मुम्बई । सञ्जय लीला भन्सालीको पछिल्लो वेब सिरिज ‘हीरामण्डी’को सफलता पछि यो चलचित्रकी अभिनेत्री शर्मिन सेगल यति बेला पुन चर्चामा छिन् । यो सिरिजको लागि आफूले वास्तवमै कडा परिश्रम गरेको यी अभिनेत्रीको कथन छ । यसमा काम गर्दा लागेको नातावादको आरोपको उनले खण्डन गरेकी छिन् ।
यी अभिनेत्रीको कथनमा निर्देशक सञ्जल लीला भन्सालीले उनलाई हीरामण्डीमा राख्न चाहेका थिएनन् । यो सिरिजको लागि उनले सबै प्रकृया पु¥याएर अडिसन दिनु परेको थियो । नाताले शर्मिन सेगल निर्देशक सञ्जय लीला भन्सालीको आफ्नै भतिजी हुन् । बिगतमा भतिजी भएकै कारण शर्मिनलाई चलचित्रमा सह निर्देशनको काम दिएको आरोप सञ्जयलाई लागेको थियो । त्यो आरोपबाट यस पटक आफूले निर्देशक भन्सालीलाई मुक्त गरेका जिकिर यी अभिनेत्रीले गरेकी छिन् ।
अभिनेत्री शर्मिन सेगलले सन २०१९ मा बलिउड चलचित्र उद्योगमा डेब्यू गरेकी थिइन् र उनको पहिलो फिल्म फ्लप साबित भयो। सञ्जयसँग चलचित्र मेरी कोम र बाजिराव मस्तानामा सह निर्देशकको रूपमा काम गरेपछि शर्मिनले सन २०१९मा चलचित्र मलालबाट नायिकाको रूपमा बलिउडमा डेब्यु गरेकी थिइन् । उनको यो पहिलो चलचित्र नै बक्स अफिसमा व्यावसायिक रूपमा असफल भएको थियो । तथापि उनले सो वर्ष सर्वश्रेष्ठ डेब्यु अभिनेत्रीको फिल्मफेयर अवार्ड चुमेकी थिइन् ।
यसपछि पनि उनले सन २०२२ मा चलचित्र अतिथि भुतो भवमा नायिकाको रूपमा काम गरिन् । उनको यो चलचित्र पनि व्यावसायिक रूपमा असफल भयो । यसपछि निर्देशक सञ्जल लिला भन्सालीले नै उनलाई चलचित्र छाडेर विवाह गर्न सुझाव दिएका थिए । काका सञ्जयकै पहलमा २०२३ मा आफूले विवाह गरेको यी अभिनेत्रीले बताएकी छिन् । एक धनी व्यापारीसँग विवाह गरेकी उनलाई विवाहपछि झनै चलचित्रमा काम गर्ने चाहना जाग्यो । जसका लागि उनले आफूलाई निकै तयारी गर्नु प¥यो । यही तयारीको क्रममा आफ्नै काकाको वेभ सिरिजमा अडिसन दिएर नायिकाको रूपमा छानिएको यी अभिनेत्रीले खुलासा गरेकी छिन् ।
उनले निर्देशक भन्सालीको वेब सिरिज हीरामण्डीमा आलम जेबको भूमिका निर्वाह गरेकी छिन् । यो भूमिकाबाट उनी यस पटक निकै चर्चामा आएकी छिन् ।
‘यस वेब सिरिजका कारण म हिट भएँ भने मेरो फ्यान फलोइङ पनि धेरै बढ्यो । तर पनि आफ्नो काका भएकै कारण नातावादले यो चलचित्रमा काम पाएको भन्ने आरोप मलाई लागेको छ’, यी अभिनेत्रीले भनिन्,‘अरू कलाकारले जस्तै मैले पनि यो वेभ सिरिजको लागि लाइनमा बसेर अडिसन दिएर निर्देशन टिमबाट छनौट भएपछि बल्ल यो चरित्र निर्वाह गर्ने अवसर पाएको हुँ ।’
यी अभिनेत्री भनाइमा निर्देशक भन्सालीले उनको अडिसन समेत लिन मानेका थिएनन् । तर निर्देशन टिमले अडिसन लिनु पर्छ भनेपछि भन्साली सहमत भएका थिए । अहिले भन्सालीले पनि यसको लागि धेरै आलोचनाको सामना गर्नु परेको छ । शर्मिन सहगललाई आफन्त भएको कारणले हीरामण्डीमा राखिएको भन्ने आरोप पूर्ण गलत भएको यी अभिनेत्रीले बताएकी छिन् ।
व्यापारी अमन मेहतासँग विवाह गरेकी उनी अहिले ५३ अर्व ८०० करोड रुपैयाँको मालिक्नी हुन् । उनको नाममा केही उद्योगहरू पनि छन् । आफू यति धनी भएर पनि चलचित्रको लागि आम नव अभिनेत्रीले जस्तो हिरामण्डीमा पूर्ण संघर्ष गरेको उनले खुलाएकी छिन् । त्यसैले आफुलाई नातावादको आरोप नगराउन उनको अनुरोध छ ।






