सुधारिँदै काठमाडौँको वायु गुणस्तर

काठमाडौं । गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौं उपत्यकाको वायु गुणस्तर पुनः सुधारोन्मुख देखिएको छ । सुक्खा मौसम र वन डढेलोका कारण बढेको प्रदूषण पछिल्ला दिनमा वर्षा सुरु भएसँगै क्रमशः घट्न थालेको हो ।

एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार गत मङ्गलबार करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकाङ्क बिहीबार बढेर २४७ पुगेको थियो ।

उक्त स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्ने भएकाले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका थिए । हाल भने प्रदूषण घट्दै आज एक्युआई १४१ मा झरेको छ, जुन ‘अस्वस्थ’ श्रेणीमा पर्दछ ।

एक्युआईको मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वर्षाले वायु प्रदूषण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । “लामो समयसम्म वर्षा नहुँदा धुलो र धुवाँ वायुमण्डलमा थुप्रिने, वन डढेलो बढ्ने र त्यसबाट निस्किएको धुवाँ उपत्यकामा जम्ने अवस्थाले प्रदूषण उच्च हुन्छ,” उनले भने, “साथै छिमेकी मुलुक भारतबाट आउने प्रदूषित हावाले पनि काठमाडौँको वायु गुणस्तरमा असर पार्ने गरेको छ ।”

उनले प्रदूषण नियन्त्रणका लागि सम्बन्धित निकायहरूले दिगो तथा वातावरणमैत्री विकासका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनका अनुसार बुधबारदेखि वर्षाको राम्रो सम्भावना रहेको छ । यसले वायुमा रहेका धुलो र कणहरूलाई नियन्त्रण गर्दै प्रदूषण थप घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

पलेँटीमा गुन्जिए पवन र रमेश