गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर १ नयाँगाउँ जिल्लामै पहिलो पटक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । आवश्यक ५१ सूचक पुरा गरेपछि नयाँगाउँलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
वडामा बाल संरक्षण, विपन्न तथा आश्रित बालबालिकाको सरकारसँग पहुँच, बालबालिकासँग सूचनाको पहुँच, बालबालिकाका लागि वडाको तर्फबाट छुट्याइएको बजेट, बालमैत्री नीतिहरु निर्माण तथा तिनको कार्यान्वयन, वडास्तरमा बाल संरक्षण समितिको गठन लगायतका मापदण्ड रहेका छन् । यस आर्थिक बर्षको सुरुवातदेखि नै धुर्कोटका सबै वडाहरु बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियानमा जुटेका छन् ।
जसमध्ये नयाँगाउँले सबैभन्दा पहिले सूचक पुरा गरी घोषणा गरिएको वडाध्यक्ष चेतमान कुँवरले जानकारी दिए । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले सबैभन्दा पहिले सूचक पुरा गरेकोमा वडालाई एक लाख पुरस्कार पनि प्रदान गरे ।
जिल्ला समन्वय समिति प्रमख दोर्ण खत्रीले वडाध्यक्ष कुँवरलाई घोषणाको प्रमाण–पत्र प्रदान गरेका थिए । ‘भविष्यका कर्णधार बालबालिकामाथि राज्यको लगानी महत्वपूर्ण छ ।’ खत्रीले भने, ‘अब जिल्लाका अरु वडाहरुले नयाँगाउँबाट सिक्नेछन् ।’ पालिका अध्यक्ष पोखरेलले आगामी आर्थिक बर्षसम्म सिंगो पालिकालाई नै स्थानीय बालमैत्री शासनयुक्त वडा घोषणा गर्ने लक्ष्य राखेको बताए ।
उनले बाबु–आमा नभएका बालबालिकाहरुलाई पालिकाले आश्रयको व्यवस्था समेत गरेको जानकारी दिए । वडा सचिव नारायण पोखरेलका अनुसार नयाँगाउँमा कुल एक हजार छ सय २१ बालबालिका रहेका छन् । जसमध्ये सबै बालबालिकाहरु विद्यालय जाने गर्दछन् ।






