काठमाडौँ । नेपाली कांग्रेसले पार्टी नेतृत्व र पार्टीको वैधानिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले षड्यन्त्र भइरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने जनाएको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूको बैठकले पार्टीविरुद्ध भइरहेको भनिएको षड्यन्त्रको संसद्, संसदीय समिति र आम नागरिकबीच भण्डाफोर गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
उनले राज्य संरक्षित तथा राज्य नियन्त्रित व्यक्तिहरूले नेपाली कांग्रेस र पार्टी नेतृत्वमाथि भ्रम सिर्जना गर्ने प्रयास गरेको आरोप लगाए । त्यस्ता गतिविधिको पार्टीले खुलेर विरोध र प्रतिरोध गर्ने उनको भनाइ थियो ।
‘राज्य संरक्षित व्यक्तिहरूमार्फत नेपाली कांग्रेस पार्टी र यसको नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयास भएको भन्दै पार्टीले त्यसको कडा प्रतिवाद र विरोध गर्ने निर्णय गरेको छ । यस विषयलाई प्रतिनिधिसभा, संसदीय समितिहरू तथा आम नागरिकमाझ तथ्यसहित उठाइनेछ,’ रसाइलीले भने ।
उनले यस विषयलाई प्रतिनिधिसभा र संसदीय समितिमा समेत सशक्त रूपमा उठाइने बताए । कांग्रेसले संसद् अधिवेशन आह्वानको माग गरिसकेको उल्लेख गर्दै उनले संसद् र संसदीय समितिमार्फत घटनाको वास्तविकता बाहिर ल्याउने जानकारी दिए ।
रसाइलीका अनुसार पार्टीले निर्वाचनका बेला पार्टीको अद्यावधिक अवस्था र वैधानिकतासँग सम्बन्धित नरहेका व्यक्तिहरूलाई समेत जोडेर पार्टी नेतृत्वविरुद्ध भ्रम फैलाउने काम भएको निष्कर्ष निकालेको छ । राज्यले जुनसुकै प्रकारको छानबिन गर्न चाहे पनि कांग्रेस त्यसबाट पछि नहट्ने उनले स्पष्ट पारे ।
‘पार्टी कुनै पनि प्रकारको छानबिनबाट पछि नहट्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्दछ,’ उनले भने ।
बैठकमा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने विषयमा समेत छलफल भएको रसाइलीले जानकारी दिए । चाडपर्वको समयमा प्रभावित क्षेत्रका नागरिकलाई पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले सम्बन्धित क्षेत्रका सांसद तथा जनप्रतिनिधिलाई २० गते दिउँसो २ बजे पार्टी कार्यालयमा बोलाइएको उनले बताए ।
उनका अनुसार सभापति र पार्टी नेतृत्वले प्रभावित क्षेत्रका सांसद तथा जनप्रतिनिधिसँग छलफल गरी आवश्यक सहयोगका विषयमा निर्णय गर्नेछ ।
सम्बन्धित समाचार
कोष उपाध्यक्षमा नियुक्त आनीको नागरिकतामा प्रश्न
बालेन सरकार हल्लाउने बिचौलिया सेटिङ
पत्रकार धरपकडको छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
प्रधान न्यायाधीशलाई महाभियोग नलगाउन रास्वपा संसदीय दललाई निर्देशन
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन
निजामती अध्यादेश र महाभियोगको समानान्तर तयारी
अन्ततः लखेटिए दानबहादुर
भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेन भेटेको तस्बिर सार्वजनिक गर्न रोक





