डडेल्धुरा । आलिताल गाउँपालिका–७ बलौचामा २०७७ असोज ३० देखि कात्तिक २ गतेसम्म लगातार परेको बेमौसमी अविरल वर्षाले चुरे पहाड नै भाँसियो । पहाड धसिँदा ५६ घरधुरी विस्थापित भए । पाँच वर्ष बितिसक्दा पनि ती परिवारका सयौँ सदस्य अझै अस्थायी टेन्ट र चर्किएका घरमै बस्न बाध्य छन् ।
लगातार चार दिनको वर्षाले बलौचा गाउँमाथिको चुरे पहाड भासिँदा पुरै बस्ती असुरक्षित बन्यो । बालबालिकादेखि वृद्ध वृद्धासम्म सबैलाई नजिकैको विद्यालय र जंगलमा त्रिपाल टाँगेर बसालियो । गैरसरकारी संस्था बहुउद्देश्यीय विकास समाज (एमपीडीएस) डडेल्धुराले दातृ निकायको सहयोगमा खाद्यान्न, टेन्ट, त्रिपाल र कम्बल उपलब्ध गरायो। तत्कालीन आलिताल गाउँपालिका र जिल्ला प्राकृतिक विपद् जोखिम व्यवस्थापन समितिले पनि राहत वितरण गरेका थिए ।
२०७७ को बेमौसमी वर्षाले पहाडै धसिएपछि जंगलमा त्रिपाल टाँगेर गुजारास मेलगाजामा एकीकृत बस्ती निर्माण हुँदै, तर पीडित अझै अनिश्चिततामा
त्यो हिउँद बलौचाबासीले जंगलकै टेन्टभित्र बिताए । भू–गर्भविद्को टोलीले अध्ययनपछि उक्त स्थानमा पुनः बस्ती बस्न नसकिने निष्कर्ष निकालेको तत्कालीन गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ बताउँछन् ।
तर पाँच वर्ष बित्दा पनि पुनर्वासको स्पष्ट टुंगो लाग्न सकेको छैन । “राहतमा पाएका टेन्ट अहिले च्यातिएका छन्,” स्थानीय लक्ष्मी बोहराले भनिन, एमपीडीएसले दुई पटक टेन्ट, कम्बल, त्रिपाल दिएर गुजारा चल्यो, तर स्थायी समाधान भएन ।”
उनका अनुसार दर्जनभन्दा बढी परिवार पूर्वरूपमा विस्थापित भएका छन् । हाम्रो त खुट्टा राख्ने जमिन पनि बाँकी रहेन,” उनी भन्छिन्, “म अहिले जेठाजुको घरमा छोरीसँग बसिरहेकी छु । श्रीमान् तराईतिर मजदुरी गर्न गएका छन् ।”
कतिपय स्थानीय कैलाली र कञ्चनपुरतिर अर्काको जमिनमा अन्नपात लगाएर जीविकोपार्जन गरिरहेका छन्। तलका केही घरपरिवारको जमिन बचे पनि धेरैले सम्पूर्ण जीविकाको आधार गुमाएका छन् ।
खानेपानीको समस्या थप पीडा
बलौचामा पहिलेदेखि नै खानेपानीको समस्या थियो । गाउँमुनिको खोलामा टंकी बनाएपछि पिठ्यूँमा ग्यालेन बोकेर पानी ल्याउनुपर्छ । एक पटक पानी ल्याउन जाँदा–आउँदा करिब एक घण्टा लाग्छ । सोही स्थानमा रहेको पञ्चबली देवताको थान र पानी टंकीमा भने पहिरोले क्षति पुर्याएन ।
मेलगाजामा एकीकृत बस्ती निर्माण
बलौचा मात्रै होइन, सोही डाँडामुनिका चिलेगडा, ओवा, ऐरानी, घुपखिडा, खिन्नेभाडी, नौबिसे र वडा नंं १ को मालागाउँ पनि २०७७ को बाढी पहिरोबाट प्रभावित भए । गाउँपालिका अध्यक्ष शेर पार्कीका अनुसार संघ र प्रदेश सरकारसँग पटक–पटक बजेट माग्दा पनि लामो समयसम्म सुनुवाइ भएन ।
गत वर्ष संघीय समपूरक बजेट प्राप्त भएपछि मेलगाजामा चार करोड ९० लाख ८३ हजार रुपैयाँ लागतमा ३२ घर निर्माणको काम सुरु भएको छ ।
निर्माण सम्पन्न भएपछि ती घरहरू बाढी पहिरो पीडितका लागि तत्कालीन राहत सेल्टरका रूपमा सञ्चालन गरिने गाउँपालिका अध्यक्षले बताए । उनका अनुसार विपद्पीडित मात्र नभई भूमिहीन, घरवारविहीन सुकुम्वासी, अपाङ्ग, बेसहारा तथा परिवारको मुलीको निधन भई बिचल्लीमा परेका परिवारलाई समेत आश्रय दिइनेछ ।
चुरे पहाड भाँसिएको पाँच वर्ष पुग्दा पनि बलौचाबासी स्थायी पुनर्वासको प्रतीक्षामा छन् । अस्थायी टेन्ट च्यातिइसकेका छन्, रोजगारीको खोजीमा परिवार टुक्रिएका छन्, र पानी बोक्ने दिनचर्या अझै उस्तै छ । मेलगाजामा निर्माणाधीन एकीकृत बस्ती उनीहरूका लागि आशाको किरण बने पनि व्यवस्थापन कसरी र कहिले हुने हो भन्ने अन्योल अझै बाँकी छ ।






