छ वर्षमा पनि बनेन २२ किलोमिटर

इलाम । निर्माण सकिएको नेपालटार मङ्गलवारे सडकको हालतले आजित बनेका पश्चिमी इलामका बासिन्दा गाग्रेभञ्ज्याङ्ग जीतपुर हुँदै बेलासे जोड्ने सडक चाँडो बन्ने भरोसामा थिए । तर निर्माण सम्पन्न गरिएको सडकको करिब चार किलोमिटर खण्ड एक वर्ष नहुँदै खाल्डाखुल्डी भएपछि स्थानीय यो बाटो बन्छ भन्नेमा विश्वस्त छैनन् । ६ वर्ष अगाडि निर्माण सुरु भएको सडक अवस्थाले सर्वसाधारण आजित छन् ।

गुणस्तरहीन सडक निर्माणमा म्याद थप्ने खेल र निकायको कमजोरीले अझै अनिश्चित

प्रदेश सरकारको लगानीमा सुरु भएको उक्त सडक खण्डको गाग्रेभञ्ज्याङ देखि जीतपुरे बजार सम्मको सडक काम नलाग्ने गरी बिग्रिएको छ । ढिलो गरेर निर्माण गरिएको सडक क्षत विक्षत भएपछि स्थानीय आक्रोशित बनेका हुन । जीतपुरे बजारका राम घिसिङले सडक निर्माणमा ठेकेदार र सम्बन्धित निकाय गैर जिम्मेवार भएको बताए । ठेक्का लागिसकेपछि सम्बन्धित निकायले कानमा तेल हालेको कारण सडकको अवस्था यस्तो भएको उनको गुनासो छ । गुणस्तरहीन सडक निर्माण, म्याद थप्ने खेल र निकायको कमजोरीका कारण गाग्रेभञ्ज्याङ–जीतपुर–बेलासे सडक अझै अनिश्चित बनेको छ ।

नेपालटार मङ्गलवारे सडकको हालत त छँदै छ अहिले बन्दै गरेको सडकको अवस्थाले यो सडक बन्छ भन्नेमा स्थानीय ढुक्क छैनन् । नेपालटार मङ्गलवारे सडकको वैकल्पिक मार्ग बन्छ भन्ने आस बोकेका पश्चिमी इलामका बासिन्दा बन्दै गरेको सडकको हालतले चिन्तित छन् ।

वर्षौँ देखिको प्रतीक्षा र करोडौँ खर्चपछि समेत सडक अधुरो हुँदा आक्रोशित बनेका स्थानीय निर्माण व्यवसायीको गैर जिम्मेवार, सम्बन्धित निकाय बेवास्ता र नेताहरूको राजनीतिक खेलकै कारण सडक अधुरो भएको बताउँछन् । स्थानीय कोपिला थापाले नेपालटार–मङ्गलवारे सडक पनि यसै गरी गुणस्तरहीन बनेर बिग्रिएको स्मरण गर्दै “वैकल्पिक भनेर बनेको यो सडक पनि त्यस्तै हालतमा रहेको बताइन । सडक बन्छ भन्दै पर्खेर बसेका स्थानीय अब हामी कहाँ जाने ? भन्दै प्रश्न गर्न थालेका छन् ।

पूर्वाधार विकास कार्यालय भद्रपुर झापाले २०७६ कार्तिकमा यो सडक निर्माणका लागि ठेकेदार प्यासिफिक ई लाइट जेभीसँग सम्झौता गरेको थियो । भ्याट सहित ३९ करोड ८६ लाखमा गाग्रेभञ्ज्याङ्ग जीतपुर बेलासे सडक निर्माणको सम्झौता भएको हो । गाग्रेभञ्ज्याङ्ग जीतपुर बेलासे सडक भनेर ठेक्का सम्झौता भए पनि यो सडक गाग्रेभञ्ज्याङ, जीतपुरे, नवमी, पञ्चमी हुँदै नामथला, सोयाक सम्म निर्माण हुने छ । साढे २२ किलोमिटर सडक कालोपत्रे गर्ने काम हालसम्म गाग्रेभञ्ज्याङ्गदेखि जीतपुर नवमी सम्म निर्माण भएको छ । बाँकी सोयाक देखि बेलासे सडक निर्माणमा पनि प्रदेशले कुनै चासो नदेखाएका कारण यो सडकको यात्रा जोखिम कायमै रहेको छ ।

कोसी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर रानाको घर छेउदेखि सुरु भएको यो सडकले प्रदेश सभा सदस्य गोविन्द गिरिको घर पनि जोड्दछ । आफ्नो घर गाउँमा निर्माण भएको सडकको अवस्था’bout दुवै जना बेखबर देखिन्छन् ।

ठेकेदार प्यासिफिक ई लाइट जेभीका प्रतिनिधि रवि लम्सालले प्रतिकुल मौसमले सडक निर्माणमा कठिनाइ भएको भन्दै गाग्रेभञ्ज्याङ्गदेखि जीतपुरे सम्मको बिग्रिएको सडकमा पनि पुन जोतेर कालोपत्रे गर्ने बताएका छन् । जीभीएसटी प्रकारको कालोपत्रे गर्दा सबै निर्माण सामग्रीको गुणस्तर मिल्नुपर्ने प्राविधिकहरू बताउँछन् ।

यस्तो सडक निर्माण पछि जति गाडी गुड्यो त्यति कालो देखिने बताउँछन् । लम्सालले चार किलोमिटर सडक दोहोराएर कालोपत्रे गरिने र बाँकी सडक खण्ड समेत चालु वर्षमा कालोपत्रे गरिसक्ने जानकारी दिए । तर उनले चालु वर्षमा सक्ने बताए पनि छ वर्षमा बनी नसकेको सडक अबको १० महिनामा सम्पन्न हुने अवस्था भने छैन ।

पूर्वाधार विकास कार्यालय भद्रपुर झापाका सी डी इ राजेश्वर महतोले उक्त ठेक्काको चार किलोमिटर सडकको पुन निर्माण नहुँदा सम्म ठेकेदारलाई रकम भुक्तानी रोकिएको बताए । उनले ठेकेदारसँग पटक पटक सम्पर्कमा रहेर काम गरेको बताए । तीन वर्ष अगावै निर्माण सक्नुपर्ने सडक ठेक्काको पटक पटक म्याद थप हुँदा पनि आधा निर्माण हुन सकेको छैन ।

यता ठेक्का सम्झौता अनुसार निर्माण कार्य सम्पन्न नहुँदै पूर्वाधार विकास कार्यालय भद्रपुर झापाबाट इलाममा जिम्मेवारी हस्तान्तरण भएको छ । प्रदेश सरकारले साबिकको सहरी विकास तथा भवन कार्यालयको नाम परिवर्तन गरी सबै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

२६ भाद्र २०८२