बागमती किनारमा बदामसँगै बहलाएको मीनाको मन

काठमाडौं । काठमाडौंको बागमती नदी किनारमा बनेको पार्कमा हिउँदको मधुरो घामसंगै आफ्ना सपना साँच्नेहरुको लाइन छ । पार्कमा टहलाउने मानिसहरु र बेन्चमा गफ गर्दै दिन काट्ने बृद्धबृद्धाहरूलाई साक्षी बनाएर एउटी महिला बदामको झोला र थर्मससंगै मेहेनती मन बहलाइरहेकी छन् ।

“बदाम लिनुहोस्, चिया लिनुहोस” पार्कमा बस्नेहरुलाई असहज पनि नहुने तर मसिनो श्वरमा एउटै रफ्तारमा जिन्दगीका यात्रासंगै आफ्ना पाइला बढाइरहेकी मीना तामाङको दैनिकी पार्कमा समय विताउनेहरुका लागि परिचित नै छ ।

मीना तामाङ (४५) ले भोजपुरबाट सपनाको शहर काठमाडौँ सम्म बाध्यता र उत्साहको मिश्रणजस्तै गर्दै रोजेकी थिइन् । भोजपुरको षडानन्द नगरपालिकाबाट श्रीमानसँग काठमाडौँ आएकी मीनाका २० वर्ष आशा, सपना र संघर्षसंगै वितिरहेका छन् बागमतीमा बगेको पानीजस्तै । ‘अग्ला घरहरू, भिडभाड, अनि चारैतिरबाट गुड्ने गाडीहरू, जतिबेलै जताततै डर लाग्ने’ अतित सम्झिँदै मीन भन्छिन् ‘डरलाग्दो शहरले मलाई तर भर दियो, आएदेखि नै काम गर्दै आएको ।’

काठमाडौं आएको दश वर्षसम्म सुई–धागोसँग साथ निभाएर सिलाइकटाइ गरेकी मीनाले अर्काका कपडा सिउँदै, आफ्नो संसार बुन्ने कोसिस गरिन् । तर दशवर्षको मेहनतपछि पनि हातमा खासै केही जम्मा नभएपछि उनको मनले पेशा बदल्ने सोच ल्यायो । मीना भन्छिन ‘ज्याला बढेन तर खर्च बढिरह्यो अनि मनले सोच्यो काठमाडौं बस्ने सपना नबदल्ने भए अब पेशा बदल ।’

अरुका कपडा ज्यालामा सिलाएर हुन्न भन्ने निश्कर्ष निकालेकी मिनाले त्यसपछि आफ्नै सिलाइकटाइ व्यवसाय खोल्ने सपना देखेकी थिइन् । तर लगानी अभावका कारण सपना यसै थन्काएर विकल्प खोज्न बाध्य भइन् ।

घर–घर सफाइदेखि पार्कको खुला आकाशसम्म
व्यवसाय नभएपछि मिनाले अर्को बाटो रोजिन् ‘घर–घर गएर सफाइको काम गर्ने ।’ तर त्यहाँ पनि समस्या थियो । काम सकेपछि पैसा नदिने घरधनीहरू । महिनाभरि दौडधुप गर्दा पाँच–छ हजार मात्र हात लाग्थ्यो । मीन सम्झिन्छिन ‘महिनाभरी काम ग¥यो, तलब पाउने बेलामा यत्तिकै पैसा मागेजस्तो ।’

कामसंगै बैराग जस्तै गर्दा बागमती किनारमा नयाँ पार्क बन्यो । मान्छेहरू बिहान बेलुका हिँड्न थाले, घाम ताप्न थाले । मिनाले अवसर देखिन् । झण्डै दुई महिनाअघि उनले थर्मसमा चिया भरिन्, झोलामा बदाम, चाउचाउ, मकै राखिन् र निस्किन् पार्कतिर । अलमलिएर पार्कमा समय विताउने सोचेर टोलाउँदै निस्किएकी मीनाले आफ्नो भविष्य भेटाएको पार्कमा हँसिली हुँदै भन्छिन् ‘अहिले महिनाको पन्ध्र हजार सम्म कमाइ हुन थालेको छ ।’ खाली बस्नुभन्दा केही गरेको राम्रो हुँदोरहेछ । आफ्नै कमाइको पैसा हातमा भएपछि अर्कै जोश जाँगर र आत्मसम्मान आउँदो रहेछ ।

बिहान खाना खाएर दश–एघार बजेतिर घरबाट निस्किने मीना संखमुलको कोठाबाट बागमती किनारसम्म आफ्नो दैनिकी र पेशालाई सपनासंग जोडिरहेकी छन् । उनी भन्छिन ‘घाम राम्रो लागेको दिन मान्छे बढी हुन्छन्, बिक्रीपनि राम्रो हुन्छ ।’ मीना मात्र नभै संखमुलको यही पार्कमा उनीजस्तै अरू आठ–नौ जनाले यसरी नै खाजा बेच्ने गर्छन् । पार्क हेर्दा लाग्छ ‘अनौपचारिक अर्थतन्त्रको एउटा सानो, तर जीवन्त संसार ।’

‘पार्कमा बदाम र चिया सोध्दै जाँदा कोही रिसाउँछन्, कतिले ’कचकच गरेको’ भन्छन्, कसैले नखाने भन्यो भने कर पनि गर्दिनँ ।’ पार्कको अवस्था र ग्राहक बनाउने उपाय’bout मीनाले अनुभव साटिन् ।

मेहेनती मनको पारीवारिक संसारको कथा सुनाउँदै मीना भन्छिन् ‘श्रीमान भवनहरूमा वाटरप्रुफिङको काम गर्छन्, कहिलेकाँहि उहाँको कमाइ हुँदैन तर मेरो त सधैँ हुन्छ, काम भएको बेला ठीकै भए पनि नभएको बेला मेरै कमाइले घर धानिन्छ’ आफूले घर धानेको सुनाउँदा उनका मसिना आँखा खुसीले चम्किए ।

चिया र बदाम बेचेरै मीनाले छोरा काठमाडौंको मदन भण्डारी क्याम्पसमा बीबीएस पडाइरहेकी छन् । ‘उसको फी, खाजा खर्च त मैले बेचेको थर्मसको चियाले मात्रै धान्छ’ उनी भन्छिन् ।

मीनालाई मन नभए पनि छोराले विदेश जाने चाहना गरेको छ । बीबीएस सकेर विदेश जान खोजेको छोरालाई देशमै अड्याउन समेत उनले आफ्नो संघर्षपछिको सफलतालाई प्रेरक कथा बनाएर सुनाउँछिन् । ‘विदेश गएपनि दुःख नगरी केही हुँदैन, यतै केही गरिदियोस् भन्ने मन छ’ उनी भन्छिन् । कुनै काम सिकेर यहिँ काम गर्न सम्झाउँदै छोरालाई विदेश जाँदा पैसा डुबेका, बेठेगान परेका अरूका कथाहरू समेत सुनाएको बताउँदै भन्छिन् ‘छोरालाई मनमनै एउटा इच्छा पनि छ आमाले यो काम गर्नु नपरोस भन्ने त्यसकै लागि उ विदेश जान चाहन्छ ।’

टिकटकको युगमा मिना
हिउँदको घाम तापेर बस्नेहरूमाझ कहिलेकाहीँ मिनाले युवाहरूलाई मोबाइलमा टिकटक हेरेको देख्छिन् । टिकटकमा बरालिएको र गेम खेलेर बसेका युवाहरु उनलाई मन पर्दैन । “आँखामा असर पर्छ, समय बर्बाद हुन्छ, पढाइमा असर हुन्छ” उनी भन्छिन्, “टिकटक चलाएर पैसा आउँदैन, कम्तिमा आफूले जानेसकेको काम सघाइदिए घरमा केही सजिलो त हुँदो हो, आखिर उनीहरुको घरका अरु सदस्य त जिवन चलाउनै संघर्ष गरिरहेका पनि त हुँदा हुन् ।”

बागमती सफाइ अभियानपछि यो नदी किनारमा बनेको पार्क सहरवासीले विहान उन्मुक्तिको अनुभूति गर्ने र सास फेर्ने ठाउँ सँगै मीना र उनीजस्तै साना स्वरोजगारीका लागि सुखको ढोका भएको छ । मिनाजस्ता अनेक महिलालाई अनौपचारिक रोजगारीको एउटा सानो ढोका खुलेको छ ।

साँझपख घाम ढल्किँदै गर्दा मिना आफ्नो थर्मस र झोला समाउँछिन् । पार्कका बेन्चहरूमा बसिरहेका मानिसहरु बागमतीको पानीसंगै टहलिरहँदा मीनाको दैनिकी अघि बढ्छ । ग्राहक बोलाउँदै भन्छिन् ‘बदाम लिनु होस, चिया लिनुहोस् । आफ्नो २० वर्षे काठमाडौं बसाइ सम्झँदै मीना भन्छिन् ‘चियाको न्यानोपन र बदामको मायाबी साथले कहिल्यै नछोडोस् ।’

  • प्रशिक्षार्थी
तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

epaper

ताजा समाचार

उद्धारमा खटिने सशस्त्रका कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता र खटिएको दिनमा ५ सय उच्च जोखिम भत्ता