काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकार आफ्नो सिफारिसमा बनेको तर संविधान र संसद्बाहिरबाट सरकार बनाउन आफूले सिफारिस नगरेको प्रस्टीकरण दिएका छन् ।
एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको महाधिवेशन मिति तय गरेलगत्तै आइतबार सम्पादकहरू बोलाएर ओलीले कार्की नेतृत्वमा बनेको सरकार असंवैधानिक भएकाले यस्तो सरकारले बनाएका आयोग, छानबिन समितिलगायत कुनै पनि संरचनालाई आफूले मान्यता नदिने र उनीहरूले बोलाएका बेला उपस्थित नहुने घोषणा पनि गरेका छन् ।
२३ र २४ भदौमा भएको घटना जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको समितिले बयानका लागि बोलाउने र भ्रष्टाचार छानबिन आयोग बनाएर आयोगमा समेत उनलाई बयानका लागि बोलाउने तयारी भइरहेका बेला ओलीको यस्तो अभिव्यक्ति आएको हो ।
उनले आफूले राजीनामा दिएपछि राष्ट्रपति र प्रधानसेनापतिसमेत भएको एउटा परामर्श बैठकमा संविधान र संसद्बाहिरबाट सरकार निर्माणको विकल्पमा नजान सुझाव दिएको तर बेवास्ता भएको गुनासोसमेत गरे ।
उनले आन्दोलनका क्रममा आफू सेनाको सुरक्षा घेरामा बसेको र कार्की प्रधानमन्त्रीमा नियुक्त नभएसम्म सेनाले आफूलाई फोन चलाउनसमेत नदिएको भन्दै आफ्नो सिफारिसमा कार्की नेतृत्वमा सरकार बनेको आरोपको खण्डन गरे ।
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटकपटक ओलीकै सिफारिसमा कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेको र त्यसको साक्षी आफू भएको दाबी गर्दै आएका छन् । तर, ओलीले भने प्रचण्डले झुट बोलेको भन्दै यसमा सत्यता नरहेको बताए ।
उनले राष्ट्रपतिलार्ई गरेको लिखित सिफारिसको भाषा सम्झँदै भने, ‘वर्तमान असहज र असाधारण परिस्थितिमा यस्तो अवस्थालाई नियन्त्रण गरेर शान्तिपूर्ण अवस्थामा फर्काउनुपर्ने भएकाले संविधानभित्रैबाट निकास खोज्नका लागि संविधानको संरक्षक र पालक भएका नाताले सम्माननीय राष्ट्रपतिज्यूले नै संविधानको परिधिभित्र रहेर आवश्यक कदम चाल्न सिफारिस गर्छु भनेर सिफारिसमा लेखेको छु ।’
उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री हुन संविधानले हुन नदिने भन्दै त्यसपछिको प्रक्रिया पनि गलत भएको बताए । कुनै पनि हिसाबले सुशीला कार्कीको नियुक्तिलाई स्वीकार गर्न नसकिने भन्दै प्रधानमन्त्री नियुक्तिलाई आफूले असंवैधानिक नै भन्ने बताए ।
उनले संसद् पुनःस्थापनाको विकल्प नै नभएको बताए । उनले विगतमा आफूले संसद् विघटन गर्दा असंवैधानिक भन्नेहरूले अहिले विघटन गर्दा असंवैधानिक किन भन्न नसकेको भन्दै कटाक्षसमेत गरे ।
उनले आफू निर्वाचनको विरोधी नभई सरकारले निर्वाचन गराउनै नसक्ने र गराउनै नचाहेका कारण निर्वाचन हुन्न भनेर अभिव्यक्ति दिएको बताएका छन् । संवैधानिक बाटो हुँदाहुँदै त्यसलाई मिचेर सरकार गठन गरिएको र दलका नेताहरूलाई थुन्ने षड्यन्त्र भइरहेको दाबी गरे । सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’ बहसप्रति लक्षित गर्दै ओलीले यस्ता अनावश्यक अभियानको आफूले समर्थन नगर्ने स्पष्ट पारे ।
‘के हो नेपोबेबी ? यस्तो नचाहिने क्याम्पेनको म समर्थन गर्दिनँ, छोराछोरीलाई अभिभावकले माया गर्नु, हेरचाह गर्नु र अवसर दिनु स्वाभाविक हो, यसलाई नकारात्मक रूपमा चित्रण गरेर बालबालिका तथा युवालाई मानसिक तनाव दिइएको छ,’ उनले भने ।
आफ्नो पालामा प्रेस स्वतन्त्रता र नागरिक अधिकार सुरक्षित रहेको दाबी गर्दै ओलीले अहिले समाजमा त्रासको वातावरण सिर्जना भएको बताए । उनले संवैधानिक बाटोबाटै सरकार बनाउन सकिने अवस्था छँदाछँदै असंवैधानिक बाटोबाट सरकार बनेको भन्दै भने, ‘२५ गते संसद् बोलाइएकै थियो, संसद्ले धारा ७६ मा संशोधन गरेर गाँठो फुकाएर वर्तमान चरित्रकै सरकार पनि बनाउन सक्थ्यो, तर संसद् विघटन गर्ने सर्त राखेर जबर्जस्ती गैरसंवैधानिक सरकार बनाइएको छ ।’
हालैको युवा आन्दोलनलाई आफूले तीन भागमा हेरेको बताउँदै ओलीले ‘जेनजी’हरूको वास्तविक माग भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जाल खुलाउनु रहेको बताए । तर, पछि आन्दोलनमा घुसपैठ भएको र केही अराजक समूहले तोडफोड र आगजनीको तयारी गरेको उनको दाबी थियो ।
उनले २३ भदौको गोलीकाण्ड र २४ भदौको आगजनी तथा लुटपाट सुनियोजित षड्यन्त्रको तयारी भएको आरोप लगाए । आफूले २३ भदौमै गोलीकाण्डको छानबिन गर्न न्यायिक आयोग गठन गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराइसकेको पनि उनले स्मरण गराए ।
अध्यक्ष ओलीले आफ्नो सम्पत्ति छानबिन गर्न चुनौती दिएका छन् । ‘एउटा टोली बनाएर छानबिन गर्नुस्, विदेशका सबै सरकारसँग मेरो सम्पत्ति कति छ भनेर माग्नुस्, सम्पादकहरूले पनि बेग्लै टोली बनाएर अनुसन्धान गर्नुस्, म तयार छु,’ ओलीको भनाइ थियो ।
उनले आफूले सांसद र मन्त्रीको हैसियतमा प्राप्त गरेको केही तलबबाहेक बैंकमा पैसा नभएको बताउँदै आफूलाई भ्रष्टाचारमा जोड्न खोज्नु व्यर्थ भएको बताए । पार्टीमा उत्तराधिकारी तयार नगरेको भन्ने आरोपको खण्डन गर्दै उनले एमालेमा सयौं नेता नेतृत्व गर्न सक्षम रहेको बताए ।
उमेरको विषयमा टिप्पणी गर्दै उनले आफू ७३ वर्षको भएको र विश्वका अन्य शक्तिशाली देशका नेताहरू पनि आफूभन्दा जेठा वा उस्तै उमेरका रहेको उदाहरण दिए । ओलीले सम्पादकहरूसँगको संवादका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निवासमै कुटपिट र आक्रमण गरेको घटना न्यायसंगत नभएको भन्दै त्यस विषयमा मिडियाले केही नलेखेको गुनासो गरे ।






