आठ महिनामा भित्रियो साढे १० खर्ब रुपैयाँ

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो आठ महिनामा रेमिट्यान्समा वृद्धि भएको छ । गत साउनेदेखि फागुनसम्ममा रेमिट्यान्स आप्रवाह ९ दशमलव ४ प्रतिशतले वृद्धि भई १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६ दशमलव ९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ ।

मुलुकको आर्थिक अवस्था छैन कमजोर

फागुनमा मात्रै यसमध्ये १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । यसरी एकै महिनामा डेढ खर्ब रेमिट्यान्स भित्रिएको यो पहिलोपटक हो ।

वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएपछि रेमिट्यान्स रकम बढेको हो । यस वर्ष फागुनसम्म ३ लाख १७ हजार ६८ जना अन्तिम श्रम स्वीकृति र २ लाख १७ हजार ४ सय ३ जना पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ८५ हजार ३ सय ५२ र १ लाख ८२ हजार ७ सय ८३ रहेको थियो ।

रेमिट्यान्सको आप्रवाह बढेसँगै सरकारको चालू खाता पनि १ खर्ब ८० अर्ब ८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ६७ अर्ब ४५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोडले बचतमा रहेकामा अहिले १ अर्ब ३३ करोडले बचतमा रहेको छ ।

यसैगरी, शोधनान्तर स्थिति पनि ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २९ करोडले बचतमा रहेको छ ।

मुलुकबाट बाहिरिने रकमभन्दा बढी भित्रिने रकम भएपछि चालू खाता र शोधानान्तर बचतमा हुने गर्छ ।

गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि भई फागुन मसान्तमा २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा २०८१ फागुन मसान्तमा १३ दशमलव १ प्रतिशतले वृद्धि भई १७ अर्ब २७ करोड पुगेको छ ।

आव २०८१–८२ को आठ महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चिति १७ दशमलव २ महिनाको वस्तु आयात र १४ दशमलव ३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ । फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४२ दशमलव २ प्रतिशत, ११९ दशमलव ४ प्रतिशत र ३३ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा सो अनुपातहरू क्रमशः ३५ दशमलव ८ प्रतिशत, १०८ दशमलव ६ प्रतिशत र २९ दशमलव ३ प्रतिशत रहेका थिए ।

मुलुकको यो आर्थिक तथ्यांकले आर्थिक स्थिति कमजोर नरहेको देखिएको छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३ दशमलव ७५ प्रतिशत रहेको छ ।

आठ महिनामा आयात ११ दशमलव २ प्रतिशतले र निर्यात ५७ दशमलव २ प्रतिशतले बढेको तथ्यांक राष्ट्र बैंकको रहेको छ ।

नेपाल सरकारको खर्च ८ खर्ब ३९ अर्ब ३६ करोड र राजस्व परिचालन ७ खर्ब २० अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

विस्तृत मुद्राप्रदाय ४ दशमलव ८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९ दशमलव ९ प्रतिशतले बढेको छ । साउनदेखि फागुनसम्ममा चालू खर्च ५ खर्ब ८४ अर्ब १३ करोड रुपैयाँ, पुँजीगत खर्च ८२ अर्ब ३४ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १ खर्ब ७२ अर्ब ८९ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

आठ महिनामा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ७ खर्ब २० अर्ब ३५ करोड रुपैयाँ पुगेको तथ्यांकमा छ । यसअन्तर्गत कर राजस्व ६ खर्ब ३८ अर्ब ८० करोड रुपैयाँ र गैरकर राजस्व ८१ अर्ब ५५ करोड रुपैयाँ परिचालन भएको नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

सरकारका विभिन्न खातामा ३ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको राष्ट्र बैंकले जनाएको छ । गत असार मसान्तमा यस्तो मौज्दात ९३ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा घुम्न आउने पर्यटकले गरेको खर्चबाट सरकारले गरेको आम्दानीभन्दा नेपालीहरू बाहिर घुम्दा जाँदा गरेको खर्च ९१ अर्ब ४१ करोड रुपैयाँले बढी छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आव २०८१÷८२ को पहिलो आठ महिनाको तथ्यांकअनुसार नेपालमा भित्रने पर्यटकबाट ५६ अर्ब ७० करोड रुपैयाँ आम्दानी सरकारले गरेको छ । यस्तो आम्दानी गत वर्षको सोही अवधिको तुलनमा ९ दशमलव ७ प्रतिशतले बढी हो । गत वर्ष यस्तो आम्दानी ५१ अर्ब ६९ करोड रुपैयाँ थियो ।

नेपाल आउँदा पर्यटकले गर्ने यस्तो आम्दानीभन्दा नेपालबाट बाहिरिएका पर्यटकले गरेको खर्च झन्डै दोब्बरले बढी छ । नेपालबाट बाहिरिने नेपालीले गरेको यस्तो भ्रमण खर्च १ खर्ब ४८ अर्ब ११ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो भ्रमण व्यय १ खर्ब २२ अर्ब ८१ करोड रुपैयाँ थियो ।

आठ महिनामा शिक्षातर्फको व्यय ८० अर्ब १४ करोड रहेको छ । खुद सेवा आय ७५ अर्ब १३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ४३ अर्ब ६३ करोडले घाटामा रहेको देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम