‘वल्ड अफ डान्स नेपाल २०२६’ सुरु

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय स्तरको गायनसँगै नृत्यको रियालिटी सोहरूको ‘फ्रेन्चाईज’ लिने क्रम बढेको छ । यस अघि ‘अमेरिकी आइडल’को फ्रेन्चाईजको रूपमा ‘नेपाल आइडल’ र ‘भ्वाईस अफ अमेरिका’को फ्रेन्चाईजको रूपमा ‘भ्वाईस अफ नेपाल’ आयोजना हुँदै आएको छ ।

यसै क्रममा विश्वव्यापी रूपमा लोकप्रियता हासिल गरेको नृत्य प्रतियोगिता ‘वल्र्ड अफ डान्स’को फेन्चाईज नेपालले लिएको छ । यही फ्रेन्चाईज अन्तर्गत यसको नेपाल संस्करणको रूपमा ‘वल्र्ड अफ डान्स नेपाल २०२६’ आयोजना हुने भएको छ ।

आइतबार काठमाडौँमा पत्रकार भेटघाट आयोजना गर्दै आयोजक पक्षले ‘वल्र्ड अफ डान्स’को फेन्चाईज आफूहरूले नेपालको लागि लिएको जानकारी गरायो । यस अघि यो फ्रेन्चाईजको लागि परीक्षण स्वरूप आफूहरूले अन्तर्राष्ट्रिय आयोजकबाट जिम्मेवारी पाएको उनीहरूको कथन थियो ।

सन् २००८ मा दक्षिणी क्यालिफोर्नियाबाट यो प्रतियोगिता सुरु भएको थियो । हालसम्म ५० भन्दा बढी देशले यसको फ्रेन्चाइज लिएर प्रतियोगिता गर्दै आएको छ । यो विश्व स्तरीय प्लेटफर्मलाई नेपालमा ल्याएर नेपाली प्रतिभालाई विश्व मञ्चमा चिनाउने उद्देश्य राखिएको पनि पत्रकार भेटघाटका क्रममा जानकारी गराइयो ।

पहिलो संस्करण राम्ररी सम्पन्न गरेपछि यो दोस्रो संस्करणको लागि पूर्ण अधिकार पाएको पनि उनीहरूले जानकारी गराए । सो क्रममा निर्णायक समिति, पुरस्कार राशि र अडिसनका मितिहरू सार्वजनिक गरियो । पत्रकार सम्मेलनमा कार्यक्रमको ट्रेलर प्रदर्शन गरिनुका साथै निर्णायक समितिको परिचय गराइयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय निर्देशक रोशन गहतराजले नेपाली डान्सरहरूले अन्तर्राष्ट्रिय स्तरको अनुभव देशमै लिन सकुन् भन्ने उद्देश्यले कार्यक्रम ल्याइएको बताए। यो प्रतियोगिताका कला निर्देशक जेडी तमुले नेपाली कलाकारहरूले विदेशमा देखाएको कला र संस्कृतिबाट प्रभावित भई यो फ्रेन्चाइज नेपाल आयोजना गर्ने अनुमति आफूहरुले पाएको जानकारी दिए। प्रतियोगितामा नेपाली मौलिक नृत्य र संस्कृतिलाई प्राथमिकता दिइने र भारतीय डान्सरहरूलाई पनि अडिसनमा सहभागी हुन अवसर दिने पनि तमुले जानकारी गराए ।

यो कार्यक्रमप्रति अमेरिकी दूतावासले पनि सहकार्य जनाएको पत्रकार भेटघाटमा जानकारी गराइयो । यो प्रतियोगिताले नेपाल र अमेरिकाबिच सांस्कृतिक आदानप्रदानलाई मजबुत बनाउने दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले विश्वास व्यक्त गरे।

पत्रकार भेटघाट कार्यक्रममा पुगेको अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, अभिनेत्री परीक्षा लिम्बु, अभिनेत्री एवम् नृत्य कलाकार कविता नेपालीले पनि यो प्रतियोगिताले नेपाली नृत्य कलाकारहरूको प्रतिभा अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने विश्वास व्यक्त गरे । उनीहरूले नयाँ प्रतिभाहरूलाई यो अवसर सदुपयोग गर्न आग्रह गरे।

आयोजक रोशनका अनुसार यो प्रतियोगिता चार समुहमा विभाजन गरिएको छ । प्रत्येक समुहको विजेताले १ लाख रुपैयाँ नगद, २४ क्यारेट सुनको जलपयुक्त ट्रफी तथा गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । १९ बैशाखबाट सुरु हुने यसको अडिसन नेपालगन्ज, बुटवल, पोखरा, काठमाडौं र इटहरीमा सञ्चालन गरिने छ । यसको ग्रान्ड फिनाले आगामी २३ जेठमा गरिने आयोजक पक्षले जनाएको छ । विजेताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाउने पनि कार्यक्रममा जानकारी गराइयो ।

बलिउडका लोकप्रिय कोरियोग्राफर टेरेन्स लुइसलाई ‘सेलिब्रेटी ग्रान्ड जज’को रूपमा ‘वल्र्ड अफ डान्स नेपाल २०२६’ मा अनुबन्धित गरिएको पत्रकार भेटघाटका क्रममा जानकारी दिइयो । आयोजक पक्षका अनुसार टेरेन्स लुइस ’डान्स इन्डिया डान्स’ र ’इन्डियाज बेस्ट डान्सर’ जस्ता ठुला भारतीय रियालिटी शोका निर्णायक हुन्। यसका निर्णायकहरूमा टेरेन्सका साथै नेपालको ‘वाइल्ड रिपर्ज क्रु’बाट किरण थापा, ‘वल्र्ड अफ डान्स नेपाल’का कलात्मक निर्देशक जेडी तमु रहने छन् । टेरेन्स लुइस डान्स एकेडेमीबाटै प्रशिक्षित जेडी तमुले नेपाली डान्सरहरूलाई विश्वव्यापी पहिचान दिलाउन यस पटक निर्णायकको जिम्मेवारी समेत लिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

यूएईविरुद्ध नेपालले गुमायो पहिलो विकेट