काठमाडौं । नेकपा एमालेले देशैभरको कार्यकर्ता पंक्तिलाई एकैपटक सशक्त बनाउँदै शक्ति प्रदर्शनको सन्देश दिनेगरी महाधिवेशनमा होमिने निर्णय गरेको छ । जेनजी आन्दोलनमा नेकपा एमालेलक्षित प्रहार भएको र त्यसबाट उठ्दै राष्ट्रिय राजनीतिमा एमालेको शक्तिसहितको सन्देश दिन आगामी ६ मंसिरमा काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने निर्णय गरेको छ ।
६ मंसिरमा शक्ति प्रदर्शन, १३ गते प्रतिनिधि चयन, २८ गते उद्घाटन
शनिबार गुन्डुमा बसेको पार्टी सचिवालय बैठकले महाधिवेशन प्रचार सन्देशसहितको जनप्रदर्शनसँगै १३ मंसिरमा देशैभर एकैसाथ महाधिवेशन प्रतिनिधि छान्ने निर्णय गरेको छ । एमालेले २७ देखि २९ मंसिरसम्म आयोजना गर्ने निर्णय गरेको महाधिवेशनलाई काठमाडौं केन्द्रित गर्ने भएको छ । पोखरामा गर्ने निर्णय गरिएको महाधिवेशनको स्थान परिवर्तन गरी काठमाडौं तय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
हरेक क्षेत्रबाट ४० वर्षमुनिका एक जना प्रतिनिधि
एमालेले महाधिवेशन प्रतिनिधि चयन गर्दा ४० वर्षमुनिका एक युवालाई हरेक निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्ने निर्णय गरेको पनि उपमहासचिव ज्ञवालीले जानकारी गराएका छन् । भूगोलतर्फका निर्वाचन क्षेत्रमा १ हजार २ सय सदस्यबराबर एक जना महाधिवेशन प्रतिनिधि चयन गरिने र प्रतिनिधिमा एक तिहाइ महिला चयन हुनुपर्ने निर्णय गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।
– महाधिवेशन: २७ देखि २९ मंसिर
– प्रतिनिधि चयन: १३ मंसिर
– प्रतिनिधि अद्यावधिक: १५ मंसिर
– संगठित सदस्य: ६,६७,६३० जना
– महाधिवेशन प्रतिनिधि: २,१०० जना
६ लाख ६७ हजारबढी सदस्य, २ हजार १ सय प्रतिनिधि
नेकपा एमालेको ११औं महाधिवेशनका लागि ६ लाख ६७ हजार ६ सय ३० पार्टी सदस्यबाट प्रतिनिधि चयन हुने भएको छ । पार्टी सदस्यमध्येबाट विभिन्न अनुपातमा १३ मंसिरमा एकै दिन प्रतिनिधि चयन गर्ने बताइएको छ । प्रतिनिधि चयन गर्दा प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मान्ने समेत ज्ञवालीले उल्लेख गरे । सबै क्षेत्र र मनोनीत गरी २ हजार १ सय हाराहारीमा प्रतिनिधि चयन हुने ज्ञवालीले बताए ।
एमाले महाधिवेशनमा २३ वटा जनसंगठनबाट दुई महिला र तीन खुला गरी पाँच जना तथा महासंघीय ढाँँचाका ६ वटाबाट थप दुई जना हुने व्यवस्था गरिएको उपमहासचिव ज्ञवालीले बताए । दलिततर्फ जिल्लालाई निर्वाचन क्षेत्र मानेर ५ सय दलितबाट एक जना प्रतिनिधि छानिने व्यवस्था गरिएको बताएका छन् । यस्तै, आरक्षित क्षेत्र ट्रेड युनियनतर्फ प्रदेशबाट दुई जना महिला र तीन जना खुला गरी पाँच जना प्रतिनिधि चयन हुनेछन् ।
सचिवालय बैठकले ३२ विभागबाट एक जनाका दरले र केन्द्रीय कार्यालयबाट एक जना प्रतिनिधि छानिने निर्णय गरेको छ । प्रदेश कमिटीबाट तीन जना खुला र दुई जना महिला गरी पाँच जनाका दरले प्रतिनिधि चयन हुनेछन् । केन्द्रीय कमिटी र आयोगका स्वतः प्रतिनिधिसहितका कुल प्रतिनिधिको ५ प्रतिशत मनोनयन गर्ने समेत गर्दा २ हजार १ सयको हाराहारी महाधिवेशन प्रतिनिधि हुने ज्ञवालीले बताए ।






