नेफ्स्कुनका सञ्चालकद्वारा कर्मचारीमाथि कुटपिट

काठमाडौं । । देशभरका बचत तथा ऋण सहकारीलाई सुशासन सिकाउने दाबी गर्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन) का सञ्चालक बीरबहादुर रावत ‘भोटे’ ले फिल्ड कार्यालयका कर्मचारीमाथि कुटपिट गरेका छन् ।

आरोपअनुसार, सहकारीको कार्यक्रममा काठमाडौं ओहोरदोहोर गर्दा लागेको प्लेन भाडा, ट्याक्सी तथा होटल खर्च भुक्तानी नभएको विषयलाई लिएर रावतले सदस्य सेवा केन्द्रमा कार्यरत कर्मचारी पुष्पराज तिम्सिना र मदन चन्दमाथि हातपात गरेका हुन्।

कुटपिटको भिडियो खिचिएको थाहा पाएपछि रावतले उल्टै कर्मचारीले आफूमाथि हातपात गरेको आरोप लगाउँदै प्रहरीमार्फत उनीहरूलाई थुनाएको पीडित पक्षको दाबी छ। कुटपिटको क्रममा रावतले कर्मचारीको कठालो समातेको दृश्यसमेतको भिडियो सार्वजनिक भइसकेको छ।

पीडित कर्मचारीहरूले रावतविरुद्ध प्रहरीमा हातपातसम्बन्धी निवेदन दिएको बताएका छन्। कुटपिटका क्रममा बोलिएका शब्दहरूबाट पनि खर्च भुक्तानीको विषयमा विवाद चर्किएको देखिन्छ।

नेफ्स्कुनका सञ्चालक रावत २०७९ सालको स्थानीय तह निर्वाचनमा बिरेन्द्रनगर नगरपालिकाको उपमेयर पदका उम्मेदवारसमेत थिए। उनले ८८८ मत प्राप्त गरी पाँचौँ स्थान हासिल गरेका थिए।

कर्मचारीहरूको भनाइअनुसार, नेफ्स्कुनका सञ्चालक पदको आडमा रावतले नियमविपरीत ऋण दिन दबाब दिने र नमानेमा धम्की दिने गरेको आरोप यसअघि पनि लाग्दै आएको छ। तिम्सिनाका अनुसार रावत कार्यालयमा आक्रोशित अवस्थामा प्रवेश गरी हातपात गर्न खोजेपछि आफू डराएको बताएका छन्।

अर्का कर्मचारी मदन चन्दले भने भिडियो खिचेको थाहा पाएपछि रावतले मुद्दा उल्ट्याउन प्रहरी प्रयोग गरी आफूहरूलाई थुनाएको दाबी गरेका छन्।

स्रोतका अनुसार, नेफ्स्कुन केन्द्रबाट निर्णय भएर स्वीकृत नभएका प्लेन, ट्याक्सी र काठमाडौं बसाइका होटल खर्च बिल मिलाएर भुक्तानी गर्न दबाब दिइएको र त्यसलाई अस्वीकार गरेपछि कुटपिटको घटना भएको हो।

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

epaper

ताजा समाचार

बस्ती छाड्दै मनोहराका सुकुमवासी, आज साँझदेखि डोजर चलाउने तयारी