महाराजगञ्जको साम्प्रदायिक तनाव: सानो माइक विवादले ल्यायो त्रास, युवाहरू घाइते

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्जमा केही दिनअघि सुरु भएको साम्प्रदायिक विवाद अहिले क्रमशः साम्य बन्दै गएको छ। प्रशासनले निषेधाज्ञा हटाइसकेको छ भने बजार, विद्यालय र दैनिक गतिविधिहरू पनि क्रमशः सामान्य अवस्थामा फर्किदै छन्। तर यो घटनाले स्थानीय समाजमा गहिरो छाप छोडेको छ। सुरुमा सामान्य देखिएको असमझदारी कसरी ठूलो तनाव र त्रासमा परिणत भयो भन्ने कुरा यहाँ देखिन्छ।

चैत ६ गते, राम नवमीको दिन। हिन्दू समुदाय मन्दिरमा भजन–कीर्तनमा रमाइरहेका थिए। उही समयमा मुस्लिम समुदाय मस्जिदमा इदको अवसरमा नमाजमा व्यस्त थियो। दुवै समुदायले प्रयोग गरेको माइकको आवाजले सुरुवाती असमझदारी जन्मायो। प्रारम्भमा सामान्य भनाभनमा सीमित रहेको यो विषय विस्तारै युवाबीच तनावको रूपमा परिणत भयो।

स्थानीय बासिन्दा श्याम सुन्दर भन्छन्, “सुरुमा त केही होइन जस्तो लाग्यो, तर माइकको आवाजले कुरा बढायो। बिहानदेखि साँझसम्म मानिसहरू तनावमा थिए। हरेक कुरा डर र सतर्कतासँग हेर्नुपर्यो।”

स्थिति झन् जटिल बन्दै गयो जब काली माताको मन्दिरमा तोडफोड भएको घटना भयो। मन्दिरमा भजन भइरहेको बेला यो घट्ना भएकोले स्थानीय स्तरमा आक्रोश र त्रास फैलियो। समुदायबीच तनाव बढ्दै गएपछि सुरक्षाकर्मी परिचालन भए। प्रहरीले अवस्था नियन्त्रणमा लिन केही “हवाई गोली” चलाएको भए पनि केही युवाहरू घाइते भए। घाइतेमध्ये केहीको खुट्टा र पेटमा गोली लागेको थियो। उनीहरूमध्ये केहीको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ भने एक जनाको उपचार चितवन मेडिक कलेजमा भइरहेको छ।

बढ्दो तनावका बीचमा जिल्ला प्रशासनले तुरुन्त निषेधाज्ञा जारी गर्‍यो। प्रभावित क्षेत्रमा भेला, जुलुस, सभा र प्रदर्शनमा रोक लगाइयो। सुरक्षा निकायले उच्च सतर्कता अपनायो र क्षेत्र केही समयका लागि पूर्ण निगरानीमा राखियो।

घटनापछि प्रहरीले तीव्र अनुसन्धान सुरु गर्‍यो। मन्दिर तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ। पक्राउ परेका व्यक्तिहरूमा सलमान खान पठान, महताब अहमद धुनिया, अब्दुल अख्तर खाँ, अजमत अली मुसलमान, राहत हुसेन मुसलमान र मोहम्मद हुसैन मुसलमान रहेका छन्। उनीहरूमाथि कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी रुपेन्द्र सिंह भन्छन्, “अहिले स्थिति पूर्ण रूपमा नियन्त्रणमा छ। जनजीवन क्रमशः सामान्य अवस्थामा फर्किरहेको छ। हामीले केही हवाई गोली चलाएका थियौं, तर कसैको ज्यान जान नदिन सबै उपाय अपनाइएको हो। कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा सतर्कता अझै कायम छ।”

यस तनावपूर्ण अवस्थाले विद्यालय र परीक्षा कार्यक्रममा समेत असर पारेको थियो। कक्षा ८ को नगरस्तरीय परीक्षा र अन्य कक्षाका दोस्रो शिफ्टका परीक्षा स्थगित गर्नुपर्‍यो। शिक्षक र अभिभावकहरू अन्योलमा परे। तर सुरक्षा र जनजीवन प्राथमिकतामा राख्दै प्रशासनले यो कदम उठाएको थियो।

स्थानीय तह, राजनीतिक दल र समुदायका अगुवाहरूले सक्रिय संवाद सुरु गरे। जिल्ला प्रशासन कार्यालयका प्रमुख जनार्दन गौतमको नेतृत्वमा दुवै समुदायबीच मेलमिलापको प्रयास भयो। बासिन्दा र व्यापारीहरू भन्छन्, “सुरुमा सबै डराएको थिए, तर स्थानीय अगुवाहरूले बीचमा आएर मिलाउने काम गरे। अहिले बजार खुलेका छन् र जनजीवन क्रमशः सामान्य हुँदै गएको छ।”

विशेषज्ञहरूले यो घटनालाई सानो विवादको रूपमा शुरू भएर ठूलो संकटमा परिणत हुने उदाहरणको रूपमा हेर्छन्। उनीहरू भन्छन्, “सामाजिक संयमता, जिम्मेवार व्यवहार र संवादले मात्र यस्ता घटनाहरूलाई समाधान गर्न सक्छ। अफवाह र असहजतालाई समयमै रोक्नुपर्छ।”

स्थानीय समुदायले पनि शान्ति कायम राख्न पहल थालेको छ। विद्यालय, सामाजिक संस्था र स्थानीय नेताहरूले सामुदायिक कार्यक्रममार्फत संवाद, समझदारी र मेलमिलापलाई प्राथमिकता दिएका छन्। यसबाट भविष्यमा यस्ता घटनाहरूको पुनरावृत्ति नहोस् भन्ने आशा जगिएको छ।

यो घटनाले साना असमझदारी, माइकको आवाज वा अन्य दैनिक विवादहरूले पनि समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भन्ने संदेश दिएको छ। त्यसैले व्यक्तिगत जिम्मेवारी, सहिष्णुता र संवाद अनिवार्य छन्।

अहिले स्थिति सामान्य बन्दै गएको छ। बजार खुलिसकेका छन्, विद्यालय सञ्चालनमा फर्केका छन् र दैनिक जीवन सामान्य अवस्थामा फर्किन थालेको छ। प्रशासन, सुरक्षा निकाय र समुदायबीचको सहकार्यले यस तनावपूर्ण अवस्थालाई समाधान गर्न सफल भएको छ।

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान