काठमाडौं । काठमाडौं उपत्यकामा हावाहुरीसहित पानी परेको छ । बुधबार साँझ काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा हावाहुरी र चट्याङसहित ठूलो वर्षा भएको हो ।
साँझ सवा ५ बजेसम्म पनि वर्षा जारी छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना छ ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची, मधेश प्रदेशका धनुषा र बारा तथा कोशी प्रदेशको मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक सर्तकर्ता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिमका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने भएकाले सर्तकर्ता अपनाउन अनुरोध गरेको हो ।
तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना ढल्ने, छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुनेलगायतका जोखिम रहन्छ । प्राधिकरणले यी स्थानमा रहने वा उक्त समयावधिमा त्यहाँ जाने सबैले सावधानी अपनाउन अनुरोध गरेको हो ।
हावाहुरी चलेको बेला घरबाहिर हिँडडुल नगर्न र घरको झ्यालढोका राम्रोसँग बन्द गर्न प्राधिकरणले सुझाएको छ । यस्तै, जस्तालगायतबाट बनेको छानो कमजोर छ भने बन्धन बलियो बनाउन पनि भनेको छ ।
घरबाहिर आगो नबाल्न, घरभित्र पनि आगो बाल्दा सावधानी अपनाउन, लड्न सक्ने कमजोर संरचना, अग्ला रुख, खम्बा नजिक र बिजुलीको तारमुनि नबस्ने र बिजुलीको तार लत्रिएको छ भने नछुन आग्रह गरिएको छ ।
बिहीबारदेखि भने मौसममा केही सुधार हुने आकलन छ। बिहीबार दिउँसो हिमाली र पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाका सम्भावना रहेको छ।












