पाटन, परिकार र पहिचान

अमृतनाथ तिमल्सिना

ललितकलाको सहर पाटनको पहिचानका विभिन्न आयाम छन् । संघीय राजधानी काठमाडौंस“गै जोडिएको विश्व सम्पदामा सूचीकृत ललितपुरको पाटन ‘पाहुनामैत्री’ सहर हो । पाटन, परिकार र पहिचान एकअर्काका पूरक हुन् । ‘खाना’ अर्थात् परिकारकै कारण यहा“ ‘कोही पनि अपमानित हुनुपर्दैनथ्यो’ भन्ने किंवदन्ती छ । सभ्यता विकासको शृंखलासँग जोडेर हेर्ने हो भने प्राचीन पाटन नगरी महर्जन (ज्यापू) समुदायको आधार क्षेत्र हो । खेतीपातीमा आश्रित पाटनका ज्यापू समुदाय अनाज निकासी गर्थे । २००४ सालतिर नेपालले अनाज निर्यात गर्ने वैधानिक व्यवस्था गर्दा पाटनका ज्यापूको अनाज थन्क्याउने ठाउँ नभएका कारण निर्यातसम्बधी व्यवस्था गरिएको मुलुककै जेठो पत्रिका ‘गोरखापत्र’ तथा पुराना प्रकाशनमा उल्लेख छन् ।

आधुनिक नेपालको ऐतिहासिक पक्ष हेर्दा विशेषगरी उपत्यकामा ज्यापू समुदायको खेतीपाती र पशुपालन व्यवसायका कारण आत्मनिर्भरता, कृषि उपज पर्याप्तता र खाद्य सामग्री सहज उपलब्धताका कारण परिकारको विविधता पाटनको पहिचान नै हो । पाटन पौराणिक र धार्मिक कथनका आधारमा पनि सम्पन्नता र अनाज उत्पादनको सम्पन्नतायुक्त क्षेत्र हो । सहकालदेव रातो मच्छिन्द्रनाथ मन्दिर भएको र मच्छिन्द्रनाथ जात्रा लगाइने ठाउँ भएकाले ‘पाटनमा अनिकाल आउँदैन’ भन्ने धार्मिक विश्वास छ ।

बदलिँदो समयसँगै मौलिक संस्कृति र प्राचीन शैली परिवर्तन भए । ज्यापू समुदाय आफूलाई ‘ज्यापू’ भन्न छोडेर थरले चिनिन लागे । विस्तारै पेशा वा व्यवसाय रूपान्तरण हुन थाल्यो । सहरीकरणले खेत कंक्रिटको जंगलमा रूपान्तरण हुन लागे । पाटनले प्रसिद्धि कमाएको अनाजको सम्पन्नता र निर्यात सम्बन्ध आधुनिकतामा जोडिएको छ, परिकारसँग । विशेषगरी नेवाः संस्कृति र सभ्यतालाई परिकार र स्वादले जीवन्त बनाउँदै पुस्तान्तरण गराएको अनुभूति हुन्छ । परिकार र स्वादलाई पाटनमा मनोरञ्जन, सुख र खुसी आदानप्रदानको बलियो माध्यमका रूपमा पुस्तान्तरण भइरहेको छ ।

नेवाः भोज
परिकार र स्वादस“ग जोडेर नेवाः संस्कृति र सभ्यतालाई निरन्तरता दिने र आधुनिक समय पर्यटनस“ग जोडेर समृद्धि साधनका रूपमा परिचय बनाएको छ नेवाः भोजले । यो भोज आत्मीयताको द्योतक पनि हो । नेवाः भोजकै कारण ‘पाटन र उपत्यकाका नेवाः राज्य पृथ्वीनारायण शाहले कब्जा गरेका हुन्’ भन्ने कथन पनि पाइन्छ । नेवाः परिकारको प्रशंसा गर्दै यहाँका राजाहरूलाई भोजमा अल्मल्याएर लडाइ“मार्फत् उपत्यका कब्जा गरेको सन्दर्भ र इतिहासलाई लिएर ‘नेवार बिग्रियो भोजले’ भन्ने व्यंग्यात्मक उखान पनि चलेको पाइन्छ, तर नेवाः समुदाय गर्वसाथ आफ्नो भोज ‘सम्पन्नता र मित्रता सम्मानको प्रतीक भएको’ दाबी गर्छन् ।

नेवाः भोजका लागि बसाइ र त्यसले दिने समानता अनुभूति समाजवादको अभ्यास हो । यसका परिकारको पौष्टिक सन्तुलन, जोहो गरिने प्रयत्न आत्मनिर्भरता र सम्पन्नताप्रतिको जाँगर तथा ऊर्जा निरन्तरताको प्रत्यक्ष प्रमाण हो । नेवाः भोजको निम्तो, सहभागिता आदानप्रदान शृंखलालगायतले बेजोड सामाजिक रूपान्तरण र विकास प्रतिबिम्बित गरेको छ ।

परिकार
नेवाः संस्कृति र समाजमा रहेको परिकारको महŒव विशेष छ । नेवाः खाजा, खाना, भोज, चटनी, अएला (घरेलु मदिरा), तंखा (थल्थले) तथा अन्य परिकारको विशिष्ट महŒव छ । अदुवा, कालो भटमास, हरियो भटमास, रातो मासु, मसलालगायत अनिवार्य मानिने सामग्री आयुर्वेदिक औषधि तथा आधुनिक स्वास्थ्य विज्ञानले सन्तुलित भोजका लागि आवश्यक सामग्री हुन् । नेवाः संस्कृति र सभ्यतामा यी सामग्री प्रयोग आदिमकालदेखि प्रयोग हुँदै आएको छ । यस्ता परिकार इतिहासमै सीमित हुने अवस्थाबाट जोगाउन पाटनमा रूपान्तरण र आधुनिकता क्रान्ति नै भयो । हालैका दिन ललितपुर महानगरपालिकाको पहल र सक्रियतामा यःमरीलाई ‘अमूर्त सम्पदा’मा सूचीकृत गराएर मुलुकै ‘पहिलो परिकार सम्पदा’का रूपमा परिचय दिलाएको छ । केही परिकार छन्, जसले पाटनको पहिचान विश्वरभर चिनाएका छन् ।

होनचा
प्राचीन संस्कृति र सभ्यता निरन्तरतालाई खाद्य पक्षबाट अनवरत साथ दिएको एउटा रेस्टुरेन्ट हो– होनचा । यो रेस्टुरेन्ट भए पनि परिकार उपलब्धताका लागि ‘ब्रान्डिङ’ भएको ठाउँ भएकाले यहाँ उल्लेख गर्न जरुरी छ । ललितपुर मंगलबजारस्थित होनचा सय वर्षभन्दा लामो इतिहास बोकेको खाजाघर हो । बाजे कृष्णलाल व्यञ्जनकारले सुरु गरेको होनचाः अहिले नाति अशोक व्यञ्जनकारले चलाइरहेका छन् । यो रेस्टुरेन्ट चलाउने व्यञ्जनकार ‘व्यञ्जन’ अर्थात् परिकार बनाउन निपूण समुदाय भनेरै ‘व्यञ्जनकार’ राखिएको मानिन्छ । तर, यहाँ भने तीनपुस्ताले निरन्तरता दिएको होनचाको पिरो आलु, बारा, राँगा, कुखुरा तथा खसीको मासुका परिकार तथा नेवाः खाजाका अनेक परिकार पाइन्छन् ।

१९९० सालको भूकम्पअघि भोजनालयका रूपमा रहेको खाजाघर ‘ब्रान्डिङ’ हु“दै अहिले आधुनिकतासहितको ‘होनचा’ भएको छ । विदेशीमाझसमेत होनचाका हरेक स्वाद चर्चित छन् । तीन पुस्तासम्म उही स्वाद र परिकार उपलब्धतालाई निरन्तरता दिइनु चुनौतीस“गै गौरवको विषय पनि हो । प्रसिद्ध कृष्ण मन्दिरपछाडि रहेको होनचामा सादा तथा अण्डा बारा, पिरो आलु, छोयला, भुटन, झोल मासु, अचार, हरियो भटमास, कालो भटमास र केराउलगायत दर्जनौं प्रोटिनयुक्त सन्तुलित भोजनका परिकार पाइन्छन् । यी परिकारका लागि पारखी बस्ने ठाउँ नभएर उभिएर लाइन लागेरसमेत खान खान तयार हुन्छन्, भइरहेका छन् ।

यःमरी
चामलको पिठोको पातलो कभरभित्र चाकू वा खुवा हालेर अण्डाकार बनाइएको स्वादिलो परिकार नै ‘यःमरी’ हो । नयाँ बाली भिœयाएपछि नयाँ धानको चामल पिसेर त्यसबाट बनाइने परिकार यःमरी आफन्त तथा साथीभाइ बोलाएर खुवाएर नेवाः समुदाय ‘यःमरी पुन्ही’ मनाउँछन् ।

पछिल्लो समय काठमाडौं उपत्यकामा पर्यटकीय महŒव बोकेको स्वाद र स्वास्थ्यका लागिसमेत उपयुक्त मानिएको यःमरीमा कृषि पेसा, नेवाः समुदायको परिकार र स्वादप्रतिको प्रेम झल्किने गरेको पाइन्छ । ‘यःमरी पुन्ही’मा चामलको पीठो, चाकू, कालो तिलको यःमरी बनाएर पूजा गरिने हुँदा यसको धार्मिक तथा सांस्कृतिक महŒव अझ गहन छ । लक्ष्मीपूजा तथा विभिन्न समय यःमरी विशेष रूपमा प्रयोग गरिन्छ ।

लाखामरी
‘नेवाः समुदाय राँगाको मासुको परिकार र पिरो अनि अऐला बढी प्रयोग गर्छन्’ भन्ने भ्रम पनि छ । उनीहरू शुद्ध भेज, मिठाइ र दूध र पिठोबाट बन्ने परिकार बनाउने, खाने र खुवाउने पनि गर्छन् । पाटनका नेवाःमा लोकप्रिय ‘लाखामरी’ व्यञ्जनकार, हलुवाईजस्ता समुदायका पेसा हो । उनीहरूको व्यवसाय नै मिठाइ पसल र जेरी, स्वारी, हलुवा बनाउने हो । नेवाः समुदायमा ‘लाखामरी’लाई लक्ष्मीपूजा तथा धार्मिक कार्यमा प्रयोग गरिने परिकारका रूपमा लिइन्छ ।

हरियो पर्दा
नेवाः समुदाय र संस्कृतिमा अलि नजिकिएर दुई दशकअघितिर केही समय बिताएकालाई ‘हरियो पर्दा’ भन्नेबित्तिकै एउटा दृश्य आ“खामा उत्रन्छ– साँघुरो कोठा, झ्यालमा हरियो पर्दा, छेवैमा जोडिएका काठका बेन्च टेबुल अनि हरियो जगमा रातो बिर्को लगाएको खारिलो लोकल रक्सीको जग या यस्तैयस्तै । ग्राहक बस्ने ठाउँछेवै स्टोभमाथि तातो न तातो तावामा पोलिँदै गरेको बारा र छेवैमा तातो मासुको पिरो झोल र अन्य परिकार । छोयला, कचिला, भुटन, पांग्रा, ह्याकुला, टाउको यस्तै अनेकथरी मासुका परिकार, गेडागुडी, सब्जीलगायतस“ग लोकल टाइचिन चिउराको ‘हाइजेनिक’ खाजासेट अर्थात् नेवाः खाजा हरियो पर्दाको अर्को विशेषता हो ।

घरेलु मदिरा (अऐला) सेवन होस् वा सस्तोमा ‘हाइजेनिक’ खाजा खानेलाई होस्, हरियो पर्दा भोक मेटाउने गज्जबको गन्तव्य थियो । घरजग्गा कारोबारीदेखि ठूला–साना व्यापारी अनि जागिरेदेखि सामान्य घरव्यवहार जीविका गर्ने दिउँसोदेखि राति १० बजेसम्म ‘ठों (छ्याङ)’देखि अऐलाको स्वादमा झुम्म हुन्थे भने अहिले सहरीकरणको चाप र आधुनिकतासँगै बदलिएका छन् । नेवाः समुदायको पहिचानजस्तै बनेको ‘हरियो पर्दा’ लोप हुनै लागेजस्तो छ । तर, ‘हरियो पर्दा’लाई पनि होनचालाई जसरी ‘ब्रान्डिङ’ गर्ने हो भने त्यसले निकै गहिरो सांस्कृतिक, पर्यावरणीय र स्वास्थ्यका दृष्टिले समेत फाइदा पु¥याउने विज्ञ बताउँछन् ।

‘हरियो पर्दा’ झ्यालढोकामा लगाउँदा कोठाको तापक्रम सन्तुलित हुने, वातानुकूलित र कार्बनडाइअक्साइड उत्सर्जन न्यूनीकरण गर्न सहयोग पुग्ने भएकाले यसको वातावरणीय महŒव छ । ‘हरियो पर्दा’का रेस्टुरेन्ट तथा प्राचीन नेवाः खाजाघरमा पाइने ‘ठों’ अर्थात् छ्याङ्, छोयला, चटामरी, बाराजस्ता परिकार पाइन्छन् । यिनै परिकारले चिनाएका छन्, पाटनको मौलिक र न्यानो सभ्यता ।

पाटनको नेवाः पहिचान यःमरी
पाटनका नेवाः समुदायको पहलमा यःमरीलाई ‘अमूर्त सम्पदा’मा सूचीकृत गरिएको छ । ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनका अनुसार पाटनका सबै गुठी तथा नेवाः समुदायको साझा निष्कर्ष, निर्णय तथा संस्थागत पहलमा नेपाल सरकारले ‘यःमरी’लाई ‘अमूर्त सम्पदा’का रूपमा सूचीकृत गरेको हो । ‘पाटनलाई संस्कृतिको सहर भनेर चिनाउन यो अर्को कोसेढुंगा साबित भएको छ,’ महर्जन भन्छन्, ‘पाटनका २१ जाति खलःको भेला गरेर संयुक्त पहल गर्ने सहमतिअनुसार यःमरीको नाममा महानगरपालिकाले नै पहल थालेको हो ।’

ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ सम्पदा र संस्कृति आधार बनाएर विशेषगरी पर्यटन व्यवसाय विस्तार भइरहेको बताउँछिन् । उनका अनुसार महानगरपालिकाभित्र सम्पदा घर (हेरिटेज होम) भनेरै व्यवसाय दर्ता पनि भइरहेको छ । ‘उनीहरूले सम्पदा र संस्कृतिलाई पर्यटन व्यवसायसँग जोडेका छन्,’ श्रेष्ठ भन्छिन्, ‘सामाजिक विकास, उद्योग, सम्पदा, पर्यटन, विभिन्न शाखा र समितिका कार्यक्रम एवं वडाका कार्यक्रमबाट पनि संस्कृति र सम्पदा क्षेत्रलाई पर्यटन व्यवसायस“ग जोडेर व्यवसाय प्रवर्धन भइरहेको छ ।’

सम्पदाविद् डा. मोनालिसा महर्जन ‘प्रकृति र मानिसको दैनिक जीवनशैलीस“ग जोडिएका कारण पनि यःमरीले नेपालको पहिलो अमूर्त सम्पदाको दर्जा पाएको’ बताउ“छिन् । ‘नेपालका भिन्न समुदाय र भूगोल विशेषका परिकार यसरी नै संरक्षण संवर्धन, प्रवर्धन र पुस्तान्तरण गर्नसके संस्कृतिस“गै अर्थतन्त्रमा समेत योगदान पुग्ने देखिन्छ,’ उनी भन्छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 357 times, 1 visits today)

epaper

ताजा समाचार

खेलकुद क्षेत्रमा ४ अर्ब ३ करोड बजेट