काठमाडौं । काठमाडौँमा पहिलो पटक आयोजना गरिएको ‘काठमाडौँ हरर फिल्म फेस्टिभल २०२५’ विभिन्न देशका २५ वटा चलचित्र प्रदर्शन गर्दै आइतबार बेलुका सम्पन्न भयो । यो महोत्सव शुक्रवारदेखि आइतबारसम्म चलेको थियो । डरको उत्सव भनेर चर्चा गरिएको यो महोत्सवमा बिहान १० देखि बेलुका ७ बजेसम्म दर्शकको जमघट देख्न पाइयो ।
काठमाडौँको कमलपोखरीस्थित रसियन कल्चरल सेन्टरमा आयोजना गरिएको यो महोत्सवमा सहभागी मध्य उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गर्दै महोत्सव सम्पन्न गरिएको छ ।
यो महोत्सवमा आइतबार बेल्ुका समापन समारोहमा अवार्ड प्रदान गरिएको हो । जसमा उत्कृष्ट फिचर हरर चलचित्रको अवार्ड इन्डोनेसियाको चलचित्र ‘लाविनाक’ले हाँसिल ग¥यो । यस्तै महोत्सवमा उत्कृष्ट लघु हरर चलचित्रको अवार्ड मेक्सिकोको चलचित्र ‘ए इयर अफ म्यारिज’ले हासिल ग¥यो । महोत्सवमा यस पट उत्कृष्ट युवा चलचित्रकर्मीको अवार्ड बंगलादेशको चलचित्र ‘फोरिजन्स वन्ली’मार्फत नुहास हुमायुनलाई प्रदान गरियो । महोत्सवको अवार्ड समारोहमा निर्णायकहरूका तर्फबाट भारतको चलचित्र ‘बोक्सी’लाई जुरी अवार्ड प्रदान गरिएको थियो । यो चलचित्र भारतमा समेत जारी बोक्सी कुप्रथामा आधारित थियो ।

नेपालमा हरर जनराको चलचित्रको दर्शकहरू रहेको यो महोत्सवले जनाएको छ । महोत्सवमा उद्घघाटनदेखि समापनसम्म पनि हरर चलचित्र हेर्न आउने दर्शकको उपस्थिति राम्रो देखिएको थियो । तीन दिनसम्म चलेको यस महोत्सवले विश्वका विभिन्न देशका चलचित्रकर्मी र दर्शकलाई एकै छातामुनि ल्याउँदै हरर चलचित्र मार्फत डर, कला र कथनको अद्भुत संगम प्रस्तुत गरेको थियो ।
नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा विशेष अतिथि रहेका चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपालमा आयोजित काठमाडौँ हरर फिल्म फेस्टिभल २०२५ले नयाँ जनराको महोत्सव जन्माएको बताए । यो महोत्सव दर्शकका लागि पनि फरक स्वादको भएको उनको कथन थियो । नेपालमा हुने महोत्सवहरूलाई यसरी फरक फरक उद्देश्य र जनरामा आयोजना गर्दा चलचित्रको बजार र संस्कृतिको अझ प्रवर्धन हुने पनि उनले बताए ।
‘यो फेस्टिभलले हरर चलचित्रलाई कला र संस्कृतिको अभिव्यक्ति स्वरूप प्रस्तुत ग¥यो । रुस, इन्डोनेसिया, भारत, मेक्सिको, बंगलादेश र नेपालका चलचित्रहरू समेटिएको यस कार्यक्रम नेपाली चलचित्र क्षेत्रको नयाँ अध्याय बन्न सफल भएको छ,’ आयोजक संस्थाको उपाध्यक्ष शिव पुरीले महोत्सवको महत्व’bout प्रकाश पार्दै समापन समारोहमा भने । उनले चलचित्रलाई माध्यम बनाएर संस्कृति, सन्देश र सृजनशीलतालाई जोड्ने उद्देश्यले यो आयोजना गरिएको बताए । साथै यस महोत्सवले त्यो लक्ष्यतर्फको ढोका खोलेको पनि उनले जिकिर गरे ।
महोत्सवको समापन समारोहमा ‘काठमाडौँ हरर चलचित्र महोत्सव २०२६’ आयोजनाको पनि घोषणा गरियो । पहिलो वर्ष यस पटकको महोत्सव सफलताले आफूहरू उत्साहित भएर अर्को वर्षको घोषणा पनि अहिले नै गरेको आयोजक एवम् महोत्सव संयोजक शिव पुरीले कार्यक्रममा बताए । आयोजकले ‘बिगर, बोल्डर, एन्ड डार्कर’ भन्ने नारासहित सन २०२६ संस्करणको घोषणा गरेको हो ।






