भोजपुर । भौगोलिक रुपमा विकट मानिने भोजपुरको षडानन्द नगरपालिका १० साम्पाङमा केन्द्रीय विद्युत् विस्तार भएको छ । विगतमा टुकी बत्तीको भरमा रात कटाउदै आएका यहाँका ८५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् विस्तार भएको हो ।
केन्द्रीय विद्युत् विस्तार भएपछि यहाँका नागरिकको वषौँदेखीको टुकीको साहरामा रात कटाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । वषौँबाट टुकी तथा सोलारको उज्यालोमा जीवन गुजरा गरिरहेको अवस्थामा विद्युत्को केन्द्रीय लाईन विस्तार भएपछि दैनिकीमा परिवर्तन आएको स्थानीयबासी शिंहबहादुर तामाङले बताए ।
विद्युत् विस्तारले उज्यालोसँगै कुटानी, पिसानी तथा दैनिक कामकाजमा सहज भएको उनको भनाइ छ । अध्यारोमा रात काट्नु पर्ने अवस्थामा अहिले विद्युतिय उपकरण जडान गरेर काम गर्न सक्ने वातावरण निर्माण भएको उनको भनाइ छ ।
‘अध्यारोमा रात कटाई रहेको अवस्थामा केन्द्रीय विद्युत् लाइन जडान भएको छ’उनले भने,‘हाम्रो क्षेत्र भौगोलिक रुपमा निकै विकट भएपनि वडाले खेलेको भूमिका कारण बत्ती बल्यो । विद्युत्ले दैनिक जीवनयापनमा सहजता छ । ढिलै भएपनि विद्युत् उपभोग गर्न पाउँदा खुसी लागेको छ ।’
दुर्गम क्षेत्र भएपनि केन्द्रीय लाईन विस्तारले सूचनाको पहुँचमा जोडिन सहजता भएको स्थानीयबासी निर्मा शेर्पाले बताए । विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै गाउँमा बसेर देश विदेशको जानकारी लिन सक्ने अवस्था बनेको उनको भनाइ छ।
‘विद्युतले हाम्रो दैनिकी फेरिदियो’ उनले भने‘विद्युत् नहुँदा दैनिकी निकै कष्टकर थियो । विद्युतले गाउँले जीवनशैलीलाई सहज बनाएको छ । राज्य तहबाट भएको यो काम प्रशंशायोग्य छ । वडाको सकृयतामा भएको विद्युत् विस्तारको काम उदाहरणीय छ ।’
भौगोलिक रुपमा विकट रहेकोले अथह प्रयासपछि यहाँका ८५ प्रतिशत नागरिकमा केन्द्रीय विद्युत् विस्तार गर्न सफल भएको वडाध्यक्ष पेमदोर्चीले शेपाले बताए । निर्वाचनमा स्थानीयलाई विद्युत्को उज्यालोमा राख्छु भनेर गरेको प्रतिवद्धता पुरा हुने चरण पुगेको उनको भनाइ छ । आफू वडाको जिम्मेवारीमा आउँदा केहि स्थानमा मात्र विद्युत् पुगेको अवस्थामा अहिले अधिकांश गाउँमा विद्युत् विस्तार गर्न सफल भएको उनले बताए ।
‘म वडाको जिम्मेवारी आउँदा यहाँको केहि स्थानमा मात्र विद्युत् पुगेको अवस्था थियो’ वडाध्यक्ष शेर्पाले भने,‘अहिले ८५ प्रतिशत क्षेत्रमा विद्युत् विस्तार गर्न सफल भएका छौँ ।बाँकी ठाउँमा पनि धमाधम विस्तारको काम गरिरहेका छौँ । अव चाडै नै उज्यालो वडा घोषणा गर्ने लक्ष्य छ ।’
सीमित श्रोत साधनको अधिकतम उपयोग गर्दै विद्युत विस्तारमा प्राथमिकताका साथ काम गरिरहेको वडाध्यक्ष शेर्पाको भनाइ छ । नौ सय ४१ घरपरिवार रहेको यो वडाको कुल जनसङ्ख्या तीन हजार २८३ रहेको छ ।






