काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पुर्याएको छ । ज्यानसम्बन्धी कसुरमा हिरासतमा रहेका लेखकमाथि अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकिल कार्यालयमार्फत म्याद थपका लागि अदालत लगेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
एउटै कसुरमा अनुसन्धान भइरहेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्पतालमा रहेका कारण उनलाई उपस्थित गराइएको छैन । ओली र लेखकविरुद्ध तेस्रो पटक म्याद थप गर्न लागिएको हो ।
जेनजी आन्दोलनमा दमन गरेको भन्दै जाँचबुझ गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगले ओली र लेखकमाथि फौजदारी कसुरमा अनुसन्धान गरेर कारबाही गर्न सिफारिस गरेको थियो ।
उक्त सिफारिसका आधारमा मन्त्रिपरिषद्ले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । गृहमन्त्री सुधन गुरुङको निर्देशनमा प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको थियो ।








