मुगुमा ७ दलबीच प्रतिस्पर्धा

मुगु । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुगु जिल्लामा मंगलबार सात राजनीतिक दलले आफ्ना उम्मेदवारको उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले तोकेको समयसीमा भित्र नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी (नेत्र विक्रम चन्द ‘विप्लव’) र प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार नेपाली कांग्रेसबाट खड्कबहादुर शाही, नेकपा एमालेबाट पूर्णबहादुर रोकाया, नेपाली कम्युनिस्ट पार्टीबाट चन्द्रबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भुवन टमटा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलबहादुर मल्ल, नेकपा माओवादी (नेत्र विक्रम चन्द) बाट रंगवीर परियार (संगम) र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ऐटन मल्लले उम्मेदवारी दर्ता गराएका छन् ।

सात दलका उम्मेदवार मध्ये नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार चन्द्रबहादुर शाही पुराना र अनुभवी राजनीतिज्ञ हुन । उनी वि.सं. २०४८, २०५१ र २०५६ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवारी दिएका थिए । २०५६ सालको निर्वाचनमा उनले नेपाली कांग्रेसका उम्मेदवार कर्मे जैसीलाई पराजित गरेका थियाे भने अन्य दुई निर्वाचनमा कांग्रेस नेता हस्तबहादुर मल्लसँग पराजित भएका हुन ।

शाही २०७४ सालको निर्वाचनमा कर्णाली प्रदेश सभा सदस्यमा नेकपा एमालेबाट प्रदेश निर्वाचन क्षेत्र (ख) बाट नेपाली कांग्रेसका खड्क बहादुर शाहीलाई पराजित गर्दै कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । एमाले विभाजनपछि उनी माधव नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादी हुँदै हाल नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध छन् ।

चन्द्रबहादुर शाहीबाहेक अन्य छ दलका उम्मेदवारहरू मुगुमा प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ अनुहारका रूपमा देखिएका छन् । नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकाया यस अघि जिल्ला समन्वय समिति मुगुको प्रमुखमा निर्वाचित हुनुभएकाे थियाे र हाल उनी नेकपा एमाले मुगुका अध्यक्ष समेत हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार खड्कबहादुर शाही कांग्रेसका पूर्व जिल्ला सभापति हुन् । शाही २०७४ को कर्णाली प्रदेश मुगु निर्वाचन क्षेत्र (ख) बाट उम्मेदवारी भएपनी चन्द्र बहादुर शाहीबाट पराजित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमटा मुगुमा ‘जेन-जी’ अभियानका अगुवाकारूपमा चिनिन्छ्न।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका बलबहादुर मल्ल, नेकपा माओवादी (नेत्र विक्रम चन्द) रंगवीर परियार (संगम) तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्लसहित नयाँ अनुहारका ६ जना पहिलोपटक प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

epaper

ताजा समाचार

बस्ती छाड्दै मनोहराका सुकुमवासी, आज साँझदेखि डोजर चलाउने तयारी