कर्णालीका १० जिल्लामा एमालेले तोक्यो जिल्ला इन्चार्ज

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशका १० वटै जिल्लामा जिल्ला इन्चार्ज तोकेको छ । हालै सम्पन्न पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई जिल्लागत रूपमा इन्चार्जको जिम्मेवारी प्रदान गरिएको हो।

एमालेले ४० वर्षमुनिका युवा केन्द्रीय सदस्य दैलेखका सुशीलकुमार थापालाई रुकुमपश्चिम जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ। रुकुमपश्चिमलाई नेकपाको जनआधार बलियो रहेको जिल्लाका रूपमा हेरिँदै आएको छ।

यसैगरी सुर्खेत, कालिकोट, सल्यान, हुम्ला लगायतका जिल्लामा भने अनुभवी र पुरानै नेताहरूलाई निरन्तरता दिइएको छ। पार्टीका केन्द्रीय सदस्य नवराज रावतलाई सुर्खेत, डम्बरबहादुर सिंहलाई जाजरकोट, मिनासिंह रखाललाई दैलेख, बद्मी कुमारी बोहोरा (बुढा) लाई डोल्पा, दानसिंह परियारलाई जुम्ला र दल रावललाई हुम्ला जिल्ला इन्चार्ज तोकिएको छ।

त्यस्तै मुगु जिल्लाको इन्चार्जमा जीतबहादुर मल्ल, सल्यानमा गोविन्द पुन र कालिकोटमा नगेन्द्र शाही (नेसनल) लाई जिम्मेवारी दिइएको छ।

पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डोल्पाबाट बद्मी कुमारी बोहोरालाई प्राथमिकतामा राखेको जनाएको छ । उनी २०७४ सालको निर्वाचनमा कर्णाली प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ निर्वाचित भएकी थिइन् । महिला प्रतिनिधित्व र राजनीतिक अनुभवलाई ध्यानमा राख्दै पार्टीले उनलाई पहिलो प्राथमिकतामा राखेको छ ।

त्यस्तै दैलेखका सुशीलकुमार थापा ११औँ महाधिवेशनबाट सर्वसम्मत केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । उनलाई रुकुमपश्चिमको जिल्ला इन्चार्ज तोकिएको छ ।

पूर्व राज्यमन्त्रीसमेत रहेका नवराज रावत सुर्खेत जिल्ला इन्चार्ज बनेका छन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले–माओवादी सहकार्यका कारण उनी सांसद निर्वाचित भएका थि ए।

२०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भएका दल रावललाई हुम्ला जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ । २०७९ को निर्वाचनमा पराजित नगेन्द्र शाही कालिकोटबाट पुनः उम्मेदवार सिफारिससँगै जिल्ला इन्चार्ज पनि तोकिएका छन् ।

कर्णालीबाट राष्ट्रियसभा सदस्य तथा पूर्व प्रदेशसभा सदस्य मिनासिंह रखाललाई दैलेख जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यस्तै जुम्लाबाट युवा नेता दानसिंह परियार, मुगुबाट पूर्व कर्णाली प्रदेशसभा सदस्य जीतबहादुर मल्ल र वनगाड कुपिण्डे नगरपालिकाका पूर्व मेयर गोविन्द पुनलाई सल्यानको जिल्ला इन्चार्ज तोकिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

epaper

ताजा समाचार

बस्ती छाड्दै मनोहराका सुकुमवासी, आज साँझदेखि डोजर चलाउने तयारी