चम्किन सकेन अजय देवगनको ‘दे दे प्यार दे २’

मुम्बई । बलिउड अभिनेता अजय देवगनको ‘दे दे प्यार दे २’ बक्स अफिसमा मध्यम साबित भएको छ । यो चलचित्रले १०० करोड भन्दा माथिको व्यापार गर्ने विश्वास यसका मुख्य अभिनेता अजय देवगनको थियो । तर यो चलचित्रले रिलिज भएको पहिलो हप्ता सातौँ दिनमा ५० करोड रुपैयाँको मात्र व्यापार गरेको छ ।

सन २०१९मा रिलिज भएको अजय देवगनको चलचित्र ‘दे दे प्यार दे’ले बक्स अफिसमा त्यति बेला ७३ करोड रुपैयाँको व्यापार गरेको थियो । कमेडी जनराको चलचित्र भएकाले त्यति बेला यो चलचित्र दर्शकले रुचाएका थिए । त्यसैको सिक्वेलको रूपमा यस पटक ‘दे दे प्यार दे २’ निर्माण गरिएको हो । त्यसैले अघिल्लो चलचित्रको तुलनामा यो सिक्वेलले राम्रो व्यापार गरेको विश्वास अजय देवगनको थियो ।

चलचित्र ‘दे दे प्यार दे २’ले रिलिज भएको आठौँ दिन शुक्रवार रातीसम्म स्वदेशी बक्स अफिसमा ५३.५० करोड रुपैयाँको ग्रस व्यापार गरेको छ । बलिउड चलचित्र बक्स अफिस ट्रयाकर स्याक्निल्क डटकमका अनुसार ‘दे दे प्यार दे २’ पहिलो दिन ८.७५ करोड रुपैयाँको व्यापार गरेको थियो । यो व्यापार त्यति उत्साहजनक थिएन । यो चलचित्रले दोस्रो शुक्रवार, आठौँ दिन स्वदेशी बक्स अफिसमा जम्मा २.२५ करोड रुपैयाँको व्यापार ग¥यो ।

शुक्रवारबाटै भारतमा दुई बलिउड चलचित्र ‘मस्ती ४’ र ‘१२० बहादुर’ पनि रिलिज भए । यसरी शुक्रवार थप दुई नयाँ चलचित्रहरू रिलिज भए पछि अजय देवगनको चलचित्र ‘दे दे प्यार दे २’को व्यापारमा ह्रास आएको छ ।

यस सिक्वेलमा अजय देवगनसँगै रकुल प्रीत सिंह, आर. माधवन, मीजान जाफरी, जावेद जाफरी, गौतमी कपूरलगायतको मुख्य भूमिका रहेको छ ।

यो रोमान्टिक कमेडी चलचित्रले पहिलो हप्ता मध्यम व्यापार गरे पनि दोस्रो हप्ताबाट यसको व्यापार खस्केको छ । तथापि ‘लाइट कमेडी’ चलचित्र भएकाले यसको व्यापार यति हुनुले आफूहरू दुःखी नभएको अजयले बताएका छन् । उनका अनुसार अहिले एक्सन चलचित्रको लहर चलेको बेला फरक स्वादको लागि यो चलचित्र ल्याइएको पनि अजयले बताएका छन् ।

‘मस्ती ४’ र ‘१२० बहादुर’ जस्ता नयाँ चलचित्रहरूले २ देखि ३ करोड रुपैयाँको दायरामा शुक्रबार पहिलो दिन व्यापार गरेका कारण आफ्नो चलचित्र ‘दे दे प्यार दे २’ले शनिवार र आइतबार राम्रो व्यापार गर्ने प्रतिक्रिया अभिनेता अजयले दिएका छन् । दर्शकले यसमा फरक स्वादको अनुभव गर्न पाएको पनि यी अभिनेताको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

विराटनगरमा महेश बस्नेतलाई रातो मसी छ्याप्ने को ?