काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । बुधबार आयोगले अधिकारीसहित पूर्वनिर्देशक मुरारी भण्डारी र कर्मचारी तथा ठेकेदार कम्पनीसमेतबाट १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ बिगो असुल हुनुपर्ने दाबी गर्दै मुद्दा दायर गरेको हो ।
अधिकारी र भण्डारीलाई पक्राउ गरिसकिएको छ भने उनीहरूलाई हिरासतमै राखेर थुनछेक गरिने आयोग सम्बद्ध स्रोतले जनाएको छ । बुधबार आयोगमा तारेख बुझ्न पुगेकै समयमा आयोगले पक्राउ गरी आरोपपत्रसहित विशेष अदालत लगेको हो । अदालतले हिरासतमै राखेर थुनछेक गर्न अनुमति दिएको खण्डमा उनीहरू हिरासतमै हुनेछन् ।
आरोपपत्रमा महानिर्देशक अधिकारीसहित उपप्रबन्ध निर्देशक सम्बृद्धि श्रेष्ठ प्रबन्धक नलविक्रम थापा, इन्जिनियर गुरुदत्त अधिकारी र कन्सल्टेन्सी फर्म अभियन्त्र प्रालिका विजय थापालाई प्रतिवादी बनाइएको छ । आयोगले मुद्दा दायर गरेसँगै अन्य प्रतिवादी फरार रहेको आयोगले जनाएको छ । भक्तपुरको नलिञ्चोकस्थित हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको आरोपमा आयोगले आरोपपत्र दायर गरेको हो ।
आयोगको ‘मिहिन छानबिन’मा
नागरिक उड्डयन प्राधिकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिहिन छानबिनको सूचीमा रहेको छ । आयोगमा प्राधिकरणविरुद्धका दर्जनौं उजुरी रहेको आयोग सम्बद्ध स्रोतले बताएको छ ।
गत १६ असोजमा आयोगले सिनामंगलमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट कागजातहरू बरामद गरेको थियो । प्राधिकरणमा विभिन्न परियोजनाको निर्माणमा अनियमितता भएको आशंकामा उजुरी परेपछि आयोगले मिहिन अनुसन्धान गरिरहेको आयोग सम्बद्ध स्रोतले बताएको छ ।
संसदीय निर्देशन
नागरिक उड्डयन प्राधिकरणका विभिन्न आयोजनाको सञ्चालनदेखि कर्मचारी नियुक्ति र अनुसन्धानका नाममा सञ्चालन हुने अनेकौं कार्यक्रमका नाममा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि सार्वजनिक महत्वको विषयका रूपमा संसद्को विषयगत समितिमा पनि पटकपटक प्राधिकरणका गतिविधिमा छानबिनको माग उठिरहेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी विषयगत समिति तथा सार्वजनिक लेखा समितिमा समेत प्राधिकरणका महानिर्देशक अधिकारीले पटकपटक बयान दिएका थिए । चित्तबुझ्दो जवाफ पनि नदिने र अनेकौं शक्तिकेन्द्रको प्रभावमा उम्किरहने अधिकारीलाई कारबाही गर्नुपर्ने आवाज संसदीय समितिमा पटकपटक उठेको थियो ।
जेनजीको ‘टार्गेट’मा पनि महानिर्देशक अधिकारी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि पक्राउ गरेका अधिकारीका विषयमा उठेका धेरै भ्रष्टाचारका घटनालाई लिएर जेनजी अभियन्ताले समेत चासो लिएका थिए ।
जेनजी आन्दोलनका क्रममा धेरै भ्रष्टाचार हुने कार्यालय र निकाय तथा त्यसको जिम्मेवार अधिकारीका रूपमा महानिर्देशक अधिकारीको नाम पनि अग्रपंक्तिमै थियो । जेनजी आन्दोलन सकिएलगत्तै बनेको नयाँ सरकारलाई ध्यानाकर्षण गराउँदै भ्रष्टाचारीलाई कारबाहीको माग गर्ने क्रममा अधिकारीलाई पनि कारबाहीको माग गर्दै जेनजी अभियन्ता तथा आन्दोलनकारीले विभिन्न निकायमा दबाब दिएका थिए ।
सम्बन्धित समाचार
पाटन दरबार स्क्वायर क्षेत्र अब सवारीरहित
अनुकूल काम नगरेको भन्दै पशुपति क्षेत्र विकास कोषवाट कर्मचारी फिर्ता
काँग्रेस केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनवारे निर्णय नगरी सकियो
‘विद्यार्थी भिसा’मा नेपाल छिरेर अवैध गतिविधि
अवैध गतिविधि बढेपछि नेपाल छिरेका विदेशी ‘अनलाइन ट्र्याकिङ’मा
एनआरएनए एकता सहमतिमा हस्ताक्षर
कांग्रेस महाधिवेशन २६ देखि २८ पुस, काठमाडौंमा
महाधिवेशनका लागि समय कम भयोः नेता कोइराला






