काठमाडौं । नेपाली चलचित्रलाई गाउँ गाउँमा पु¥याउने सेलिब्रेटी नेपाल टोली यति बेला सर्लाहीको राजमार्गबाट निकै भित्र रहेको चन्द्र नगर गाउँपालिका पुगेको छ । स्कुल स्कुलमा पुगेर चलचित्र देखाउनुका साथै ग्रामीण चलचित्र महोत्सव आयोजना गर्दै आएको यो टोलीले पहाड पछि यस पटक महोत्सवको लागि तराई रोजेको छ ।
ग्रामीण जीवन, भाषा र संस्कृतिमा आधारित चलचित्रको प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव–२०८३’ यस पटक सर्लाहीको चन्द्र नगर गाउँपालिकामा गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।
यही १५ वैशाखबाट १७ वैशाखसम्म तीन दिन आयोजना गरिने महोत्सवमा ग्रामीण चलचित्र मात्र देखाइने बिहीबार चन्द्र नगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
‘हामीले तराइको धेरै गाउँमा नेपाली चलचित्र देखाउँदै आए पनि यो ग्रामीण महोत्सव पहिलो पटक तराई क्षेत्रमा आयोजना हुन लागेको हो, जसले मधेसको मौलिक कथा र सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ,’ महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले बिहीबार पत्रकार भेटघाटमा बताए ।
विगतमा लाप्राक, गोसाईंकुण्ड, भकुण्डेबेसी र रामेछापमा आयोजना गर्दा यो महोत्सवमा पहाडी परिवेशका चलचित्र देखाइएको थियो । तर, यस पटक मधेस केन्द्रित चलचित्र प्रदर्शन गरिने पनि उनले बताए । यस’bout उनले पत्रकार सम्मेलनमा भने,‘हामीलाई मैथिली र भोजपुरी भाषाका थुप्रै ग्रामीण कथाका चलचित्रहरू प्राप्त भएका छन् । त्यसैले यस पटक मधेस केन्द्रित कथावस्तु र ग्रामीण परिवेश झल्काउने चलचित्रलाई प्राथमिकता दिइएको छ ।’
चलचित्रको लागि मधेसको बजार निकै ठुलो भए पनि राज्यको त्यसतर्फ ध्यान नपुगेको चन्द्र नगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले पत्रकार सम्मेलनमा बताए । यहाँ भारतीय चलचित्रको दबदबा रहेको बेला यस्ता चलचित्र महोत्सवले स्थानीय तथा ग्रामीण चलचित्र हेर्ने परिपाटी बसाल्ने विश्वास उनले व्यक्त गरे । चलचित्र महोत्सवले पर्यटन प्रवद्र्धन गर्नुका साथै स्थानीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित गराउन महत्त्वपूर्ण भूमिका खेल्ने पनि उनले बताए।
आयोजक पक्षका अनुसार महोत्सवमा सहभागिताका लागि प्राप्त ५० भन्दा बढी चलचित्र प्राप्त भएका थिए । जसमध्येबाट फिचर चलचित्र, लघु चलचित्र तथा स्थानीय भाषा भाषीका चलचित्र सहित १७ वटा चलचित्र चयन गरिएको छ । महोत्सवमा सबै चलचित्र दर्शकले निःशुल्क अवलोकन गर्न पाउने व्यवस्था गरिएको पनि आयोजक पक्षले जनाएको छ ।
सम्बन्धित समाचार
धर्मेन्द्र झाद्वारा लिखित मैथिली भाषाको यात्रा संस्मरण ‘जगन्मुक्ति’ लोकार्पण
नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक
उषा खड्गीको जाहेरीपछि जीपी तिमल्सिना पक्राउ
श्रष्टा सुवेदीलाई ‘चुडामणि साहित्य पुरस्कार’
चलचित्र ‘कुम्भ’ले रोज्यो प्रदर्शन मिति
पहिलो उपन्यास ‘सलह’ लिएर आए कवि श्रवण
‘जन नायकन’ रिलिज नहुँदै अनलाइनमा पाइरेसी
राष्ट्रिय कौराहा सम्मेलन सुरु






