaper

ताजा समाचार

आगजनीपछि बन्द भएको भाटभटेनी एक वर्षपछि खुल्यो