उदयपुर । रसुवाको भोटेकोशी बाढीमा परी सम्पर्क विहीन भएका उदयपुरका २१ जना मध्ये अहिले सम्म पाँच जना परिवार र प्रहरीको सम्पर्कमा आएका छन्, भने १६ जना सम्पर्क विहीन छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार विभिन्न कामको शिलसिलामा रसुवा, नुवाकोट र धादिङ क्षेत्रबाट बाढीपछि सम्पर्क विहीन भएका २१ जना मध्ये आइतबार बिहानसम्म पाँच जना सम्पर्कमा आएका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजन चापागाईँका अनुसार बाढीका क्रममा रसुवा, नुवाकोट, धादिङल जिल्ला विभिन्न तटीय क्षेत्रमा रोजगारी, व्यापार, पर्यटन तथा अन्य कामका लागि पुगेका उदयपुरका नागरिक प्रभावित भएका हुन् । उनले भने, ‘परिवारले सम्पर्क विहीन भएपछि प्रहरीलाई दिएको जानकारी अनुसार हाइड्रोपावर, टिमुरे बजार तथा अन्य क्षेत्रमा मजदुरी र रोजगारी गर्दै आएकाहरू सम्पर्क विहीन भएका थिए ।
त्यसमध्ये पाँच जना प्रहरी र परिवारको सम्पर्कमा आएका छन् । उनका अनुसार फेला परेकाहरूमा त्रियुगा नगरपालिका–९ का २५ वर्षीय भोलाराज कार्की, उदयपुरगढी गाउँपालिका–१ बाहुनीटारका २७ वर्षीय सुमन तामाङ, २९ वर्षीय जीवन तामाङ, कटारी नगरपालिका–५ सोक्लाहाका ४४ वर्षीय प्रेमबहादुर रोक्का र त्रियुगा नगरपालिका–२ मोथियाहीका २२ वर्षीय अनिल कामी रहेका छन् । उनीहरू पाँचै जना परिवारको सम्पर्कमा आएका छन् ।
त्यसैगरी, अहिले सम्म प्रहरी र परिवारको सम्पर्कमा नआएका सम्पर्क विहीनको संख्या १६ रहेको छ । प्रहरी उपरिक्षक चापागाईँका अनुसार सम्पर्क विहीन हुनेमा त्रियुगा नगरपालिका–१४ बाजगराका १८ वर्षीय भेषराज माझी, २० वर्षीय मिलन माझी र ३२ वर्षीय चन्द्रबहादुर माझी रहेका छन् । उनीहरू रसुवास्थित हाइड्रोपावरमा मजदुरका रूपमा कार्यरत थिए ।
त्यस्तै, कटारी नगरपालिका–५ सोक्लाहाका २० वर्षीय बुद्धिमान नेपाली छन् । उनी टिमुरे बजारको एक ग्यारेजमा काम गर्दै आएका थिए । लिम्चुङबुङ गाउँपालिका–४ बलम्ताका २४ वर्षीय सुमन समीर राई र त्रियुगा नगरपालिका–१ रुपनीका १७ वर्षीय बालकुमार राई रसुवाको टिमुरे पोस्टमा नेपाली सेनामा कार्यरत रहेको प्रहरी विवरणमा उल्लेख छ ।
त्यसैगरी त्रियुगा नगरपालिका–४ बगाहाका ४२ वर्षीय देवेन्द्र घिमिरे र त्रियुगा नगरपालिका–७ चक्लाघाट कुर्तिवारीका ४० वर्षीय ध्रुव बस्नेत पनि सम्पर्क विहीन छन् । उनीहरू माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत थिए । उदयपुरगढी गाउँपालिका–७ तिरिबासका ३१ वर्षीय अरुण मगर र बेलका नगरपालिका–९ कमलाबारी खोरियाका १७ वर्षीय करण विक पनि सम्पर्क विहीन रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी, कटारी नगरपालिका–५ सोक्लाहाका ४० वर्षीय मोहनबहादुर सार्की र ४८ वर्षीय ओमकुमार सार्की पनि बाढीपछि अहिलेसम्म सम्पर्क विहीन छन् । उनीहरू टिमुरे बजारमा काम गर्दै आएको प्रहरीको भनाइ छ । कटारी नगरपालिका–५ दुब्लेका ५० वर्षीय लोकबहादुर विक पनि सम्पर्क विहीन छन् । उनी टिमुरेमा ज्याला मजदुरी गर्दै आएका थिए । लिम्चुङबुङ गाउँपालिका–४ बलम्ताका २१ वर्षीय प्रविन राई पनि सम्पर्क विहीन छन् ।
उनी रसुवाको मौचाब पोस्टमा नेपाली सेनामा कार्यरत रहेको जनाइएको छ । त्यसैगरी मजदुरी गर्दै आएका कटारी नगरपालिका–२ खोक्साका ६६ वर्षीय गोपी राई र उदयपुरगढी गाउँपालिका–७ का २६ वर्षीय चन्द्रबहादुर तामाङ पनि अहिले सम्म सम्पर्क विहीन छन् । बाढीपछि आफ्ना आफन्त सम्पर्कमा नआएपछि उदयपुरका विभिन्न परिवार चिन्तित बनेका छन् । प्रहरीले सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उनीहरूको अवस्था ’bout थप विवरण संकलन भइ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
सम्बन्धित समाचार
इनरुवाको ग्रीनसिटीमा १२ हजार बिरुवा रोपिँदै
शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक, विद्यार्थी पुरस्कृत, चारजना सम्मानित
इनरुवाको ग्रीनसिटीमा १२ हजार बिरुवा रोप्ने अभियान सुरु
मोटरसाइकलको ठक्करबाट साइकल चालकको ज्यान गयो
३२ वर्षपछि दोबेला प्रहरी चौकी आफ्नै भवनमा
ऐसेलुखर्कमा तीनवटा खानेपानी आयोजना सञ्चालन, ३७० घरपरिवार लाभान्वित
भोटेकोशीको बाढीमा परी उदयपुरका १२ जना सम्पर्क विहीन
बर्खामा हिलो, हिउँदमा धुलोः दमक–चिसोपानी सडक






