सुर्खेत–२ मा नयाँ अनुहारहरुबीच भीडन्त

सुर्खेत । संघीयता अघिका संसदीय निर्वाचनहरूमा सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानी र नेकपा एमालेका यामलाल कँडेलबीच मुख्य प्रतिष्पर्धा हुने गर्दथ्यो । ती निर्वाचनहरूमा थानी र कँडेलले पालैपालो जित–हार बेहोर्दै आएका थिए । जब मुलुक संघीय ढाँचामा रूपान्तरण भयो, कँडेलले प्रदेशसभा रोजे भने थानी प्रतिनिधिसभातर्फ केन्द्रित भए । यसरी २०५१ सालदेखि निरन्तर चल्दै आएको यी दुई नेताबीचको चुनावी प्रतिष्पर्धा २०७४ सालमा आएर रोकियो ।

संघीय पुनर्संरचनाका कारण यसअघिको सुर्खेत क्षेत्र नम्बर ३ पनि क्षेत्र नम्बर २ मै गाभियो । पुनर्संरचनापछि वीरेन्द्रनगर नगरपालिकाका (१५ र १६ बाहेक) १४ वडा, पश्चिम सुर्खेतका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका क्षेत्र नम्बर २ मा समेटिए ।

२०५१ सालको प्रतिनिधिसभा र २०६४ सालको संविधानसभा निर्वाचनमा कँडेल तथा २०५६ सालको प्रतिनिधिसभा र २०७० सालको संविधानसभा निर्वाचनमा थानीले जित हात पारेका थिए । प्रदेशसभा सुर्खेत २ (क) बाट २०७४ र २०७९ का दुवै निर्वाचनमा कँडेल विजयी बने । एमालेका केन्द्रीय सचिवसमेत रहेका कँडेल हाल कर्णाली प्रदेशको मुख्यमन्त्री छन् । उता, थानीले २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार नवराज रावतसँग पराजय भोग्नुपरेको थियो । २०७९ मा भने तत्कालीन वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका थानीले एमालेका अमृत बिसीलाई पराजित गर्दै पुनः राजनीतिक कमब्याक गरे ।

२०५१ सालदेखि यताका सबै निर्वाचनमा समान जित–हार बेहोर्दै आएका कांग्रेस नेता थानीले यसपटकको निर्वाचनमा विश्राम लिएका छन् । यही पुस २७–२९ मा सम्पन्न पार्टीको विशेष महाधिवेशनलगत्तै विज्ञप्ति जारी गर्दै उनले स्वास्थ्य प्रतिकूलताका कारण यसपटकको निर्वाचन नलड्ने घोषणा गरेका थिए । उनी विशेष महाधिवेशनमा नेता शेखर कोइराला पक्षमा थिए । तर जिल्लामा थानी समूहमा रहेका नेताहरू भने महाधिवेशनमा सहभागी भएका थिए । पछिल्लोपटक थानी समूहका भनेर चिनिएका जानकी सिंह र तिर्थजंग शाही केन्द्रीय सदस्य बने । विशेष महाधिवेशनमा भाग लिएका नेता नारायण कोइराला अहिले सुर्खेत–२ मा थानीको उत्तराधिकारीका रूपमा चुनावी मैदानमा उत्रिएका छन् । कोइराला जिल्लामा लामो समयसम्म थानीकै ‘कोर टिम’मा रहेर काम गरेका नेता हुन् ।

कर्णाली प्रदेशको राजधानी रहेको यो क्षेत्रमा यसपटक सबै नयाँ अनुहारहरू चुनावी मैदानमा देखिएका छन् । कांग्रेसका नारायण कोइरालासँगै एमालेका कुलमणि देवकोटा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का झकबहादुर मल्ल (सुदीप), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कविराम पुरीसहित १७ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । राप्रपाका पुरीबाहेक सबै उम्मेदवार वीरेन्द्रनगरक बासिन्दा हुन् ।

कांग्रेस उम्मेदवार कोइराला वीरेन्द्रनगरस्थित रेडियो भेरीका अध्यक्ष हुन् । उनीसँग सुर्खेत उपत्यका विकास समितिको अध्यक्ष भएर काम गरेको अनुभव छ । पार्टी राजनीतिमा भने उनले क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेको अनुभव छ । एमाले उम्मेदवार देवकोटा पार्टीको जिल्ला अध्यक्ष हुन् । उनी सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा लामो समयदेखि नेतृत्वदायी भूमिकामा छन् । नेकपाका उम्मेदवार मल्ल पार्टीका केन्द्रीय सदस्य हुन् । उनी सशस्त्र युद्धकालदेखि नै माओवादी आन्दोलनमा सक्रिय थिए । त्यस्तै रास्वपा उम्मेदवार सापकोटा यातायात व्यवसायी हुन् । उनी कांक्रेविहार यातायात प्रालिका अध्यक्षसमेत हुन् । रास्वपामा आवद्ध हुनुअघि उनी कांग्रेसको वीरेन्द्रनगर नगर समितिका सचिव थिए । राप्रपा उम्मेदवार पुरी पार्टीका जिल्ला अध्यक्ष हुन् ।

विगतका आम निर्वाचनहरूमा यो क्षेत्रमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिष्पर्धा हुने गरेको छ । यहाँ कांग्रेस र एमाले दुवैको संगठन बलियो मानिन्छ । कांग्रेसले युवा अनुहार, बलियो संगठन र आन्तरिक एकतालाई देखाउँदै जित निकाल्ने दाउमा छ भने एमाले पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई देखाउँदै र सांगठनिक मत जोगाउँदै जित निकाल्ने रणनीतिमा छ ।

रास्वपाले भने पुराना दलप्रति आम जनतामा देखिएको असन्तुष्टिलाई आफ्नो आधार बनाउँदै ती दलहरूको मत तान्ने रणनीतिसहित मैदानमा उत्रिएको छ । उम्मेदवारहरु घरदैलो, कार्यकर्ता भेटघाटसहित चुनावी रणनीति बनाउन जुटेका छन् । प्रमुख दलहरुको सांगठनिक अवस्था, विगतको चुनावी परिणाम र अहिलेको चुनावी माहौललाई हेर्दा यो क्षेत्रमा कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । यस क्षेत्रमा ७२ हजार मतदाता रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

epaper

ताजा समाचार

जेनजी हत्यारा र हाइज्याकरलाई बहिष्कार गरौं : थापा